वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँः कुलमान
हेटौंडा- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रदेशसभाको निर्वाचनपछि वागमती प्रदेश सरकारको नेतृत्व आफूहरुले गर्ने दाबी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले सशक्त उपस्थिति जनाउने दाबी गरेका हुन् । २०८४ मा स्थानीय तथा प्रदेशसभाको निर्वाचन हुने उल्लेख गर्दै उज्यालो नेपाल पार्टीले धेरै स्थानमा विजय हासिल गर्ने बताए । विशेष गरी वागमती प्रदेशमा सरकार बनाउने गरी काम गरिरहेको उनको भनाई छ । वागमती प्रदेशका साथै अन्य प्रदेशमा पनि सरकार बनाउने लक्ष्यकासाथ कामगर्ने उनले बताए ।
पार्टीले बागमती प्रदेशलाई राजनीतिक विस्तारको केन्द्र बनाएर संगठन सुदृढीकरण तथा विस्तारको अभियान तीब्र बनाइरहेको उनको भनाई छ । अध्यक्ष घिसिङले विगतमा राजनीतिक अनुभवको कमीका कारण आफूहरु षड्यन्त्रमा फसेको उल्लेख गर्दै अब कसैको षडयन्त्रको शिकार नहुने बताए । पार्टीको अस्तित्व र पहिचान जोगाउन आफू अन्तिमसम्म लागिरहने उनको भनाई छ । अब जनताको विश्वास जितेर उज्यालो नेपाल पार्टीलाई देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने उनले बताए ।
‘यो पार्टीको आइडेन्टिटी, यो पार्टीको जुन पहिचान छ, यो पार्टीले बोकेको सिद्धान्त छ, त्यसलाई हामीले मर्न दिने छैनौँ । यो पार्टीमा धेरै पार्टीका साथीहरु जोडिनुभएको छ, अरु पार्टीहरु मिसिन आउनुभएको छ, एकता गर्न आउनुभएको छ । त्यो एकता र एकीकरणको विषयलाई हामी स्वागत गर्छौँ । तर, यो पार्टीको जुन किसिमको हाम्रो पहिचान छ, जुन किसिमको हाम्रो सिद्धान्त छ र एउटा डेलिभरी दिने पार्टी र यो पार्टीमा, पार्टीको जुन नाम र त्यसलाई निमिट्यान्न पारेर फेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिन गएको जस्तो त्यो कदापि हुँदैन ।’
‘अब हामी स्थानीय निकायको चुनाव र प्रदेशको चुनावमा जाँदैछौँ’ उनले भने, ‘करिव आठ–नौ महिनाभित्र चुनाव आउँदैछ । त्यो चुनावमा अब उज्यालो नेपाल पार्टीले आफ्नो सशक्त प्रतिनिधित्व गर्नेछ र धेरै ठाउँमा हामी जित्नेछौँ । वागमती प्रदेशको सरकार हामीले बनाउनेछौँ । बागमती प्रदेश मात्रै हैन, अरु ठाउँको पनि सरकार बनाउनेछौँ ।’ यो देशको मुटु बागमती प्रदेशलाई केन्द्रमा राखेर पार्टीले संगठन विस्तार गर्ने काम गरिरहेको उनले बताएका छन् । अध्यक्ष घिसिङले गत निर्वाचनमा पार्टीले चुनाव हारेपनि देशभरि पार्टीमा प्रवेश गर्नेहरुको लहर रहेको दाबी गरे ।







