‘सामुदायिक विद्यालय प्रबिधिमैत्री हुन सकेनन्’
हेटौंडा- एस्ट्रोनोभा फाउन्डेसन नेपालले शनिबार हेटौंडामा शिक्षण सिकाई प्रक्रियामा स्टीम पेडागोजीलाई कसरी एकीकृत गरी शैक्षिक गुणस्तर हासिल गर्न सकिन्छ भन्ने विषयमा बहस गरेको छ । विद्यालयमा शिक्षण सिकाइमा काठमाडौं विश्वविद्यालयको सहकार्यमा हेटौंडाका सामुदायिक तथा निजी विद्यालयका संचालक तथा प्राचार्यहरुसँग छलफल गरेको हो । विद्यार्थीको रुचिअनुसार पढाउन सके शिक्षाको क्षेत्रमा ठुलो परिवर्तन आउने एष्ट्रोनोभा फाउन्डेसन नेपालका संस्थापक प्रमुख किसन बास्तोलाको धारणा छ ।
बास्तोलाको सभाध्यक्षतामा भएको छलफल कार्यक्रममा काठमाडौं विश्वविद्यालयका एजुकेसनका एसोसिएट डीन, प्राडा. हेमराज काफ्लेले प्रधानाध्यापकको नेतृत्व भूमिका बारे आफ्नो अनुभव सेयर गरेका थिए । म्याथम्याटिकल एशोसियसनका अध्यक्ष बिनोदप्रसाद पन्त, टिचर एजुकेटर मोटिभेस्नल स्पिकर, एजुकेस्नल एक्टिभिष्ट लिडर अभिषेक घिमिरेले सामुदायिक विद्यालयमा देखिएका समस्या तथा समाधानका उपायका बारेमा सहभागी प्रधानाध्यापक, संचालकहरुसँग सहजीकरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले शिक्षामा केही भएन भनेर शिक्षकलाई गाली मात्र गरेर सिकाई उपलब्धी नबढ्ने बताइन् । शिक्षकलाई कक्षाकोठामा उच्चमनोवलका साथ प्रबेश गर्ने वातावरण बनाउने र विद्यार्थी केन्द्रित बिधिका बारेमा स्थानीय सरकारले पर्याप्त तालिम दिन जरुरी रहेको नगरप्रमुख लामाले बताइन् ।
समयसापेक्ष शिक्षा प्रदान गर्न नसकेको खण्डमा १२ कक्षा पछि उच्चशिक्षाका लागि विद्यार्थी नेपालमा अड्याउन नसकिने उनले बताइन् । वक्ताहरुले समयसापेक्ष शिक्षाबाट नै नयाँ नेपाल, विकसित नेपालको कल्पना गर्न सकिने बताए । निजी तथा सामुदायिक विद्यालयका प्रमुख तथा प्राचार्य, विभिन्न संघसंस्थाका प्रमुख तथा संचारकर्मीको उपस्थितिमा कार्यक्रम भएको थियो ।







