बागमती प्रदेशसभा अवरुद्ध पार्ने कांग्रेसको चेतावनी

साझाकुरा
२०८१ जेष्ठ १, मंगलवार ११:४६

हेटौंडा-बागमती प्रदेशसभाको सोमबारबाट सुरु बजेट अधिवेशनको शुभकामना दिने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रामक देखिएको छ ।बजेट अधिवेशनको शुभकामना दिन रोष्टममा आएका संसदीय दलका नेता तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले नेपाली कांग्रेसले केन्द्रमै उठाएको सहकारी छानबीन समिति गठनको मुद्दा र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विषय निकालेर प्रदेशसभा अवरुद्धको चेतावनी दिएका छन् । लामाले सम्बोधनका क्रममा प्रदेशसभा अवरुद्ध गर्ने चेतावनी पटक–पटक दिए ।

नेपाली कांग्रेसले प्रतिनिधिसभामा पनि रवि लामिछानेमाथि अनुसन्धान माग गर्दै छानबीन समिति गठनको माग राखेर निरन्तर सदन अवरुद्ध गर्दै आइरहेको छ । कांग्रेसको केन्द्रीय मुद्दा बागमतीको कांग्रेसले बोकेको छ । रविविरुद्धको मुद्दाको अलावा हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न खोजिएको विषयलाई कांग्रेसले स्वीकार नगर्ने लामाले बताएका हुन् ।

उनले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुका साथै सरकारले उनीमाथि संसदीय छानबीन गर्नुपर्ने माग गरे । यदि गृहमन्त्री लामिछानेमाथि संसदीय छानबीन नभए प्रदेशसभा पनि चल्न नदिने उनले चेतावनी दिए । ‘गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिनुभएको छ । उहाँमाथि संसदीय छानबीन हुनुपर्छ, अन्यथा प्रदेश संसद् पनि नचल्न सक्छ,’ उनले भने, ‘विनाधितो, विनाजमानी सहकारीबाट करोडौँ रकम निकालेर अनियमितता गरेका प्रमाणहरु आइरहेका छन्, उहाँलाई त्यत्तिकै छोड्न मिल्दैन,’ ।

आफू प्रतिपक्षमा हुँदा छानबीन हुनुपर्ने, आफू सरकारमा हुँदा नपर्ने भन्ने गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको उनले टिप्पणी गरे । यस्तै, कांग्रेस नेता लामाले प्रदेश सरकारले हेटौंडा अस्पतालको सम्पत्तिमा आँखा गाढेको आरोप लगाउँदै हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा गाभ्ने प्रक्रिया तत्काल बन्द गर्न पनि आग्रह गरे । हेटौंडा अस्पताल एउटा स्वयात्त संस्था भएकाले प्रतिष्ठानमा गाभ्ने कुरामा कांग्रेस सहमत नहुने उनले दाबी गरे ।

अधिवेशनको शुभकामना दिन आएका सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले कांग्रेसको प्रस्ताव नमान्दैमा गृहमन्त्रीलाई सहकारी प्रकरणमा संसदीय छानबीन गरिहाल्नु नपर्ने बताए । उनले गृहमन्त्री लामिछानेसँग कांग्रेसले रिसइबी साँधेको आरोप पनि लगाए । पौडेलले प्रदेशसभाले गरेको निर्णय कर्मचारीले कार्यान्वयन गरिरहेका छैनन् भन्दै प्रदेशसभा ठुलो कि कर्मचारी ठुलो भन्दै प्रश्न गरे ।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले देश एकपछि अर्को राजनीतिक संकटका कारण देश विकास हुन नसकेको भन्दै सरकारले गर्ने हरेक काम लोकतान्त्रिक हुनुपर्ने बताए । नेकपा माओवादी केन्द्रमा सरल सहयात्री पौडेलले प्रदेशसभाको गरिमा बढ्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै राजनीतिक संघीयतालाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता उद्धव थापाले प्रदेशमा भइरहेको राजनीतिक खिचातानीले संघीयतालाई कमजोर बनाउने काम गरेको बताउँदै राप्रपाको ४० बुँदे मागप्रति सरकारले चासो नदेखाएकोमा आपत्ति जनाए । नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले प्रदेशले सन्तुलित विकासका लागि काम गर्नुपर्ने भन्दै वामपन्थीहरु समाजवादी गणतन्त्र स्थापनाको तयारीमा लाग्नुपर्ने बताए ।

प्रदेश उच्चशिक्षा ऐनसम्बन्धी अध्यादेश पेशबैठकमा प्रदेश उच्चशिक्षा ऐनसम्बन्धी अध्यादेश पेश गरिएको छ । सामाजिक विकासमन्त्री कुमारी मोक्तानले ‘प्रदेश उच्चशिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ पेश गरेकी हुन् ।बागमती प्रदेशसभाको नियमित बस्ने बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न पाँचजना प्रदेशसभाका सदस्यहरुलाई मनोनयन गरिएको छ । सभामुख पाठकले प्रदेशसभाका सदस्यहरु क्रमशः उर्मिलाकुमारी लामा, उर्मिला नेपाल, भारतीकुमारी पाठक, ओमकुमारी श्रेष्ठ र लक्ष्मी घिमिरेको नाम सार्वजनिकरण गरेका हुन् ।

यस्तै, बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशप्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र एवम् मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन र कार्यविभाजनसम्बन्धी पत्र पढेर सुनाएका थिए । बागमती प्रदेशसभाको अर्को बैठक जेठ १ गते अपरान्ह ३ बजे बस्ने गरी सभामुख पाठकले सोमबारको बैठक स्थगित भएको घोषणा गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*