थाहानगरमा प्रचण्डः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डामा नयाँ आन्दोलन थाल्ने

थाहानगर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष कार्यकारी प्रमुखको एजेण्डा बोकेर माओवादी केन्द्रले नयाँ आन्दोलन, नयाँ क्रान्ति थाल्ने घोषणा गरेका छन् ।मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा शनिवार योङ कम्युनिस्ट लिगको नगरअधिवेशनलाई सम्बोधन गर्दै दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाबाट ५ वर्षको स्थायी सरकार नबनेसम्म मुलुकमा बेथिति, भ्रष्टाचारको अन्त्य नहुने बताएका छन् ।
मेचीदेखि महाकालीसम्म पुग्दा माओवादी र प्रचण्डमाथि जनताको भरोसा र विश्वास जागेको बताउँदै उनले मुलुकले नयाँ विकल्प खोजिरहेको महुशस गरेको बताए । नयाँ विकल्पकारुपमा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका लागि नयाँ आन्दोलन र नयाँ क्रान्ति गर्ने घोषणा गरेका हुन् ।‘नयाँ जिम्मेवारीबोधले नयाँ आन्दोलन र नयाँ क्रान्तिको नेतृत्व लिनुपर्छ भन्ने लागेको छ ।
बेथिति, भ्रष्टाचारविरुद्द नयाँ आन्दोलन र अभियान चलाउन पर्ने भएको छ,’ प्रचण्डले भने, ‘प्रचण्ड थाकेको छैन । प्रचण्ड र माओवादी नयाँ क्रान्तिबाट भ्रष्टाचारीहरुको सबै षडयन्त्र निस्तेज पार्ने अभियान सुरु गर्न लाग्दैछ, तपाईंहरुको साथ चाहिन्छ मलाई ।’प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका लागि माओवादीले छिट्टै एजेण्डासहित अभियान चलाउन लागेको उनले बताए । कांग्रेस र एमालेको संगतले माओवादी बिग्रिएको उनको भनाई छ ।
जनतासँग अलिअलि बिग्रिएको माओवादीले एकपटक माफी मागेर अघि बढ्ने उनको भनाई छ । २०६४ जतिकै शक्तिले २०८४ पछि सरकारमा आउनुपर्ने अपिल गर्न पनि मेचीमहाकाली अभियान चलाइने उनले बताएका छन् ।उनले १८ महिनाको कार्यकालमा सुशासन र सामाजिक न्यायका लागि बथेति र विकृतिविरुद्व इमान्दार काम गरेको दाबी गरे । संख्याको बलमा नेपाली कांग्रेस र एमालेले देशमा सुशासन कायम हुन थाल्नु, भ्रष्टाचारीहरु कारबाहीमा पर्न थालेपछि उनीहरुलाई बचाउन सरकार गठन गरेको र भ्रष्टाचारीहरुकै योजजामा काम गरिरहेको प्रचण्डले आरोप लगाए ।
केपी शर्मा ओलीको सरकारले कुलमान घिसिङलाई हटाउन खोजेको भन्दै प्रचण्डले माओवादी सरकारको उपलब्धि देश लोडशेडिङमुक्त भएको कांग्रेस–एमाले गठबन्धनको सरकारले देख्न नसकेको पनि आरोप लगाए । देशलाई फेरि अँध्यारो युगमा लैजान कांग्रेस र एमाले लागिरहेको प्रचण्डको भनाई छ । आफू तेस्रोपटक सरकारमा आउँदासुशासन कायमका लागि भ्रष्टाचार, मिटरब्याजीमाथि ठूलो अप्रशेन चलाउन थालेपछि माओवादी नेतृत्वको सरकार जालझेल र षड्यन्त्रबाट ढालिएको बताए । माओवादीले जालझेल र षडयन्त्र गर्न नजानेको उनको दावी थियो । केपी ओलीले १०० दिनको उपलब्धिमा आफूले गरेको कामको पनि विवरण समावेश गरेको प्रचण्डले बताएका छन् ।
