बागमतीका निवर्तमान प्रदेशप्रमुख शर्मा:विवादित कानुन बन्नबाट रोके, जाँदाजाँदै उच्च हार्दिकता देखाए

साझाकुरा
२०८१ श्रावण २०, आईतवार १२:२०

हेटौंडा- सम्भवतः बागमती प्रदेशमा मात्र नभई देशभरमै पहिलोपटक प्रदेश प्रमुखको बिदाई र स्वागतले औपचारिकता पाएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने ७ वटा प्रदेशका प्रदेशप्रमुखहरु विगतमा पदमुक्त भएपछि आफ्नै तरिकाले घर फर्किने गरेका थिए । नयाँ प्रदेशप्रमुखहरु आएर आफ्नै हिसाबले काम सुरु गर्ने गरेको विगतले देखाउँछ । तर, यसपटक बागमती प्रदेशमा भने हार्दिकताका साथ प्रदेशप्रमुखको बिदाई र स्वागत गरियो । यसअघि पदमुक्त भएका बागमतीका प्रदेशप्रमुख यादवचन्द्र शर्मा शुक्रबार काठमाडौंबाटै आएर नवनियुक्त प्रदेशप्रमुख दीपकप्रकाश देवकोटाको स्वागत गरेका छन् ।

‘उहाँले हार्दिकताका साथ नयाँ प्रमुखलाई स्वागत गरेर आफू बिदा हुने चाहना राख्नु भएको थियो । शुक्रबार नै आएर कार्यक्रम सकेर फर्किनु भयो ।,’ शर्माको सचिवालयले भन्यो, ‘सायदै प्रदेशप्रमुखको बिदाई र स्वागतमा देखिएको हार्दिकता पहिलो हो । अन्य प्रदेशमा यसरी बिदाई र स्वागत भएको देखिदैन ।,’ नवनियुक्त प्रदेशप्रमुख देवकोटाले शुक्रबार पदभारग्रहण गरेका छन् । बिहीवार मात्रै राष्टपति रामचन्द्र पौडेलमार्फत् सपथग्रहण गरेका देवकोटाले पदभारग्रहरण गरेका हुन् । उनको पदभारग्रहण बारे थाहा पाएपछि शर्मा शुक्रबार नै काठमाडौंबाट हेटौंडा आएका थिए । उनी देवकोटाको स्वागतकै लागि हेटौंडा आएका हुन् ।

प्रदेशप्रमुखको कार्यालयमा शर्माको बिदाई र देवकोटाको स्वागत कार्यक्रमले भव्य रुप लिएको थियो । नयाँ प्रमुख देवकोटाको उपस्थितमा कर्मचारीहरुले शर्माको सुखद् बिदाई गरेका हुन् । शर्माले नै देवकोटालाई पदभार ग्रहण गराए । शर्माले आफू बस्दै आएको प्रदेशप्रमुखको कुर्सीमा देवकोटालाई बसाए । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा, बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकलगायतको उपस्थिति थियो ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम देवकोटालाई प्रदेशप्रमुखमा नियुक्त गरेका थिए । नेकपा एमालेबाट प्रदेशप्रमुख बनेका देवकोटा धनगढीका हुन् । देवकोटा बागमती प्रदेशका चौथो प्रदेशप्रमुख बनेका हुन् । २०७२ मा संविधान जारी भएसँगै ०७४ पछि कार्यान्वयनमा आएको नयाँ संरचना अनुसार प्रदेशप्रमुख नियुक्त हुने गरेका हुन् । बागमतीमा अनुराधा कोइराला पहिलो र विष्णुप्रसाद प्रसाई दोस्रो प्रदेशप्रमुख बनेका थिए । उनीहरुको हार्दिकतासहितको बिदाई र स्वागतमा कुनै औपचारिक कार्यक्रम भएका थिएनन् ।

नेपालमा राजनीतिक समिकरण परिवर्तन भएसँगै सत्तागठबन्धन भन्दा फरक दल निकटका प्रदेशप्रमुख भएमा हटाएर आफ्नालाई नियुक्त गर्ने चलन छ । ५ वर्षीय कार्यकालका लागि नियुक्त हुने गरेका प्रमुखहरु पटकपटकको सत्तासमिकरण परिवर्तनको कारण पूरा कार्यकाल बस्न पाएका छैनन् ।२०७८ भाद्र ४ गते तत्कालीन कांग्रेस नेतृत्वको सरकारले नेकपा (एकीकृत समाजवादी)बाट शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

