स्थानीय तहद्वारा शिक्षक दरबन्दी मिलान
हेटौंडा- पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले मौजुदा शिक्षक दरबन्दी मिलान गरी विद्यालयमा शिक्षकको व्यवस्थापन गरेको छ । नयाँ शैक्षिक वर्ष २०८३ सुरु भएसँगै स्थानीय शिक्षण व्यवस्थापन अनुदान कार्यविधि निर्माण गरी गाउँपालिकाले शिक्षक दरबन्दी कटौती तथा थप गरी शिक्षकको व्यवस्था गर्न थालेको हो । गाउँपालिकाको शिक्षा शाखाका स्रोतशिक्षक बिदुर थापाका अनुसार गाउँपालिकाभित्र रहेका विद्यालयमा एकजना शिक्षक बराबर ३० जना विद्यार्थीको अनुपात हुनेगरी दरबन्दी मिलान गरिएको हो । जसअनुसार ६ वटा विद्यालयका दरबन्दी कटाएर नजिकैका आवश्यक ठानिएका अन्य विद्यालयमा पठाइएको छ ।
गाउँपालिकाको युवा, खेलकुद तथा शिक्षाशाखाका अनुसार यसवर्ष मदन–आश्रित प्रावि, बिनाकालिका आधारभूत विद्यालय, श्री प्रावि, प्रगति प्रावि, नवजागृति प्रावि र महेन्द्रज्योति माविको एक÷एक दरबन्दी काटेर नजिकैका अन्य विद्यालयमा पठाइएको छ । ३० जना विद्यार्थीलाई एक शिक्षक दिनेगरी बनाइएको कार्यविधि बमोजिम पालिकाभर ३० वटा दरबन्दी अभाव भएकाले सोको व्यवस्थापन स्थानीय तहले गरेको गाउँपालिकाले जनाएको छ । जसअनुसार कक्षा ११ र १२ अध्यापन हुने २ वटा विद्यालयसहित १३ वटा विद्यालयले १ देखि ७ वटासम्म शिक्षक दरबन्दी प्राप्त गरेका छन् ।
नयाँ आर्थिक वर्षको साउन महिनाबाट पारिश्रमिक व्यवस्थापन हुनेगरी अहिले १३ वटै विद्यालयमा शिक्षक माग गरी नियुक्ति प्रक्रिया अघि बढाइएको शिक्षाशाखा प्रमुख प्रदीप पराजुलीले बताए । स्थानीय शिक्षण व्यवस्थापन अनुदान कार्यविधिबमोजिम प्राथमिक तहमा मासिक २० हजार रुपैयाँ र माध्यमिक तहमा मासिक ३० हजार रुपैयाँ पारिश्रमिक पाउनेगरी व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । कार्यविधिबमोजिम १३ महिनाको तलब दिने व्यवस्था भए बमोजिम वार्षिक १ करोड रुपैयाँ स्थानीय तहको तर्फबाट नयाँ दरबन्दीका शिक्षकको पारिश्रमिकमा खर्च गरिने गाउँपालिकाले जनाएको छ । मनहरी गाउँपालिकाले मकवानपुरका १० वटा पालिकामध्ये पहिलोपटक शिक्षक दरबन्दी व्यवस्थापन गरेको हो । पालिकामा ३२ वटा सामुदायिक विद्यालय रहेका छन् ।







