एसईई परिणामः निल जाने विद्यालयलाई कस्तो कारबाही होला ?

साझाकुरा
२०८१ असार १९, मंगलवार ११:३१

हेटौंडा-माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा निराशाजनक आएपछि मकवानपुरका धेरै विद्यालयले अतिरिक्त कक्षा (कोचिङ) सुरु गरेका छन् । नतिजा प्रकाशन भएपछि कतिपय विद्यालयका शिक्षक, ब्यवस्थापन समिति, अभिभावकको निन्द्रा हराएको छ ।सामुदायिक र संस्थागत गरी १६ विद्यालय निल गएपछि शैक्षिक क्षेत्रमा चासो सुरु भएको हो । कतिपय पालिकाले निल गएका विद्यालयमा स्पष्टिकरण सोध्ने तयारी गरिरहेका छन् । तर, यसको आधिकारिक पुष्टि भने उनीहरुले गरेका छैनन् । राम्रो रिजल्ट आउने विद्यालयले नगरमा ¥याली गर्ने, विद्यार्थी, शिक्षकलाई सम्मान गर्ने काम गरिरहेका छन् भने निल जाने विद्यालय भएका पालिकाले स्पष्टिकरणको तयारी गरिरहेको बुझिएको छ ।

मकवानपुरको १० पालिकाको नतिजामध्ये हेटौंडा उपमहानगरको नतिजा अग्रस्थानमा रहेको छ । हेटौंडाका २९ संस्थागतसहित ५८ विद्यालयबाट ३ हजार ५६ परीक्षार्थीले परीक्षा दिएकोमा १ हजार ७ सय ११ अर्थात ५५ दसमलव ९९ प्रतिशत उत्तीर्ण भएका छन् । हेटौंडाको एक सामुदायिक र एक संस्थागत विद्यालयको नतिजा शुन्य रहेको अर्थात निल गएको छ ।थाहा नगरपालिकाको परिणाम दोस्रो स्थानमा रहेको छ । थाहा नगरपालिकाको ६ संस्थागत सहित १७ विद्यालयबाट ५ सय ३९ परीक्षार्थीले परीक्षा दिएकोमा १ सय ४८ अर्थात २७ दसमलव ४६ प्रतिशत नतिजा हासिल गरेको छ । थाहा नगरको कुनैपनि विद्यालयको नतिजा शुन्य रहेको अर्थात निल गएको छैन । मकवानपुरको मनहरी गाउँपालिकाले तेस्रो स्थानमा विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।

मनहरीका ३ संस्थागतसहित ११ विद्यालयबाट ४ सय ७७ परीक्षार्थीले एसइई परीक्षा दिएकोमा १ सय १५ अर्थात २४ दसमलव ११ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । मनहरीको ३ वटा विद्यालयको नतिजा शुन्य रहेको छ । यो संख्या शुन्य नतिजा हुने पालिकामध्ये मकवानपुरकै सबैभन्दा बढी हो । मनहरी–२, ३ र ४ नं. वडाका विद्यालय निल गएका हुन् । ईन्द्रसरोवर गाउँपालिकाका ६ सामुदायिक विद्यालयका ८४ जनाले एसईई परीक्षा दिएकोमा १४ जना अर्थात १६ दसमलव ६७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । इन्द्रसरोवरमा एउटा विद्यालयको नतिजा शुन्य भएको छ । भीमफेदी गाउँपालिकाको ८ सामुदायिक विद्यालयबाट २ सय १४ परीक्षार्थीले परीक्षा दिएकोमा २१ जना मात्र अर्थात् ९ दसमलव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

भीमफेदीको २ वटा विद्यालयको नतिजा शुन्य छ । मकवानपुरगढी गाउँपालिकाबाट १० सामुदायिक विद्यालयका ३ सय जनाले परीक्षा दिएकोमा ४६ जना अर्थात १५ दसमलव ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । मकवानपुरगढीको एउटा विद्यालयको नतिजा शुन्य भएको छ । बकैया गाउँपालिकाको ११ विद्यालयबाट ४ सय ४ जना परीक्षार्थीले परीक्षा दिएकोमा ५२ जना अर्थात १२ दसमलव ८७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । बकैयाको २ वटा विद्यालयको नतिजा शुन्य रहेको छ ।

बागमती गाउँपालिकाका ५ वटा विद्यालयका २ सय ३५ परीक्षार्थीले परीक्षा दिएकोमा २७ जना अर्थात् ८ दसमलव ६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बागमतीको पनि २ वटा विद्यालयको नतिजा शुन्य रहेको छ । कैलाश गाउँपालिकाको ६ वटा विद्यालयबाट १ सय ९९ परीक्षार्थीले परीक्षा दिएकोमा ११ जना अर्थात् ५ दसमलव ५३ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । यो उत्तीर्ण संख्या तथा प्रतिशत जिल्लामै सबैभन्दा कम हो । कैलाशको २ वटा विद्यालयको नतिजा शुन्य रहेको छ । राक्सिराङ गाउँपालिकाको ५ वटा विद्यालयबाट २ सय ३१ परीक्षार्थीले परीक्षा दिएकोमा २३ जना अर्थात ९ दसमलव ९६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । राक्सिराङको एउटा विद्यालयको नतिजा शुन्य रहेको छ ।

मकवानपुरमा ३८ संस्थागत र ९९ सामुदायिक विद्यालयबाट ५ हजार ८ सय ३९ परीक्षार्थीले परीक्षा दिएकोमा २ हजार १ सय ६८ अर्थात ३७ दसमलव १३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको तथ्यांक शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले दिएको छ । कक्षा १२ सम्म चलिरहेका कतिपय विद्यालयले एक जना पनि विद्यार्थी भर्ना लिन नसक्ने अवस्था सृजना भएको छ । निल गएका विद्यालयमा पालिकाले बिशेष चासो देखाएका छन् तर, कसरी अगाडि जाने भन्ने विषयमा निर्णय नभएको बताइएको छ । निल जाने विद्यालयलाई कारबाही गर्ने वा चेतावनी मात्र दिने भन्ने विषयमा पालिकाको नेतृत्व तहमा अन्यौल रहेको बताइएको छ । विद्यालयले भने कोचिङकक्षा संचालन गर्नका लागि अभिभावकसँग परामर्श गरिरहेका छन् ।

जिल्लाभर १६ विद्यालयको नतिजा शुन्य रहेको छ । हेटौंडा, थाहा र मनहरीमा मात्र संस्थागत विद्यालयको तर्फबाट विद्यार्थीले एसइई परीक्षा दिएका थिए । सामुदायिक विद्यालयतर्फ प्रगति माविको नतिजा उत्कृष्ठ रहेको छ भने संस्थागत विद्यालयतर्फ बालजागृति इंग्लिस सेकेण्डरी स्कूलको नतिजा जिल्लामै उत्कृष्ठ रहेको छ । एसईईमा ४ जीपिए ल्याउन सफल बालजागृतिकी रीतिका छत्कुली हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*