बागमतीको १३ हजार हेक्टर वन क्षेत्रमा डढेलो
हेटौंडा- बागमती प्रदेशभर चैत मसान्तसम्म १३ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा वन डढेलो लागेको छ ।१३ हजार ५०० हेक्टर भन्दा बढी क्षेत्रफलमा वन डढेलो लागेको वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्र कुमार प्रधानले जानकारी दिए । उनका अनुसार वन डढेलो निभाउने क्रममा धादिङ र रामेछाप जिल्लामा एक एक जना गरी दुई जनाको मृत्यु समेत भइसकेको छ । साना बोटबिरुवा र केही रुखहरुको नोक्सानी भएको छ । वर्षेनी डढेलोले ठूलो मात्रामा वनको क्षति हुने गरेको छ ।
डढेलो नियन्त्रणका विभिन्न प्रयास भए पनि वनमा आगलागी भने रोकिन सकेको छैन । वर्षेनी गर्मीयाममा वनमा डढेलो लाग्ने क्रम घट्नुको साटो बढ्दै गएको देखिन्छ । चैतपछि सुक्खा बढ्ने हुनाले जेठ महिनासम्म प्रत्येक वर्ष वनजंगल डढेलोका घटना बढ्ने गरेका छन् । डढेलोका कारण प्रदेशमा चिरान काठसहित खानेपानी पाइपदेखि धेरै सम्पत्तिको क्षति, जंगली जनावरको पनि आगलागीका कारण मृत्यु हुने गरेको छ ।
रामेछाप जिल्लामा वन डढेलो बस्तीमा पस्दा एकघर र २९ वटा गोठ नष्ट भई एक सय एक वटा पशु चौपाया क्षति हुँदा करिब डेढ करोड रुपैया बराबरको क्षति भएको छ ।सिन्धुपाल्चोक जिल्लामा वन डढेलो लगाई क्षति पु¥याउने व्यक्तिलाई पक्राउ गरी मुद्दा दायर पनि गरिएको छ । मध्य वैशाखलाई डढेलोको उच्च जोखिमको समय मानिन्छ । यो समयमा डढेलो धेरै लाग्ने गरेको छ । वर्षा नभए जेठसम्म डढेलोको जोखिम रहन्छ । डढेलोले वन विनाश मात्रै नभई धनजनको समेत क्षति हुने गरेको छ । लम्बिँदो खडेरीका कारण डढेलो नियन्त्रण बाहिर गइरहँदा वन र धनजनको क्षति धेरै हुने देखिन्छ ।
वन व्यवस्थापनको हिसाबले प्रदेशमा ४ हजार पाँच सय तीन वटा सामुदायिक वन, ३ हजार तीन सय ३७ वटा कबुलियती वन, ३९ वटा धार्मिक वन, २ वटा संरक्षित वन र पाँच सय ७९ वटा निजी वन रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार बागमती प्रदेशमा कूल क्षेत्रफलको ५१ दशमलव ५३ प्रतिशत वन र २ दशमलव २० प्रतिशत अन्यकाष्ठ तथा बुट्यान क्षेत्र गरी ५३ दशमलव ७३ प्रतिशत वनक्षेत्र रहेको छ । प्रदेशका १३ जिल्लामध्ये मकवानपुरमा सबैभन्दा बढी ६८ दशमलव १५ प्रतिशत र भक्तपुरमा सबैभन्दा कम २० दशमलव १० प्रतिशत वन क्षेत्र रहेको छ ।
गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको छ । वनजंगल, भिरपाखा र खरबारीमा हुने अनियन्त्रित आगलागीले वन क्षेत्रमा मात्र नभई नजिककै बस्तीलाई समेत असर पारिरहेको छ । मानवीय कारणले नै डढेलो लाग्ने गरेको छ । आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछन् भनेर व्यक्तिले जानाजानी आगो लगाउँदा त्यसले अनियन्त्रित भई डढेलोको रुप लिने गरेको छ । डढेलोले माटाको प्राङ्गारिक तत्व नष्ट हुने, वन्यजन्तुको बासस्थान नासिने लगायतका समस्या निम्तिने गरेको छ ।
बागमती प्रदेश अन्र्तगत चितवन, राप्ती, मकवानपुर, मरिण, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट र धादिङ डिभिजन कार्यालय रहेको छ । वन निर्देशनालय हेटौँडा मातहत १५ वटा डिभिजन वन कार्यालय र ७ वटा भू–तथा जलाधार व्यवस्थापन कार्यालय रहेको छ ।