३ वर्ष प्रमुखको जिम्मेवारीमा रहेका उनले प्रदेशमा बेलाबखत देखिने राजनीतिक विकृतिलाई रोक्नेसम्मका काम गरे । स्वार्थ बाझिएको विवादित खालका कानुन र अध्यादेश रोकेर शर्माले चर्चा पनि बटुले । यस अवधिमा शर्माले १८ ओटा विधेयक प्रमाणीकरण गरे । प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण नगरी प्रदेशसभामा सन्देश सहित
७ जेठ २०८० मा फिर्ता गरेका थिए । प्रदेशसभाले यो विधेयक पुनः पेश भएको छैन । शर्माले विवादित चिठ्ठा विधेयकले ‘कालो धनलाई सेतो’ बनाउन मद्दत पुग्ने सन्देश सहित फिर्ता गरेका हुन् । विवादित विधेयक फिर्ता गरेपछि उनको देशभर चर्चा भएको थियो ।

शर्माले आफ्नो कार्यकालमा ११ ओटा अध्यादेश जारी गरे । केही प्राविधिक त्रुटिहरुका कारण प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश उनले जारी नै गरेनन् । अमुक व्यक्तिलाई फाइदा पुग्ने गरी हतारमा अध्यादेश ल्याएको निश्कर्षसहित शर्माले यो अध्यादेश जारी नगरेको जनाइएको छ । त्यो अध्यादेश ल्याउने उनी निकटकै दलका मन्त्री थिए । आफ्नै दलका मन्त्रीले ल्याएको अध्यादेशमा कैफियत देखेपछि शर्माले रोकेको भन्दै फेरि उनको चर्चा भयो ।

प्रदेशप्रमुख शर्माकै पहलमा प्रदेशका ३ वटा सीमान्तकृत समुदाय बनकरिया, सुरेल र हायु समुदायको हकअधिकार प्राप्तिका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको थियो । जग्गा नभएकादेखि ओतलाग्ने छानोसमेत नभएका समुदायको गाँस, बास र कपासको व्यवस्थापनमा शर्माले सरकारको ध्यानाकर्षण गराएका थिए । उनले दोलखाको गौरिशंकर गाउँपालिकाको सुरीमा रहेको सुरेल समुदायमा
अन्तरक्रिया गरी राज्यबाट सहयोग दिलाए ।

सुरीका ३ वटा विद्यालयमा अध्ययनरत सुरेल समुदायका ४० जना विद्यार्थीलाई विद्यालय पोशाक, झोला, कापी, कलम विद्यालयलाई खेलकुद साम्रगीलगायत करिब ६ लाख बराबरकोे सामग्री संरचना नेपाल नामक संस्थाले उपलब्ध गराएको थियो । बुढानीलकण्ठ विद्यालय काठमाडौमा कक्षा ५ मा २ जना सुरेल विद्यार्थीलाई छात्रवृत्ति सहित पढ्ने व्यवस्था गरिएकोमा १ जना मात्र योग्य विद्यार्थी पाइएको र त्यसमा पनि छात्रा भएकाले अभिभावकको रुची नदेखिएको शर्माले बताए ।

शर्माकै अगुवाईमा पहिलोपटक चितवनको सौराहमा सातै प्रदेशका प्रदेशप्रमुखहरुको बैठक बागमती प्रदेशप्रमुखको कार्यालयले आयोजना गरेको थियो । बैठकबाट हरेक ६÷६ महिनामा पालोगरी एकपछि अर्को प्रदेशमा सम्बन्धित प्रदेशप्रमुखको कार्यालयले बैठकको आयोजना र व्यवस्थापन गर्ने अवधारणापत्र, २०७८ पारित गरिएको थियो । तर, त्यस पश्चात अन्य कुनैपनि प्रदेशप्रमुखको कार्यालयले बैठक राखेका छैनन् ।शर्माले चिनको युनान प्रान्तको निमन्त्रणामा २०८१ मंसिरमा चिनको युनान प्रान्तको भ्रमण गरेका छन् ।

बागमती प्रदेश र युनान प्रदेशको बीचमा भगिनी सम्बन्ध स्थापना गर्ने, आधुनिक कृषिप्रणाली, टनेल इन्जिनियरिङ र डेटाबेस इन्फर्मेसन टेक्नोलोजी सम्बन्धी उच्चशिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीका लागि युनान विश्वविद्यालयमा भर्ना लिने विषयमा र हेटौंडा उपमहानगरपालिका तथा कुन्मीङ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा कुराकानी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*