बागमती गाउँपालिका बजेटमा विवाद : उपाध्यक्षसहित चार वडाध्यक्षको बहिष्कार
हेटौंडा- मकवानपुरको पूर्वीक्षेत्रस्थित बागमती गाउँपालिकाले सोमबार गाउँसभामा प्रस्तुत गरेको नीति, कार्यक्रमलाई उपाध्यक्षसहित चार वडाअध्यक्षले बहिष्कार गरेका छन् । संघ सरकार, प्रदेश सरकारमा जस्तै बजेटमा सत्तापक्ष र प्रतिपक्षको बिवाद बागमती गाउँपालिकामा पनि देखिएको छ । उपाध्यक्ष र वडा अध्यक्षको बहिष्कारबीच बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले आगामी आर्थिक वर्ष २०८१÷८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानकाअनुसार गाउँपालिकाले नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरिएको थियो । समष्टिगतरुपमा बजेटको आकारसमेत प्रस्तुत नभएको घलानले बताए । तर, प्रतिपक्षी दलका प्रतिनिधिले भने गाउँसभा छोडेर अपरान्ह हेटौंडाको एक होटलमा पत्रकार सम्मेलन गर्न आइपुगेका थिए ।
अध्यक्ष घलानले एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिले गाउँसभा बहिष्कार गरेर हेटौंडामा पत्रकार सम्मेलन गरेका हुन् । गाउँपालिका उपाध्यक्ष तथा नेपाली कांग्रेस नेता फणिन्द्र तिमल्सिना, वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर डिमडुङ, ७ का अध्यक्ष उत्तरबहादुर भोलन, ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिना (केशव), ९ का अध्यक्ष पूर्णराम घलान र कार्यपालिका सदस्य डम्बरबहादुर विकले गाउँसभा बहिस्कार गरेका हुन् ।
बहिष्कारपश्चात् सोमबार अपरान्ह हेटौंडामा पत्रकार सम्मेलन गर्दै गाउँपालिका उपाध्यक्ष तिमल्सिनाले अध्यक्ष घलानले कार्यकर्तामुखी कार्यक्रम ल्याएर जनमतको उपेक्षा गरेको आरोप लगाए ।गाउँसभामा बजेट सार्वजनिक गर्नुभन्दा पनि नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गरिएको बताइएको छ । गाउँसभा सरु हुन नपाउँदै बहिष्कार गरेका प्रतिनिधिले सांकेतिक विरोध गरेको बताएका छन् । उपाध्यक्ष तिमल्सिनाले गाउँपालिकाभित्रविगतमा भएका अनियमितताको पनि सुक्ष्म ढंगले विश्लेषण गर्ने बताएका छन् ।
उपाध्यक्ष तिमल्सिनाले प्रत्येक वडामा सिलिङ बजेटको व्यवस्थापन गर्नुपर्ने, उपाध्यक्ष र वडाध्यक्षको अधिकारमा हस्तक्षेप गर्न नहुने जस्ता माग आफूहरुको रहेको बताए । उनीहरुले टाउकोमा कालोपट्टी बाँधेर गाउँपालिका कार्यालय अगाडि नाराबाजी गर्दै गाउँसभा बहिस्कार गरेका थिए । गाउँपालिकाको नीति तथा कार्यक्रम र आठौं गाउँसभामा अध्यक्ष घलानले एकलौटी गरेको आरोप छ । गाउँपालिकाले करार कर्मचारी नियुक्ति गर्दा प्रदेश र संघको बजेट प्रयोग गर्न नपाउने, करार कर्मचारी नियुक्ति गरेमा आन्तरिक स्रोतबाट तलबभत्ता दिनेगरी नियुक्त गर्नुपर्ने, क्रसर उद्योगको नाममा विनियोजन गर्दै आएको बजेटकटौती गर्नुपर्ने माग विज्ञप्तिमार्फत् राखेका छन् ।गाउँपालिकाको ९ वडामा बजेट सिलिङ नपठाई आगामी आवको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्न खोजिएपछि विरोध गरेका बताएपनि गाउँपालिकाले आयब्ययको प्रक्रिया अगाडि नबढाइएको बताइएको छ । स्रोतअनुमान समितिको बैठकबाट तोकिएपछि मात्रै सिलिङ पठाउने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत घलानले बताए । बजेट निर्माणसम्बन्धी चारवटा बैठक
राखेर पनि सञ्चालन हुन नसकेको उनको भनाई छ । सोमबार बिहानको कार्यपालिका बैठक पनि बस्न सकेको छैन । जनप्रतिनिधि जनताप्रतिको उत्तरदायी बन्न नसकेपछि बहिस्कार गर्ने नाटक गरेको गाउँसभाका एक सहभागीले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत घलानका अनुसार बागमती गाउँपालिकाले बजेट प्रस्तुतका लागि अर्को बैठक तय गरेको छैन । गाउँपालिकाको १ देखि ५ नम्बर वडामा माओवादी केन्द्रबाट वडाअध्यक्ष निर्वाचित छन् । ६, ८ र ९ मा एमाले तथा उपाध्यक्ष र ७ नम्बर वडाअध्यक्ष कांग्रेसबाट निर्वाचित छन् । बागमतीमा हरेक वर्षको बजेट प्रस्तुतमा जनप्रतिनिधि बीच विवाद हुने गरेको छ ।
अध्यक्ष घलान दुवैपटक नेकपा माओवादीबाट अध्यक्ष निर्वाचित भएका हुन् ।२०७४ मा एमालेसँगको गठबन्धन र २०७९ मा कांग्रेससँगको गठबन्धनबाट घलान अध्यक्ष बनेका हुन् । यसअघिको कार्यकालमा एमालेबाट निर्वाचित उपाध्यक्ष धनमाया स्याङ्तानसहितले अधिकांश गाउँसभा बहिस्कार गरेका थिए । कांग्रेसबाट निर्वाचित हालका उपाध्यक्ष तिमल्सिनाले दुवै पटकको बजेट बहिष्कार गरेका छन् । चालू आव २०८०÷८१ को बजेट ल्याउने गाउँसभामा उपाध्यक्ष तिमल्सिना अनुपस्थित भएपछि अध्यक्ष घलानले बजेट पढेका थिए ।







