शिक्षक बम्जनमाथि गोली प्रहार, दाँतमा गोली लाग्दा जोगियो ज्यान
हेटौंडा- मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुँडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बम्जनमाथि गोली प्रहार भएको छ ।बागमती गाउँपालिका–१, बोटगाउँ घर भएका बम्जनमाथि घर फर्कने क्रममा ३ जनाको अज्ञात समूहले सिन्धुलीको हरिहरिपुरगढी गाउँपालिका–६, स्थित सिन्धुली–सर्लाही–कर्मैया सडकखण्डमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । सिन्धुलीका प्रहरी नायवउपरीक्षक अनिल खड्काका अनुसार ३ जनाको समूहले मोटरसाइकल चलाएर हिँडिरहेको अवस्थामा बम्जनलाई रोकेर नलकटुवा बन्दुकले गोली प्रहार गरेको बताए ।
बम्जनले लगाएको हेल्मेटको दाहिनेतर्फबाट प्रहार भएको गोलीले गाला छेडेर दाँत (बंगारा) मा अड्किएको डीएसपी खड्काले बताए । ‘दाँतमा अड्किएकाले ज्यान जोगिएको पाइयो । गोलीले हेल्मेटको दाहिनेतर्फबाट गाला छेडिएको थियो’, उनले भने । घाइते बम्जनलाई सर्लाहीमा सामान्य उपचारपछि थप उपचारका लागि बीरगञ्जको वयोधा अस्पताल लगिएको थियो ।
सिन्धुलीबाट छिमेकी जिल्ला प्रवेश गर्ने सबै नाकाहरुमा सुरक्षा कडा गरेर गोली प्रहार गर्ने समूहको खोजीकार्य भइरहेको डीएसपी खड्काले बताए ।बम्जन आइतबार रौतहटको गैंडाटारस्थित दिदीको घरमा पूजा सकेर बागमतीस्थित घर फकिँदै थिए ।बम्जनले चलाएको प्रदेश २–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकल पछाडि उनका भाइ दिलबहादुर बम्जन सवार रहेकोमा उनी सकुशल रहेको डीएसपी खड्काले जानकारी दिए । ३ जनाको समूहमा रहेका व्यक्तिले बम्जनमाथि बाटो ढुकेर गोली प्रहार गरेको देखिएकोले दुश्मनीका कारण हुन सक्ने उनले आशंका गरे ।यता घाइते बम्जनले पैसा लुटपाट गर्ने उद्देश्यले बसेको डाँका समूहले आफूमाथि गोली प्रहार गरेको बताएका छन् ।
आफूलाई बाटो ढुकेर बसेको डाँका समूहले पैसा मागेको र पैसा छैन भनेपछि गोली हानेको बताएका हुन् । ‘म र भाइ दिदीको घरमा पूजामा गएर मोटरसाइकलमा घर फर्किँदै थियौं । बाटोछेउमा बसिरहेको ४–५ जनाको समूहले रोकेर पैसा मागे । मैले पैसा छैन भनेर बाइक रोकेर ओर्लिन खोज्दाखोज्दै गोली हानिहाले’, घाइते बम्जनलाई उदृत गर्दै बीरगञ्जस्थित अस्पतालमासँगै रहेका उद्धव घिमिरेले भने ।
घिमिरे शिक्षक बम्जनले पढाउने विद्यालयका पूर्वविद्यार्थी हुन् । गोली प्रहार गर्ने बित्तिकै अरु गाडीहरु पनि आइपुगेपछि डाँका समूह भागेको घिमिरेले बताए । घिमिरेका अनुसार बम्जनलाई थप उपचारको लागि चितवनस्थित भरतपुर वा काठमाडौं लैजाने विषयमा छलफल भइरहेको छ । ‘गोली दाँतमा अड्किएर सर जोगिनु भएको रहेछ । वयोधा अस्पतालका चिकित्सकले सर खतरामुक्त हुनुहुन्छ भन्नुभएको छ । तर, पनि थप उपचारका लागि भरतपुर वा काठमाडौं लैजाने छलफलमा छौं’ आइतबार राती उनले भने ।