प्रदेशप्रतिको गुनासो कामबाट चिर्न सकिन्छः मुख्यमन्त्री लामा

साझाकुरा
२०८१ कार्तिक ३०, शुक्रबार ११:३७

हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारप्रति नागरिकको गुनासो कामको प्रचार गरेर चिर्न सकिने धारणा व्यक्त गरेका छन् ।कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ मा उनले प्रदेश स्थापनापछि धेरै विकास भएको दाबी गरे । प्रदेश नचाहिने जनगुनासोलाई प्रदेशले काम गरेर चिर्न सक्नुपर्ने उनको भनाई छ । ‘प्रदेश नचाहिने भन्ने जनगुनासो छ । खर्च गर्ने क्षमता छैन, भनेर गुनासो भएको हो,’ उनले भने, ‘प्रदेशका चुनौती छन् । ती चुनौती चिर्न प्रदेशले गरेको कामको प्रचारप्रसार गर्न सक्नुपर्छ ।’

लामाले मुलुकमा संघीयता लागू भएपछि प्रदेशले धेरै पूर्वाधार निर्माणको काम गरेको दाबी गरेका छन् । विकास पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीक्षेत्रमा विकास भएको बताएका हुन् । ‘प्रदेश आइसकेपछि पूर्वाधार निर्माण धेरै भएको छ । स्वास्थ्यक्षेत्रको धेरै सुधार भइसकेको छ,’ कन्क्लेभको पाँचौं सत्र ‘मुख्यमन्त्रीका मुख्य मुद्दा’ विषयक अन्तक्रिया कार्यक्रममा उनले भने, ‘शिक्षाक्षेत्र र खानेपानीदेखि लिएर सबै क्षेत्रमा सुधार भएको छ ।’

उनका अनुसार संघीयता लागू भइसकेपछि केन्द्रको तुलनामा प्रदेशले पूँजीगत खर्चमा सुधार गरेको छ । ‘प्रदेश स्थापना गर्दा धेरै खर्च भएन होला । विस्तारै वृद्धिगर्दै ७० प्रतिशतभन्दा बढी पूँजीगत खर्च भएको छ,’ उनले भने, ‘केन्द्रिकृत हुँदाभन्दा अहिले धेरै सुधार भइसकेको छ । मुख्यमन्त्री लामाले सरकारको नेतृत्व गरेको साढे तीन महिनामा बुधवार हेटौंडामा १०० दिनको प्रगति सार्वजनिक गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*