बकैया गाउँपालिकाद्वारा मकैको न्यूनतम समर्थन मूल्य निर्धारण
हेटौंडा- मकवानपुरको बकैया गाउँपालिकाले मकैको न्यूनतम समर्थन मूल्य तोकेको छ । किसानले लागतअनुसार उचित मूल्य नपाइरहेको भन्दै गाउँपालिका भित्रका किसानले उत्पादन गरेको मकैको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ३५ रुपैयाँ निर्धारण गरेको हो ।गाउँपालिकाले पालिका भित्रका किसानलाई राहत दिने उद्देश्यले मकैको समर्थन मूल्य निर्धारण गरेको अध्यक्ष धर्मराज लामिछानेले बताए ।
उनकाअनुसार किसानले बजारमा समर्थन मूल्यभन्दा कम मूल्य पाउने अवस्था सिर्जना भएमा गाउँपालिका आफैँले तोकिएको समर्थन मूल्यमा मकै खरिद गर्ने व्यवस्था मिलाइएको छ । आफ्नो उत्पादन गाउँपालिकालाई बिक्री गर्न चाहने किसानले गाउँपालिकाले सञ्चालन गरेको बकैया औद्योगिकग्राममा आफूले बिक्री गर्न चाहेको मकैको स्पष्ट परिमाण खुलाई निवेदन पेश गर्नुपर्ने छ ।
निवेदनसँगै बकैया गाउँपालिका भित्रको किसान प्रमाणित हुने नागरिकताको प्रतिलिपि बुझाउनु पर्नेछ । गाउँपालिकाले स्थानीयस्तरमा नै रोजगारी सिर्जना र कृषि अर्थतन्त्र बलियो बनाउन औद्योगिकग्राम सञ्चालनमा ल्याएको छ ।गाउँका किसानलाई सस्तोमा दाना र घाँस उपलब्ध गराएर पशुपालनमा आकर्षित गर्ने उदेश्यका साथ आफ्नै लगानीमा औद्योगिकग्राम सञ्चालन गरी साइलेज तथा दाना उत्पादन गरेर स्थानीय किसानलाई सहुलियतमा उपलब्ध गराउँदै आएको छ ।







