हेटौंडास्थित प्राधिकरणबाट कसले गायब बनायो सात करोडको सामान ?
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–५ भैरवरोड स्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट सात करोड बराबरका सामान गायब भएको तथ्य बाहिरिएको छ सामान हराएको घटनाको वास्तविकता पत्ता लगाउन गठन भएको छानबीन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ । विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौंडास्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएपछिप्राधिकरणले केन्द्रीयस्तरमा गठन गरेको छानबीन समितिले सात करोड बराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले जानकारीदिए ।
हेटौंडास्थित जिन्सी शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बरबुझारथ गर्ने क्रममा अभिलेखअनुसारका सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको हो । ‘खरिद भएका सामानको अभिलेख छ । तर, स्टोरमा अभिलेखबमोजिमका सामान छैनन्,’ महाशाखा प्रमुख झाले भने, ‘अभिलेखमा भएका सामान कहाँकहाँ छन् ? भनेर खोज्दै जाँदा कतिपय सामान अन्य प्रदेशमा गएको पनि देखियो । तर, सात करोड बराबरका सामान अझै गायब छन्’ तत्कालीन शाखाप्रमुखलगायत कर्मचारीउपर कारबाही अघि बढाइएको महाशाखा प्रमुख झाले बताए ।
एक दशकभन्दा लामो समय कार्कीले जिन्सी शाखाको प्रमुख भएर काम गरेको जनाइएको छ । जिन्सी शाखाबाट उनलाई हटाएर रमेश पराजुलीलाई प्रमुख बनाएपछि सामान बुझबुझारथ गर्ने क्रममा अभिलेखमा सामान देखिने तर, यथार्थमा सामान नभेटिएपछि १८ महिनाअघि नेपाल विद्युत् प्राधिकरणले छानबीन समिति गठन गरेकोथियो ।समितिसमक्ष तत्कालीन प्रमुख कार्कीले ‘सामान अन्यत्र क्षेत्रमा पठाएको तर त्यसको कागजपत्र नआएकाले हराएको देखिएको’ भनेर दाबी गरे ।
‘कागजपत्र र सामान सहीसलामत देखाउँछु’ भनेर थप समय माग गरे । छानबीन समितिले समय दियो तर, कार्कीले सामान देखाउन सकेनन् । समितिले प्राधिकरणलाई ठोस सुझाव दिन नसकेका कारणले विद्युत् प्राधिकरणले बागमती प्रदेश विद्युत् प्राधिकरण कार्यालय प्रमुख नवराज ओझा संयोजकत्वमा ३ सदस्यीय छानबीन समिति गठनगरेको हो । समितिले स्थलगत अध्ययन अनुसन्धानको साथै बुद्धकुमार कार्कीसँग बयान लिएर २ साताअघि प्राधिकरणलाई प्रतिवेदन वुझाएको छ ।
प्रतिवेदनमा दुई किसिमका इन्सुलेटर, पीसीभी केबललगायत ७ करोड रुपैयाँबराबरको सामान हराएको छ । सामान वा त्यो बराबरको मूल्य तत्कालीन जिन्सी शाखाका प्रमुखु कार्कीबाट असुलउपर गराउन समितिले प्राधिकरणलाईरायसहित प्रतिवेदन बुझाएको छ । तत्कालीन जिन्सी शाखाप्रमुख कार्की अहिले पनि हेटौंडास्थित जिन्सी शाखामा कार्यरत छन् ।उनी गत जेठदेखि कार्यालयमा नियमित ढंगले उपस्थित हुने गरेका छैनन् । २ वर्षको बीचमा २ पटक जिन्सी शाखामा आगलागी भएको छ ।तर, आगलागीमा के कति क्षतिभयो ? त्यो भने सार्वजनिक गरिएन । छानबीन समितिले सात करोड रुपैयाँबराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जितेन्द्रकुमार झाले बताए ।







