एसइइ ७ चैतदेखि, सुध्रिएन परीक्षा प्रणाली

हेटौंडा-राष्ट्रिय परीक्षा बोर्डले २०८१ को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । यस वर्षको एसईई परीक्षा चैत ७ देखि सुरु भएर चैत १९ गतेसम्म चल्नेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ ।बोर्डका अनुसार नियमित तथा ग्रेडवृद्धि दुवै समूहतर्फको परीक्षा एउटै तालिकाअनुसार एउटै समयमा हुनेछ । भने परीक्षा केन्द्रको जानकारी सम्बन्धित शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइबाट हुने बताइएको छ । परीक्षासम्बन्धी कुनै कुरा स्पष्ट नभएमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०, सानोठिमीको फोन नम्वर ०१–६६३००३९ र ०१–६६३००७० मा सम्पर्क गर्न सकिनेछ ।
परीक्षार्थीले रजिष्ट्रेशन परीक्षा आवेदन फाराम भर्ने फाराममा उल्लेख गरेको जन्ममिति र जन्म थरको हिज्जे राष्ट्रिय परीक्षा बोर्डमा उपलब्ध गराइएको कन्ट्रोल लिष्टसँग रुजु गरी फरक परेमा फरक परेको विवरण संशोधन गर्नुपर्ने अवस्थामा सम्बन्धित विद्यालयले संशोधन गर्नुपर्ने विवरण २०८२ बैशाख मसान्तभित्रमा अनिवार्यरुपमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत वा सीधै परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी पठाउन अनुरोध गरेको छ ।
प्राविधिक धारतर्फको परीक्षा शनिवार पनि सञ्चालन हुने भएको छ । पहिलोदिन अंग्रेजी, दोस्रो दिन नेपाली, तेस्रो दिन गणित, चौथो दिन विज्ञान विषयको परीक्षा हुनेछ । पाँचौँ दिन सामाजिक, छैटौँ दिन ऐच्छिक प्रथम, सातौँ दिन ऐच्छिक द्वितीयपत्रका विषयको परीक्षा हुने कार्यतालिकामा उल्लेख छ । कुनै आकस्मिक बिदा पर्न गएमा पनि परीक्षा नियमित सञ्चालन हुने बोर्डले जनाएको छ ।
२०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरे पनि बोर्डले पुरानै ढाँचामा कक्षा १० को परीक्षा सञ्चालन गर्दै आएको छ । शिक्षा ऐनले विद्यालय शिक्षाको संरचना बदलेर साविकको एसएलसीको व्यवस्थालाई परिवर्तन गरेको थियो । विद्यालयको अन्तिमपरीक्षा कक्षा १२ मा हुने ब्यवस्था छ । ऐनको दफा ४ (ट) को उपदफा १ मा माध्यमिक शिक्षाको कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा, बोर्डबाट सञ्चालन हुने र उपदफा २ मा कक्षा १० को अन्त्यमा हुने परीक्षा क्षेत्रीयस्तरमा सञ्चालन हुने उल्लेख छ । तर, संरचना निर्माण गर्न शिक्षा मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वका अधिकारीहरु ईच्छुक नहुँदा परीक्षाको शैली पुरानै निरन्तर छ ।
विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा गर्ने गरी २३ वर्षअघि नै तत्कालीन शिक्षामन्त्री देवीप्रसाद ओझाको अध्यक्षतामा गठित उच्चस्तरीय आयोगले सिफारिस गरेको थियो । यो सिफारिसमा एसएलसी परीक्षा क्रमशः क्षेत्रीय तहमा गर्न सुझाव दिइएको थियो । शिक्षा ऐनको ८ औं संशोधनले परीक्षाबारे नयाँ व्यवस्था गर्दा पनि सरकारी संयन्त्र कार्यान्वनयमा गम्भिर नदेखिनु विडम्वना मानिएको छ ।
राष्ट्रिय पाठ्यक्रम प्रारुपले विद्यार्थीले विद्यालय शिक्षा पूरा गरिसकेपछि थुप्रै सक्षमता हासिल गर्ने खालको भयो वा भएन ? भनेर हेर्ने गरेको छ । श्रमप्रति सम्मान, जिम्मेवार नागरिक, सामाजीकरणमा सहयोग गर्ने, दैनिक जीवनका समस्या समाधान गर्नेजस्ता सक्षमता भएको विद्यार्थी तयार गर्ने पा्यक्रम प्रारुपको उद्देश्य हो । सोही अनुसार विद्यार्थीलाई जोड्नुपर्ने भएकाले घरायसी कामको आधारमा परियोजना कार्यको अंक दिने व्यवस्था गरिएको बताइएको छ ।
अहिले कक्षा १ देखि ३ सम्म १०० प्रतिशत नै निरन्तर आन्तरिक मूल्यांकन हुने गरेको छ । कतिपय विद्यालयले निरन्तर आन्तरिक मूल्यांकन नगरी परीक्षा पनि लिने गरेका छन् । परीक्षा प्रणालीमा एकरुपता आउन सकेको छैन । त्यस्तै ४ देखि ८ सम्म ५० प्रतिशत आन्तरिक मूल्यांकन हुन्छ भने कक्षा ९ देखि १२ सम्म २५ प्रतिशत आन्तरिक मूल्यांकन हुने व्यवस्था छ । अहिलेसम्म विद्यार्थीले गरेको प्रोजेक्ट वर्कका आधारमा आन्तरिक मूल्यांकन हुँदै आएको छ । त्यसका लागि मापदण्ड अनुसार नै नम्बर दिने गरिएकोविद्यालयहरुले जानकारी दिएका छन् ।