चालुखर्च २० प्रतिशतले कटौती

साझाकुरा
२०८१ माघ १६, बुधबार ११:२४

हेटौंडा-बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेटमा चालुतर्फको खर्च कटौती गरेको छ । पुँजीगततर्फ चालु आवमा खर्च गर्न विनियोजित खर्चका शीर्षक र रकमलाई यथावत् राखी चालुतर्फको खर्च २० प्रतिशतले कटौती गर्ने निर्णयमा प्रदेश सरकार पुगेको हो ।बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले विपतपछिको पुनर्निर्माण लगायत कार्य गर्न चालुखर्च कटौती गरेको बताए । उनले प्रदेशका मन्त्रालय, निकाय र प्रदेश सरकार मातहतका सबै कार्यालयको चालु बजेटखर्चमा २० प्रतिशतले कटौती गर्ने गरी मन्त्रालयमा जानकारी गराइसकिएको र मन्त्रालयले मातहतका निकाय र कार्यालयमा चालुतर्फको बजेटखर्च कटौती गरी चालु आवमा खर्च गर्न सक्ने व्यवस्था गरिएको बताए ।

गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण प्रदेशका विभिन्न जिल्लामा जनधनको क्षति भएपछि चालुतर्फका शीर्षकमा विनियोजन गरिएको बजेट कटौती गर्ने निर्णयमा प्रदेश सरकार पुगेको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विपत्पछि सृजित पुनर्निर्माणलगायत समस्या सम्बोधन गर्न चालु बजेट खर्चमा कटौती गर्ने प्रदेश सरकारले निर्णय गरेको जानकारी दिए ।

उनले गत असोजको बाढीपहिरोपछि राहत, उद्दारलगायत शीर्षकमा खर्च भएको र प्रदेशमा विभिन्न जिल्लामा विपतपछि भौतिक पूर्वाधारका संरचनामा क्षति पुगेका क्षेत्रमा चालुतर्फका विभिन्न शीर्षकमा विनियोजित बजेट २० प्रतिशतले कटौती गरिएको र त्यसले तत्काल मर्मतसम्भार, पुनर्निर्माणलगायत कार्यमा खर्च गर्ने योजना अगाडि बढाइएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*