मदन भण्डारी प्रतिष्ठान र चिकित्सा शास्त्र अध्ययन संस्थानबीच सम्झौता

साझाकुरा
२०८१ मंसिर १५, शनिबार १३:१२

हेटौंडा- नेपालको चिकित्सा क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा शास्त्र अध्ययन संस्थान (त्रिभुवन विश्वविद्यालय) बीच ऐतिहासिक समझदारी भएको छ ।सम्झौतामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदीप ज्ञवाली र चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर दिव्यासिंह शाहले हस्ताक्षर गरेका हुन् । यो सम्झौता पाँचवर्षको हुनेछ । जसअन्तर्गत प्रतिष्ठान र संस्थानले संयुक्तरुपमा क्लिनिकल सेवा, चिकित्सा शिक्षा, र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने भएका छन् । यसले चिकित्सा सेवाको गुणस्तर वृद्धि गर्नुका साथै देशमा विशेषज्ञ सेवाको पहुँचलाई विस्तार गर्ने अपेक्षा गरिएको छ ।

सम्झौताले विशेषतः हेटौंडा अस्पतालमा मुटुरोग, मिर्गौलारोग, जनरल सर्जरी, महिला तथा बालरोगजस्ता विभिन्न विशेषज्ञ सेवा अझ प्रभावकारीरुपमा उपलब्ध गराउन मद्दत गर्नेछ । यसबाहेक, शिक्षण अस्पतालको रुपमा सेवा विस्तार गरी विद्यार्थीका लागि उच्चस्तरीय शिक्षण र अनुसन्धानका अवसर सिर्जना गरिनेछ ।सम्झौता समारोहमा बोल्दै उपकुलपति प्राडा ज्ञवालीले यो सहकार्यले समुदायलाई गुणस्तरीय स्वास्थ्यसेवा दिनका साथै नेपालका स्वास्थ्यसेवाका क्षेत्रमा नवीनतम अभ्यास र प्रविधि भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले थपे, ‘यो सम्झौता केवल स्वास्थ्यसेवा र शिक्षाक्षेत्रको विकास मात्र नभई, देशभरिका नागरिकलाई अत्याधुनिक विशेषज्ञ सेवा प्रदान गर्ने दिशामा टेवा पु¥याउनेछ ।’

डीन प्राडा शाहले यो सहकार्यले अनुसन्धानलाई प्रोत्साहन दिने र नेपालका युवा चिकित्सकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशिक्षण प्रदान गर्ने वातावरण निर्माण गर्नेमा जोड दिइन् । उनले चिकित्सा क्षेत्रका शैक्षिक गतिविधिलाई अझ सुदृढ बनाउनका लागि यो सम्झौता मीलको पत्थर सावित हुने विश्वास व्यक्त गरिन् ।सम्झौता भएको यो सहकार्यले स्वास्थ्यसेवा, शिक्षा, र अनुसन्धानको क्षेत्रमा एक नवीन दृष्टिकोण प्रस्तुत गरेको छ । पाँचवर्षको अवधिमा यसले स्वास्थ्यसेवामा दक्ष जनशक्ति उत्पादन गर्न र ग्रामीण तथा सहरी क्षेत्रका नागरिकलाई गुणस्तरीयसेवा उपलब्ध गराउन सहयोग पु¥याउनेछ । साझेदारीबाट नेपालको चिकित्सा क्षेत्रलाई विश्वस्तरीय मान्यता दिलाउन योगदान पुग्ने अपेक्षागरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*