बागमतीमा भाषा ऐन शुभारम्भ घोषणाको तयारी तीव्र
हेटौंडा- बागमती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्ने औपचारिक घोषणाको तयारी थालिएको छ ।बागमती प्रदेश सरकारले मूलसमारोह समिति गठन गरी घोषणा पनि गरेको छ । यही वैशाख १२ गते बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा गर्ने निर्णय गरेअनुसार त्यसको तयारी तीव्र पारिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २४ गते बिहान ९ बजे वसन्तपुरमा घोषणा गर्ने कार्यक्रम तय भएको बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए । मन्त्री बज्राचार्यको संयोजकत्वमा ३०३ सदस्य रहेको मूलसमारोह समिति गठन गरिएको छ । काठमाडौंको खुसीबुमा आयोजित कार्यक्रममा ३०३ सदस्यीय मूलसमारोह समिति गठन गरी घोषणा गरिएको हो ।
समारोह समितिमा तामाङ भाषिक समुदायका तर्फबाट नेपाल तामाङ घेदुङका साथै अन्य तामाङ संघसंस्था र नेपाल भाषाको समुदायको तर्फबाट नेवाः देय् दवुका सदस्य रहेका छन् । प्रदेश सरकारले वैशाख २४ गते प्रदशेभर सार्वजानिक बिदा दिने र सोही दिन काठमाडौंको वसन्तपुरमा एक समारोह गरी कार्यान्वयनको औपचारिक घोषणा गर्ने निर्णयगरेको हो ।
सरकारको निर्णयअनुसार वैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनगरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा (रन्जना) मा लेखिएका राखिनेछन् । त्यसदिन बागमतीसरकारले भाषा ऐन कार्यन्वयन आउने दिनको रुपमा सार्वजानिक बिदासमेत दिएकाले घोषणा समारोह सफल बनाउने तयारीमा लागेको नेपाल तामाङ घेदुङका सह–अध्यक्ष कुमारसिं घिसिङले बताए । उनकाअनुसार २४ गते घोषणा समारोह अघि काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहितको ¥याली निकालिने छ ।
संविधानले दिएको अधिकार कार्यान्वयनका लागि बागमती प्रदेश सरकारले ऐन बनाएर कार्यान्वयन गर्न लागेकोमा धन्यवाद दिँदै सह–अध्यक्ष घिसिङले सबै जातजाति तथा भाषाभाषि समुदायलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् । बागमती प्रदेश सरकारले गतवर्ष कार्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो ।







