मनहरीमा चामल गायब पार्ने फर्मलाई ७० हजार जरिवाना
हेटौंडा- मकवानपुरको पश्चिमीक्षेत्रस्थित मनहरी बजारबाट चामल गायब पार्ने मंगलमय ट्रेडर्सलाई मनहरी गाउँपालिका कार्यालयले जरिवाना गराउने निर्णय गरेको छ ।मनहरी गाउँपालिकाले अनुगमन टोलीले शिल गरेको चामल गायब बनाएकोले मनहरी बजारको मंगलमय ट्रेडर्सलाई ७० हजार रुपैयाँ जरिवाना तिराउने र २४ घण्टाभित्र हराएको चामल ल्याएर गोदाममा राख्न निर्देशन दिएको छ । गाउँपालिकाले चामल प्रचलित मापदण्डविपरित भएकाले ५० हजार र चामलको बिक्रीबितरण, ओसारपसार रोक्का गरिएकामा त्यसको अबज्ञा गरी अटेर गरेकाले २० हजार गरी ७० हजार जरिवाना गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।
जनस्वास्थ्यमा खेलवार्ड गर्न कसैलाई पनि छुट नभएको भन्दै गाउँपालिकाले नियमबिपरित गर्ने ब्यापारिक फर्मलाई कारवाही गरेको बताइएको छ । खाद्यान्ह जस्तो सम्बेदनशील कुरामा गैरजिममेवारी काम गर्न नहुने र प्रशासनले शिल गरेको अवस्थामा शिल तोडेर चामल गायब बनाउने घटना गैरकानूनी भएको बताइएको छ । स्थानीय प्रशासनले शिल गरेको ठाउँमा कानूनी प्रक्रियामा जानुपर्ने अवस्थामा आफैंले शिल तोडेर चामल लुकाउने काम आफैंमा गंभीर अपराध भएको गाउँपालिकाले जनाएको छ ।
मंगलमय ट्रेडर्सले बुधवार नै गाउँपालिका कार्यालयको खातामा ७० हजार जरिवाना तिरेको गाउँपालिका कार्यालयले जनाएको छ । ट्रेडर्सलाई रोक्का गरिएको चामल दाखिला गर्न पत्रमार्फत् निर्देशन दिइएको छ । चामलको नमूना जाँच गर्नुपर्ने भएकाले दाखिला गर्न भनिएको छ । अनुगमन टोलीले शिल गरेको चामल गायब पारिएको समाचार साझाकुराले बुधबार प्रकाशित गरेको थियो । समाचार प्रकाशन भएको केही घण्टा भित्रै गाउँपालिका एक्सनमा उत्रिएको हो ।
६ असोज ०८१ मा गाउँपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालयसहितको अनुगमन टोलीले शिल गरेको ६० बोरा चामल गायब पारिएको थियो । १२ कार्तिक सोमबार परीक्षणका लागि चामल नमूना लिन पुगेको खाद्यको टोलीले शिल गरिएको चामल गोदाम रित्तै देखेपछि कारबाही गर्न गाउँपालिकालाई अनुरोध गरेको हो । गाउँपालिकाले यति छिटो ब्यवसायिक फर्मलाई कारबाही गरेको विषयमा भने स्थानीय प्रशासनले सकारात्मक मानेको छ ।
यसअघि ओम कैलाश ब्राण्डका ५३ बोरा र लक्ष्मी राइस मिलबाट उत्पादित ७ बोरा चामल बिक्री बितरण र उपभोग गर्न प्रशासन र गाउँपालिका आफैंले शिल गरेको थियो । यी दुईवटा ब्राण्डका चामलका बोरामा उपभोग्य मिति, उत्पादन मिति र ब्याच नं. समेत नभेटिएपछि चामल शिल गरिएको अनुगमन मुचुल्कामा उल्लेख छ ।एक महिनाअघि नै शिल गरिएको चामलको सोमबार मात्रै नमूना संकलनका लागि मनहरी गाउँपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय मनहरीको टोली पुगेको थियो । नमूना संकलनका लागि जाँदा यसअघि नै शिल तोडेर चामल गायब पारिएको पत्ता लागेको हो ।