कार्यसम्पादनमा बागमती तेस्रो, मकवानपुरका पालिकाले कति पाए अंक ?
हेटौंडा-राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा बागमती प्रदेश सरकार तेस्रो स्थानमा रहेको छ ।सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश पहिलो बनेको छ । तेस्रो बनेको बागमती प्रदेशले कार्यसम्पादन मूल्यांकनमा ४५ दशमलव ६ अंक पाएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको तथ्यांक छ । पहिलो बनेको सुदूरपश्चिम प्रदेशले ५१ दशमलव ६ अंक पाएको छ । आर्थिक वर्ष २०७९÷८० को कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम पाँचौँ स्थानमा रहेको थियो । सुदुरपश्चिमले राम्रो सुधार गरेको हो ।
अघिल्लोपटक पहिलो भएको कोशी प्रदेश यसपटक दोस्रो भएको छ । कोशीले ५० दशमलव ९ अंक प्राप्त गरेको छ । ४१ दशमलव ६ अंक पाएको कर्णाली चौथो बनेको आयोगले सार्वजनिक गरेको तथ्यांकमा छ । ४० दशमलव ८ अंक पाएको गण्डकी पाँचौं र ३५ दशमलव ९ अंक पाएको लुम्बिनी छैटौं भएको छ । मधेश प्रदेश ३० अंक ल्याएर पुछारमा छ । आयोगले प्रदेशलाई विभिन्न १९ वटा सूचकका आधारमा कार्यसम्पादनको अंक दिएको हो ।
जसमा लेखापरीक्षण भएको रकम, कायम भएको बेरुजु, प्रदेशले स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराए÷नगराएको अवस्था, सवारीसाधन करबापत रकम सम्बन्धित स्थानीय सरकारको सञ्चित कोषमा दाखिला गरे÷नगरेको लगायत विषय छन् । वार्षिक बजेट विनियोजन तथा खर्चको स्थिति, पुँजीगत बजेट र त्यसको खर्च, राजस्व संकलनको अवस्था, स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान, तोकिएको समयमा वार्षिक बजेट समीक्षा, प्रदेशको वायुको गुणस्तर, समुदायमा आधारित वन व्यवस्थापनलगायत सूचक तयार पारी मूल्यांकन गरिएको आयोगले जनाएको छ ।
सबै प्रदेशले सूचक–२ मा शून्य अंक पाएको आयोगले जनाएको छ । यो सूचकमा प्रदेश र स्थानीय तहलाई प्रदेश कानुनबमोजिम आयोगले तोकेको आधारमा सशर्त अनुदान प्रदान गरे-नगरेको विषय उल्लेख छ । आयोगले यही कार्यसम्पादनका आधारमा प्रदेश र स्थानीय तहका लागि राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा रोयल्टी बाँडफाँट, सशर्त अनुदानको आधार एवम् आन्तरिक ऋणको सीमा निर्धारण गर्ने गर्छ ।
कार्यसम्पादन चित्त नबुझेमा एक हप्ताभित्र पुनरावलोकनका लागि निवेदन दिन पनि आयोगले आग्रह गरेको छ । स्थानीय तहहरुमा भने स्याङ्जाको कालीगण्डकी गाउँपालिका, धादिङको नेत्रावती डबजोङ गाउँपालिका, स्याङ्जाको आँधीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकालगायत कार्यसम्पादन उत्कृष्ट देखिएका छन् ।
मकवानपुरमा कुनपालिका कस्तो ?
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरुको पनि कार्यसम्पादक मूल्यांकन गरेको छ । जसमा मकवानपुरका १० वटा पालिकामध्ये थाहा नगरपालिका उत्कृष्ट बनेको छ ।थाहाले आयोगको मूल्यांकनमा ७१ दशमलव ३ अंक प्राप्त गरेको हो । आयोगको मूल्यांकनमा सबैभन्दा कम अंक बकैया गाउँपालिकाको छ । बकैयाले ४५ दशमलव ९ अंक पाएको छ ।
जिल्लामै मनहरी गाउँपालिकाले दोस्रो स्थान लिएको छ । मनहरीले ६७ दशमलव ३ अंक पाएको छ । मकवानपुरगढी गाउँपालिकाले ६७, कैलाशले ६६ दशमलव ३, राक्सिराङले ६३ दशमलव ९, हेटौंडाले ६२ दशमलव ५, बागमती गाउँपालिकाले ६०, इन्द्रसरोवरले ५७ दशमलव २ र भीमफेदी गाउँपालिकाले ५० दशमलव ७ अंक पाएको प्रतिवेदनमा उल्लेख छ ।
आयोगको मूल्यांकन रिर्पोटअनुसार अधिकांश स्थानीय सरकारबाट तथ्यांक उपलब्ध हुनै मुस्किल देखिएको छ । जसले गर्दा ती तहहरुको कार्यसम्पादन मूल्यांकनमै असर परेको छ । स्थानीय तहको प्रयोजनका लागि भने १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गरिएको हो । संघीय सरकारले विनाशर्त प्रदेश र स्थानीय तहमा पठाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्न आयोगले एक मापक कार्यसम्पादन मूल्यांकनलाई बनाएको छ ।







