‘बागमतीको ग्रामिण क्षेत्रमा बढी योजना केन्द्रित गरौं’
हेटौंडा- बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले पहाडी तथा ग्रामीण क्षेत्रको आवश्यकतालाई बढी केन्द्रित गरी प्रदेश नीति तथा योजना आयोगले योजना बनाउनुपर्ने बताएका छन् ।बिहीबार बार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा सम्बन्धी रामेछाप र दोलखामा आयोजित जिल्लास्तरीय गोष्ठीमा बोल्दै उनले बढी योजना ग्रामिण क्षेत्रमा हुनुपर्ने जोड दिए । ‘वर्तमान स्थितिको मूल्यांकन गरेर आगामी पाँच वर्षीय योजना तयार गर्नुपर्ने मन्त्री थपलियाको भनाई छ । ‘डाटाविहीन योजना नहुने र प्राथमिक डाटा नभएमा सहायक डाटाको आधारमा योजना बनाउनुपर्छ,’ मन्त्री थपलियाले भने ।
‘आफ्नै डाटा सेन्टर स्थापना गर्न लागि पर्नुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारीको स्थिति निक्र्यौल गर्नुपर्ने र कर्मचारीलाई आफ्नो निर्धारित दायित्वमा निपुण भई कार्यसम्पादन गर्न मन्त्री थपलियाले सुझाव दिए । ठूलो बलिदानीबाट प्राप्त संघीयता र राज्य संरचनालाई बलियो बनाउन थप जरुरी रहेको उनको भनाइ थियो । राज्य संरचनाको विकेन्द्रीकरण सहित आगामी दिनहरुमा वित्तीय संघीयतालाई पनि थप प्रभावकारी बनाउँदै लैजानुपर्ने कुरामा जोड दिदैं उनले उत्पादन वृद्धि ररोजगारी सिर्जना गर्न नीति तथा योजना आयोगले रणनीतिहरु तर्जुमा गर्नुपर्ने बताए ।
दोलखाको कालिन्चोक, भिमेश्वर र जिरीलाई पर्यटन सर्किटका रुपमा विकास गर्न र पकेट क्षेत्रहरुको निर्धारण गरी रामेछापलाई जुनार र दोलखालाई चौरीको क्षेत्रका रुपमा विस्तार गर्न सुझाव दिए । आयस्रोतको वृद्धि र राजस्व वृद्धिका योजनाहरु विस्तार गर्नुपर्नेमा उनको जोड थियो । हरेक पालिकामा आफ्नै स्रोतमा उभिने सक्ने योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।
‘सत्ता समीकरण र संरचना फेरिए पनि योजना फेरिनुहुँदैन मन्त्री थपलियाले भने ‘डाँडा पाखाहरुलाई पर्यटन आकर्षणको केन्द्र बनाउन नीति तथा योजना आयोगले योजना बनाएर काम गर्नुपर्छ ।,’ कार्यक्रममा प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशका उपाध्यक्ष डा. नरबिक्रम थापा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकाल, रामेछाप र दोलखाका पालिका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।







