बागमती प्रदेशसभा बोलाउन माग
हेटौंडा- प्रदेशसभाको बैठक अविलम्ब बोलाउन प्रदेश सरकारसँग माग गरिएको छ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारलाई प्रदेशसभा बोलाउन माग गरेको हो ।माओवादी केन्द्र संसदीय दलका नेता पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशसभा बोलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । बर्तमान सत्तारुढ दल संलग्न रहेर निर्माण भई सर्वदलीय सहमतिमा बजेट पारित भएको छैठौं महिनामा प्रवेश गरेको र पारित बजेटको कार्यान्वयन, बजेट पारित गर्दाका बखत भएका सर्वदलीय सहमति र सरकारका प्रतिबद्धताहरु तथा त्यसयता आएका बाढीपहिरोलगायत विपत्ति आदि बारेमा बागमती प्रदेश सरकारसमक्ष आफ्नो दलको तर्फबाट पेश गरिएका ज्ञापनपत्रका सवाललाइ लिएर विज्ञप्ति जारी गरिएको बताइएको छ ।
प्रदेश सरकारले जरुरी महत्वका विषयलाई निषेध गर्नुका साथै त्यससम्बन्धी आवश्यक कानूनी व्यवस्था गर्ने कार्यलाई पूर्णतः बेवास्ता गर्दै आएको आरोप लगाइएको छ । बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड अनुसार बजेट व्यवस्था भएका योजना असोज मसान्तभित्र बहुवर्षीय योजना स्वीकृत गरी प्रक्रियामा लैजानु पर्नेमा अहिलेसम्म एउटा पनि ठेक्का गर्न नसक्नु वा नगर्नु, समग्र बजेट कार्यान्वयन कछुवाको गतिमा हुनु, निर्माणकार्य सम्पन्न नभएका, म्याद गुज्रेका ठेक्काका सवालमा कुनै निर्णय नगर्नुका कारणले प्रदेशका विकास निर्माणकार्य ठप्प भएको माओवादीको जिकिर छ ।
मापदण्ड विपरितका टुक्रे आयोजनालाई नियमविपरित ठेक्कामा लैजान कर्मचारीलाई गैरकानूनी आदेश जारी गरेर प्रदेश सरकार आफैंले कानूनको उपहास गरिरहको नेता जम्कट्टेलले आरोप लगाएका छन् । ‘पारित बजेटको मर्म र भावना अनुसार बजेट कार्यान्वयन नगर्नुले विकास र सेवा प्राप्त गर्ने प्रदेशवासी नागरिकको अधिकार कुण्ठित भएको, यो सरकार बनेयता प्रदेशको आर्थिक विकास धेरै पछाडि धकेलिएको’ नेता जम्कट्टेलको भनाइ छ ।‘राष्ट्रसेवक कर्मचारीहरु मन्त्रीबाट कार्यस्थलमै दुब्र्यवहारमा परेका घटनाहरु छिपाइएको छ, कर्मचारीले असुरक्षाको महसुश गरिरहेका छन् । समग्रमा सरकार गैरजिम्मेवार र असफल हुँदै गएको छ, जुन स्थितिको अविलम्ब अन्त्य हुनुपर्दछ’ नेता जम्कट्टेलले बिज्ञप्तीमा भनेका छन् ।
बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले यीनै सवालहरु सम्बोधन गर्न बागमती प्रदेश सरकारलाई गम्भीरतापूर्वक पुनः माग गरेको छ ।बाढीपहिरोलगायत प्राकृतिकविपत्तिमा परेका नागरिकको पक्षमा तत्काल राहत र पुनस्र्थापनाका कार्यक्रम घोषणा र लागू गर्न, चालु आवको बजेटमा व्यवस्था भएका बहुबर्षीय मापदण्ड अनुसारका योजनालाई तुरुन्त ठेक्का प्रक्रियामा अगाडि बढाउन, म्याद गुज्रेका ठेक्काका सवालमा अविलम्ब उचित निर्णय गर्न माग गरिएको छ । सरकारले विकास निर्माणको क्षेत्रमा समयमै कार्य सुरु नगरेकै कारण निर्धारीत समयमा अर्थात आर्थिक वर्षको अन्तिमममा काम सम्पन्न गर्न कठिनाई हुने गरेको छ ।
‘बजेट पारित गर्दाका बखत भएका प्रतिवद्धता तथा सर्वदलीय सहमतिको कार्यान्वयन गर्न, आसोज १४ गतेको सर्वदलीय बैठकको निर्णयलाई कार्यान्वयन गर्न र कार्तिक २८ गते हाम्रो दलले बुझाएको ज्ञापनपत्रलाई सम्बोधन गर्न एवम् प्रदेशसभाको बैठक अविलम्ब बोलाउन प्रदेश सरकारसँग माग गरिएको विषय यसै प्रेस विज्ञप्तीमार्फत जानकारी गराउँदछौं’ नेता जम्कट्टेलले विज्ञप्तिमा भनेका छन् ।







