तरहराका साइकलयात्रीलाई बिदाई
हेटौंडा-तरहरा साइक्लिङ क्लब इटहरीको आयोजनामा स्वास्थ्य, पर्यावरण, पर्यटनको निम्ति साइकल भन्ने नारा लिएर महाकालीदेखि मेचीसम्म साइकलयात्रा गर्ने क्रममा सोमबार साँझ हेटौंडा आइपुगेका साइकलयात्रीलाई मंगलबार बिदाइ गरिएको छ । हिमालयन राइडर्स सोसाइटी, साइकल सिटीका सदस्यहरुले तरहराकासाइकलयात्रीलाई हेटौंडाको बुद्धचोकमा स्वागत गरेका थिए । तरहरा साइक्लिङ क्लवका अध्यक्ष रमेश भन्डारी (५७ वर्ष), सचिव सन्तोषकुमार श्रेष्ठ (४८ वर्ष), कोषाध्यक्ष प्रेम तामाङ (४२ वर्ष), सदस्य श्रीबहादुर तामाङ (३८ वर्ष) महाकाली–मेची साइकल यात्रामा सहभागी थिए । श्रीबहादुर ईटहरी नगरपालिका २० नं.वडाका वडासदस्य पनि हुन् ।
साइकलयात्री सोमबार साँझ ८ बजे हेटौंडा आईपुगेका थिए । यात्रालाई थप हौसला र उर्जा प्रदान गर्नको लागि हिमालयन राइडर्स सोसाइटी हेटौंडाले बेलुकी बुद्धचोकमा स्वागत गरेको थियो । मंगलबार एचआईडीसम्म सहयात्रा गर्दै बिदाई गरिएको सोसाइटीका अध्यक्ष राजु थापामगरले जानकारी दिए । मकवानपुर हुँदै आउने÷जाने साइकलयात्रीलाई मकवानपुर भित्र रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराउने र समय मिलेसम्म नजिकका ठाउँलाई अवलोकन गराउने कार्य गर्दै आएको अध्यक्ष थापामगरले बताए ।
२०५४ सालमा मकवानपुरका ११ जनाको टिमले मेची–महाकाली साइकलयात्रा गरेका थिए । त्यो यात्रा गरेको २५ वर्ष पूरा भएको अवसर पारेर पहिलाको टिममध्य लक्ष्मीचरण श्रेष्ठ र भानुभक्त आचार्यले दोस्रो पटक मेची–महाकाली साइकलयात्रा गरेका थिए । गतवर्ष सोसाइटीका ११ जना र बुटवलबाट २ जना गरी १३ जनाले मेची÷ महाकाली गरेका थिए । केही महिनाअघि सोसाइटीका कृष्णप्रसाद आचार्य (६९ वर्ष), पृथ्वी रायमाझी (६२ वर्ष) र बरुण खतिवडा (५७ वर्ष) ले मेची–महाकाली साइकलयात्रा गरेका थिए ।







