कृषिमन्त्री श्रेष्ठको १०० दिन किसानलाई साढे २ करोडदेखि मल कारखानालाई ७ करोड बजेटसम्म

साझाकुरा
२०८१ कार्तिक ३०, शुक्रबार १२:२१

हेटौंडा, २९ कात्तिक÷ बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले आफ्नो १०० दिनको कार्यकालमा भएका प्रमुख उपलब्धिहरु सार्वजनिक गरेका छन् ।मन्त्रालयले कृषि, पशुपन्छी तथा मत्स्यक्षेत्रमा प्राकृतिक तथागैरप्राकृतिक विपद्बाट क्षति व्यहोरेका किसानलाई राहत, बाढीपहिरो पीडित किसानको तथ्यांक संकलन गरी राहत प्याकेजको लागि आवश्यक बजेट माग गरेकोदेखि समुदायमा आधारित खेतीप्रणालीमार्फत् कृषिउत्पादनमा स्वनिर्भर वडा निर्माण गर्न ५० वटा वडामा कार्यक्रम सुरु हुने क्रममा रहनुका साथै थप २५ वटा वडा छनोटको प्रक्रिया अघि बढेको, लम्पिस्किन डिजिजविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गरी ७१,९७७ गाईभैंसीलाई खोप लगाएको कार्यसम्मलाई उपलब्धीका रुपमा समेटेको छ ।

हेटौंडा–११ मा निर्माणाधीन प्रादेशिक कृषि थोक बजारको निर्माणकार्य सम्पन्न हुने चरणमा पुगेको छ । प्रदेशका ८ जिल्लाका १० स्थानमा निर्माणाधीन शीतभण्डारको निर्माणकार्य ८५ प्रतिशत सम्पन्न भएको र यी शीतभण्डारमा करिब १५,८०० मेट्रिकटन भण्डारण क्षमता रहेको मन्त्रालयले जनाएको छ । प्राकृतिक विपद्बाट क्षति पुगेका १०३ जना किसानलाई हालसम्म २ करोड ५४ लाख ३४ हजार १६३ रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ ।

चालु आर्थिक वर्षमा यसका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । प्रदेशका २६ स्थानमा निर्माणाधीन ‘एक वडा एक पशुस्वास्थ्य क्लिनिक’ मध्ये १८ वटाको भवन निर्माणकार्य सम्पन्न भएको छ । दूध उत्पादक कृषकलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए ।हेटौंडामा निर्माण सम्पन्न भएको दुध पाउडर प्लान्टको सञ्चालन मोडालिटि सम्बन्धमा अध्यन गरी सुझाव प्रदान गर्नको लागि कार्यदल गठनको अन्तिम चरणमा रहेको मन्त्री श्रेष्ठले बताए ।

गुणस्तरीय भेटेरिनरी सेवालाई थप विस्तारका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र, चितवनमा आधुनिक भेटेरिनरी अस्पताल निर्माणकार्य ९२ प्रतिशत सम्पन्न भएको, कृषि, पशुपन्छी तथा मत्स्यक्षेत्रमा प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट क्षति पुगेका १०३ जना किसानलाई हालसम्म २ करोड ५४ लाख ३४ हजार १ सय ६३ रुपैया राहत रकम उपलब्ध गराइएको उपलब्धी समेटिएका छन् । राहतका लागि मन्त्रालयले चालु आर्थिक वर्ष २०८१÷८२ मा ५ करोड रकम विनियोजन गरिएको उल्लेख गरेको ।

प्राङ्गारिक मल उत्पादनकार्यलाई व्यवस्थित, सरल, सुलभ र गुणस्तरीय बनाई प्राङ्गारिक मलको नियमित प्रयोग गर्दै माटो व्यवस्थापन र दिगो कृषिउत्पादन कायम गर्न एक प्रदेश निर्वाचन क्षेत्र, एक प्राङ्गारिक मल कारखाना स्थापना कार्यक्रम प्रारम्भ भएको मन्त्री श्रेष्ठले जानकारी दिए । चालु आवमा ७ र गत आवका ७ वटा गरी १४बटाकारखाना स्थापना गर्न ७ करोड रकम विनियोजन गरिएको उनले बताए ।

पशुस्वास्थ्य तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा प्रदेशका २६ स्थानमा निर्माणाधीन ‘एक वडा एक पशुस्वास्थ्य क्लिनिक’ मध्ये मकवानपुर ३, सिन्धुली २, रामेछाप २, दोलखा ३, सिन्धुपाल्चोक ३ र काभ्रेपलाञ्चोक ५ गरी १८ वटाको भवन निर्माणकार्य सम्पन्न भएको तथा रामेछापको मन्थली–५ नम्बर वडा र लिखु तामाकोशी गाउँपालिका–६ नम्बर वडामा गरी २ वटा क्लिनिक सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको मन्त्रालयले उपलब्धिमा उल्लेखगरेको छ ।

कृषिक्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तीय संस्था मार्फत् सहुलियतपूर्ण कृषिकर्जा (व्याज अनुदान) कार्यक्रम सञ्चालनका लागि २ करोड ५० लाख बजेट विनियोजन गरिएकोमा कार्यान्वयनका लागि कार्यविधि तयारीको अन्तिम चरणमा रहेको, प्रदेशमा रासायनिक मलको माग बमोजिम उपलब्ध गराउनको लागि संघिय कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग आवश्यक समन्वय गरिएको, कृषि तथा पशुपालनतर्फ विनियोजित कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि १० वटा नयाँ कार्यविधि तयार गरी स्वीकृत गरिएको उनले जनाए ।

कृषक बर्गीकरण र सूचिकरणकार्य तदारुकताका साथ अगाडि बढाउन लागिएको, कृषि विशेष पकेटक्षेत्र घोषणा गरी सघनरुपमा कार्यक्रम संचालनको तयारी गरिएको, प्रदेशको कृषि व्यवसाय प्रवद्र्धनको लागि प्रदेश कृषि व्यवसाय प्रवद्र्धन समिति गठनकार्य अन्तिम चरणमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।बागमतीका मुख्यमन्त्री बहादुरसिं लामाले बुधवार मात्रै प्रदेश सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गरेका थिए ।

मुख्यमन्त्री लामाले नीतिगत र कानुनी सुधार, संवैधानिक नियुक्ति तथा अन्य निकायमा लामो समयदेखि रिक्त पदमा परिपूर्ति, सार्वजनिक प्रशासन तथा जनशक्ति प्रशासन, पूर्वाधार निर्माण, स्वास्थ्य, सामाजिक, कृषि तथा पशुपन्छी क्षेत्रको विकास, युवा तथा खेलकुद, प्रदेशको वित्तीय अवस्था र सार्वजनिक खर्च व्यवस्थापनलगायत नीतिगत र संस्थागत उपलब्धी समेटेर सय दिनको प्रगति प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*