प्रतिष्ठानको वार्षिकोत्सव १० दलले बहिष्कार गर्ने

हेटौंडा- मकवानपुरका १० राजनीतिक दलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छन् ।प्रतिष्ठानले शुक्रबार हेटौंडामा चौथो वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा जिल्लामा क्रियाशील राजनीतिक दलले विरोधस्वरुप कार्यक्रममा सहभागी नहुने निर्णय गरेका हुन् । नेपाली कांग्रेसको हेटौंडा–२ स्थित कार्यालयमा बिहीबार बसेको बैठकले २०८१ असार १४ गतेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको चौथो वार्षिकउत्सवमा मकवानपुरका १२ राजनीतिक दल सहभागी नहुने निर्णय संयुक्त विज्ञप्तीमार्फत् गरेको हुन् ।
नेकपा एमालेका बाहेकका दलहरुले जिल्लामा रहेको संगठितरुपमा हेटौंडा प्रादेशिक अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघीय कानून विपरित प्रदेश ऐन २०७६ जारी गरी गाभ्ने निर्णयको विरोधमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै आइरहेका छन् । संयुक्त बैठक चरणबद्ध आन्दोलनका कार्यक्रम निरन्तररुपमा अगाडि बढिरहने जनाइएको छ । जिल्लामा रहेका दलले हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभिएको विषयमा लामो समयदेखि आन्दोलन गरिरहेका छन् ।
वैठकमा नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष भीम पाख्रिन, राष्ट्रिय स्वतन्त्र पार्टीका किशोर अर्याल, नेकपा एकीकृत समाजवादीका विष्णुप्रसाद दाहाल, राप्रपा नेपालका गुरुप्रसाद सापकोटा, राप्रपाका अर्जुनप्रसाद गौतम, नेकपाका राम सी, जनता समाजवादीका दीपक सिन्तान, नेकपा मालेका हरि अधिकारी, क्रान्तिकारी कम्युनिष्ट पार्टीका सद्दाम हुसेन लगायत सहभागी थिए ।‘जिल्लाका दलहरु चरणबद्ध रुपमा आन्दोलित भएको अवस्थामा सम्बद्ध पक्षबाट बेवास्ता गर्दागर्दै पनि प्रतिष्ठानको छुट्टै अस्तित्व रहनेगरी समृद्धि र प्रगतिको शुभकामना दिन चाहन्छौं,’ १० दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
दलहरुले हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने त्रुटीपूर्ण ऐनका दफाहरु खारेज नगरेसम्म प्रतिष्ठानले आयोजना गर्ने कुनैपनि कार्यक्रममा सहभागी नहुने जनाएको छ । प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यतामा शुक्रबार बिहान हेटौंडामा हुँदैछ ।