मतदाता नामावली विवादले रोकियो रास्वपा बागमती अधिवेशन
हेटौंडा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश प्रथम अधिवेशनअन्तर्गत् जारी निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन प्रक्रियामा देखिएका प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधान गर्न अधिवेशन अन्तर्गतको मतदान कार्यक्रम स्थगित गरिएको रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । आयोगले बुधबार सूचना जारी गर्दै मतपत्रमा देखिएका केही त्रुटि सच्याउन, मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न तथा समायोजन सूचीमा परेका करिब ४०० जनासम्बन्धी उजुरी र विवादको सम्बोधन गर्न निर्वाचन प्रक्रिया रोकिएको जनाएको हो । प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी निर्वाचनलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता रहेको पनि आयोगले उल्लेख गरेको छ ।
यसअघि मंगलबार राति करिब १ः३० बजे सभापति तथा प्रदेश सदस्य पदका लागि मतदान सुरु गरिएको थियो । तर, मतदान सुरु भएको करिब आधा घण्टामै मतदाता नामावली र उम्मेदवारको विवरणसम्बन्धी विषयमा प्रतिनिधिले आपत्ति जनाएपछि प्रक्रिया रोकिएको थियो । मतदान स्थगित हुनुअघि पाँच मत खसेको थियो । विवादपछि अधिवेशनस्थलमा नाराबाजीसमेत भएको थियो । स्थिति तनावपूर्ण बनेपछि प्रदेश निर्वाचन समितिले बुधवार बिहान ८ बजेसम्मका लागि मतदान स्थगित गरेको घोषणा गरेको थियो । तर, बिहानसम्म पनि सहमति जुट्न नसक्दा मतदान प्रक्रिया पुनः सञ्चालन हुन सकेन ।
आयोगले प्राविधिक तथा व्यवस्थापकीय काम सम्पन्न भएपछि अधिवेशन पुनः सञ्चालन गरिने तथा बाँकी निर्वाचन प्रक्रियाको नयाँ मिति र थप विवरण मतदान सुरु हुनुभन्दा कम्तिमा २४ घण्टा अगावै आधिकारिकरुपमा सार्वजनिक गरिने जनाएको छ । बागमती प्रदेशसभापति पदका लागि नुवाकोटका डा. अच्युतम लामिछाने, मकवानपुरका उत्सव अर्याल, धादिङका कृष्णमान श्रेष्ठ र रामेछापका हरिबहादुर(एचबी) खत्री प्रतिस्पर्धामा छन् । सदस्य पदका लागि ८८ जनाले उम्मेदवारी दिएका छ्न् ।
अधिवेशन रद्द नभएको केन्द्रीय निर्वाचन समितिको स्पष्टोक्तिनिर्वाचन प्रक्रिया स्थगित भएसँगै अधिवेशन नै रद्द भएको चर्चा चल्न थालेपछि रास्वपाको केन्द्रीय निर्वाचन समितिले औपचारिक स्पष्टीकरण जारी गरेको छ । समितिले अधिवेशन रद्द नभई केवल निर्वाचन कार्यक्रम केही समयका लागि स्थगित गरिएको जनाएको छ ।केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी विज्ञप्तिमा मतपत्रमा देखिएका त्रुटि सच्याउने, मतदाता नामावलीको अन्तिम प्राविधिक परीक्षण गर्ने तथा समायोजन सूचीसम्बन्धी विवाद समाधान गर्न समय आवश्यक परेकाले निर्वाचन कार्यक्रम सारिएको उल्लेख गरिएको छ ।
आयोगले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित बनाउन प्रदेश निर्वाचन समितिमा जनशक्ति थप गर्ने तयारीसमेत भइरहेको जनाएको छ । भ्रमपूर्ण सूचना र अफवाहका कारण मतदान स्थलबाट फर्किएका प्रतिनिधिलाई पुनः सहभागी हुने अवसर सुनिश्चित गरिने बताइएको छ । निर्वाचनको नयाँ कार्यतालिका चाँडै सार्वजनिक गरिने जनाउँदै आयोगले प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालालाई आधिकारिक सूचनामात्र विश्वास गर्न र भ्रामक प्रचारप्रसारबाट सचेत रहन आग्रह गरेको छ ।







