मकवानपुरमा आयकर दाखिला नगर्ने करदाता घट्दो
हेटौंडा- वार्षिक आयकर विवरण र बक्यौता नबुझाउने करदातालाई लक्षित गरी आन्तरिक राजस्व कार्यालय हेटौंडाले अभियान चलाएपछि आयकर दाखिला नगर्ने करदाता (नन फायलर) करदाता घट्दै र बक्यौता संकलन बढ्दै गएको छ ।घरदैलो कार्यक्रम, एसएमएस, पत्रचाार तथा संघसंस्थासँग नियमित अन्तक्र्रियालगायत कार्यक्रम सञ्चालन गरेपछि लामो समयदेखि आयकर दाखिला नगरी ननफायलर करदाता र बाँकी बक्यौता क्रमशः घट्दै गएको हो । कार्यालयबाट व्यवसायी करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये करिब ६५ प्रतिशतभन्दा बढी करदाताले लामो समयदेखि वार्षिक आय विवरण र बक्यौता नबुझाएपछि कार्यालयले त्यस्ता करदाताको अभिलेख तयार पारेर अघि बढेको छ ।
वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरैजसो उपभोक्ता समिति, धार्मिक समिति, क्लब छन् । ‘आर्थिक वर्ष २०७९÷८० र सो भन्दा अघिल्लो आवको आय विवरण नबुझाउने करदाता बढी छन्, ‘प्रमुख करअधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘त्यसैले आय विवरण नबुझाउने करदाताको अभिलेख तयार पारेर अभियान सुरु गरेका छौँ ।’ पहिलो चरणमा घरदैलो कार्यक्रम, एसएमएस, पत्रचाार तथा उद्योग वाणिज्य संघ, सुनचाँदी व्यवसायी संघलगायत संघसंस्थासँग नियमित करदाता शिक्षा तथा अन्तक्र्रियालाई अघि बढाइएको उनको भनाइ छ ।
प्रमुख करअधिकृत सुवेदीका अनुसार चालु आव २०८१÷८२ को असारसम्ममा ‘नन फायलर’को संख्या ३२ प्रतिशतमा झार्ने लक्ष्यका साथ सुरु गरिएको अभियानका कारण माघ महिनासम्ममा नन फायलर करदाताको संख्या ५९ प्रतिशतमा झरेको छ । यस्तै केही महिना अघिसम्म ६५ करोड बक्यौता संकलन गर्न बाँकी रहेकोमा अभियान सञ्चालन भएपछि बक्यौता पनि ४५ करोडमा झरेको प्रमुख करअधिकृत सुवेदीले बताए ।
अभियानका क्रममा कार्यालयले अन्तःशुल्क ऐनअन्तर्गत इजाजत लिएका करदाताले साउन महिनाभित्र नवीकरण नगरेका दुई सय ३९ करदातालाई एसएमएस पठाएको छ । यस्तै आयकर विवरण पेस नगरी नन फायलर रहेका १० हजार दुई सय तीन करदाताको मोवाइलमा एसएमएस पठाइएको प्रमुख सुवेदीले बताए । मूल्य अभिवृद्धि कर ऐनअनुसार विवरण पेस गरी एक लाखभन्दा बढी मूल्य अभिवृद्धि कर बक्यौता रहेका करदातालाई बक्यौता दाखिला गर्न एसएमएस पठाइएको छ ।
यसबाहेक मूल्य अभिवृद्धि करतर्फ नन फायलर रहेका करदातालाई मूल्य अभिवृद्धि कर विवरण पेस गर्न प्रत्येक महिनाको २६ गते फोन तथा पत्र पठाउने गरिएको उनले बताए । यसका साथै ती करदाताको नामावलीसहित आयविवरण बुझाउन र बक्यौता असुलीका लागि पहल गरिदिन मकवानपुरका १० वटै पालिकालाई पत्राचार गरिएको प्रमुख कर अधिकृत सुवेदीले बताए । व्यावसायिक करदाता प्रमाणपत्र लिएकामध्ये कतिपयकरदाताको मृत्यु भएको, कतिपय वैदेशिक रोजगारीमा गएको र कतिपयले व्यवसायी बिक्रीगरिसकेको कारणले पनि समयमा आय विवरण नबुझाउने करदाताको संख्या बढी देखिएको हुनसक्ने उनको भनाई छ ।
दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैंक खाता र सम्पत्ति रोक्का गरिने तयारी गरिएको प्रमुख करअधिकृत सुवेदीले बताए ‘पटकपटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाउँछौँ,’ प्रमुख करअधिकृत सुवेदीले भने, ‘फागुनसम्म छुट सुविधा पनि दिइएको छ, त्यो बेलासम्म धेरै कर बुझाउँछ भन्ने हाम्रो विश्वास छ ।’ फागुन महिनासम्म पनि बक्यौता नबुझाउने करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ ।’
लक्ष्यको ८१ दशमलव ४४ प्रतिशत राजस्व संकलन
आन्तरिक राजस्व कार्यालय हेटौंडा मकवानपुरले चालु आव २०८१÷८२ को सात महिनाको अवधिमा तीन अर्ब ७० करोड ९१ लाख राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८१ दशमलव ४४ प्रतिशत संकलन भएको हो । कार्यालयप्रमुख सुवेदीका अनुसार चालु आव २०८१÷८२ को सात महिनाको अवधिमा चार अर्ब ५५ करोड ४२ लाख नौ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब ७० करोड ९१ लाख ४२ हजार राजस्व संकलन गर्न सफल भएको छ ।
यही साउनदेखि माघसम्मको अवधिमा अन्तःशुल्कतर्फ दुई अर्ब १२ करोड १६ लाख २९ हजार, आयकरतर्फ ६५ करोड ५८ लाख ८१ हजार, मूल्य अभिवृद्धि करतर्फ ५० करोड ४७ लाख ९३ हजार, स्वास्थ्य जोखिम करतर्फ ३५ करोड ६७ लाख ३१ हजार, ब्याजकरतर्फ पाँच करोड ९१ लाख तीन हजार र बहालकरतर्फ एक करोड १० लाख ६ हजार राजस्व संकलन भएको प्रमुख सुवेदीले बताए ।
प्रमुख सुवेदीका अनुसार चालु आव २०८१÷८२ मा आठ अर्ब ४४ करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्य छ । कार्यालयमा आयकरतर्फ ३३ हजार पाँच सय ९६, मूल्य अभिवृद्धितर्फ पाँच हजार आठ सय ४९, अन्तःशुल्कतर्फ एक हजार पाँच सय ९८, ‘विथहोल्ड’तर्फ सात सय ११ र व्यक्तिगततर्फका ८१ हजार आठ सय १२ करदाता रहेका छन् ।
पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋणप्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाताशिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइजस्ता कारणले राजस्व संकलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।