आफ्नो कार्यकालमा नेपाली जनताको प्रतिष्ठा र इज्जत अन्तर्राष्ट्रिय समुदायमा माथि उठाउन देशमा जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय फोरमहरुमा कुरा उठाएको प्रचण्डले स्मरण गरे । यी सबै काम गर्दा पनि भ्रष्ट, दलाल र माफियालाई प्रचण्डको सरकार टाउको दुखाई भएको उनले दाबी गरे । ब्याख्या गर्ने समय नभएको बताउँदै प्रचण्डले आफ्नो कार्यकालमा धेरै बिचौलियाको सेटिङ भत्काइ दिएको उनको भनाइ थियो । कांग्रेस र एमालेप्रति जनताको आक्रोश र असन्तुष्टि दिनदिनै बढिरहेको प्रचण्डको दाबी छ ।
विपदका बेलामा पीडितको घरदैलोमा पुग्दा सरकार कहाँ छ ? थाहा छैन, तपाईं हुनुहुन्छ भनेर उनीहरुले आफ्नो साथ खोजेको प्रचण्डले दाबी गरे । बागमती प्रदेशमा तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउन आफ्नो निर्देशनात्मक भूमिका रहेको उनले बताए । रुपचन्द्र विष्टको प्रतिमा अनावरण गरेको १६ वर्षपछि आफू थाहानगर आएको प्रचण्डले स्मरण गरे ।
यसैगरी, पार्टी उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाले सरकार भ्रष्टहरुको संरक्षक बनिरहेको आरोप लगाएका छन् । सरकारले भस्मासूर प्रवृति देखाएको उनले बताए । केपी ओली नेतृत्वको सरकारलाई छिमेकी मुलुक भारत लगायत देशले पनि नरुचाएको उनको दाबी छ । माओवादी कुखुरा नभई चील भएको बताउँदै सापकोटाले फेरि क्रान्तिका लागि माओवादी गतिका साथ अगाडि बढ्न तयार रहेको बताए ।
संविधानसभा सदस्यसमेत रहेका पार्टीका केन्द्रीय सदस्य रामनारायण बिडारीले निर्दलीय व्यवस्थामा बहुदलीय अभ्यास गरेको भूमि थाहा नगरपालिका माओवादीको महत्वपूर्ण क्षेत्र रहेको बताए । नेपाल संकटमा रहेको बताउँदै यसबाट निकाल्न परिवर्तनको क्रान्ति फेरि सुरु गर्नुपर्ने प्रचण्डको नेतृत्वमा माओवादीले गर्नुपर्ने उनले सुझाए । माओवादीलाई २०८४ मा बहुमत दिएर मुलुक परिवर्तनका लागि निर्णायक भूमिका खेल्नुपर्ने बिडारीले बताए । प्रगतिशील व्यवस्था र प्रगतिशील कानुनी आवश्यम रहेको उनले बताए ।
पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज विजय गौतमले २०८४ को निर्वाचनबाट मकवानपुर माओवादी मय हुने दाबी गरे । कांग्रेसले बिपि कोइराला र एमालेले मदन भण्डारीको फोटो बेचेर राजनीति गरिरहेको उनले आरोप लगाए । कांग्रेस र एमालेको गठबन्धन सरकारले भ्रष्ट्राचारको संरक्षण गरिरहेकोले लुटको साम्राज्य फेरि देखिएको आरोप लगाए । प्रचण्डको नेतृत्वमा मुलुकले समृद्धि हासिल गर्ने उनको विश्वास छ ।
पार्टी बागमती प्रदेश कमिटी सदस्य तथा थाहाका निवर्तमान नगरप्रमुख लवशेर विष्टले माओवादी भएकैले विकासप्रेमी, समृद्धिको संवाहक नेतृत्वका कारण थाहानगरपालिकाले गति लिएको बताए । ३०० घरधुरी, हजार भन्दा बढी रोपनी जग्गा रहेको फेदी गाउँको बस्तीमा २०५० को बाढीले क्षति पु¥याएकोले यसको संरक्षण, थाहा–थानकोटसडकको निर्माण सम्पन्न गर्न तदारुकताका लागि पहल गरिदिन प्रचण्डसँग अनुरोध गरे ।