प्रदेश प्रमुख र मुख्यमन्त्रीको शुभकामना सन्देश स्वार्थ त्यागेर देश निर्माणको अभियानमा दलहरु होमिनुपर्ने
हेटौंडा- बागमती प्रदेशका प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताएका छन् ।बुधबार राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश दिँदै उनले आजको दिनले इतिहासको यो गौरवशाली समय बिन्दुलाई पुनर्ताजगी गर्दै राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्नुपर्नेमा जोड दिए । फागुन ७ गतेको जगमा टेकेर आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको उनको भनाई छ ।
निरंकुशताविरुद्ध संगठित रुपमा नेपाली जनता आन्दोलनमा होमिएर जहाँनिया राणा शासनलाई परास्त गर्न सफल आजको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन भएको प्रदेशप्रमुख देवकोटाको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । आआफ्ना पार्टीगत स्वार्थलाई त्यागेर देश निर्माणको अभियानमा सम्पूर्ण राजनीतिक दलहरु होमिनुपर्ने आवश्यकतारहेको उनले सन्देशमार्फत् बताएका छन् । तर, दलहरुले भने जनभावना बिपरित कार्यमा बढी ध्यान केन्द्रित गरिरहेका छन् ।
दलहरु जुटेर नै राजनीतिक फड्को मारेकाले अब फेरि जुटेर मुलुकमा आर्थिक समृद्धि भित्राउनुपर्ने प्रदेशप्रमुख देवकोटाको भनाई छ । ‘आआफ्ना पार्टीगत स्वार्थलाई त्यागेर देश निर्माणको अभियानमा सम्पूर्ण राजनीतिक दलहरु होमिनुपर्ने आवश्यकता छ । हामीले जुटेर नै राजनीतिक फड्को मारेका छौंं अब फेरि जुटेर हामीले मुलुकमा आर्थिक समृद्धि भित्राउनु छ ।’ उनको शुभकामना सन्देशमा भनिएको छ, ‘फाल्गुन ७ को जगमा टेकेर आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । आजको दिनले इतिहासको यो गौरवशाली समय बिन्दुलाई पुनर्ताजगी गर्दै राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्न हामी सबैलाई प्रेरित गर्दछ ।’
प्रदेशप्रमुख देवकोटाले विश्वमा भएका द्रुतगतिका परिवर्तनको लहर र नेपाली जनताको अपेक्षालाई आत्मसात् गरेर अघि बढ्नुबाहेक अर्को कुनै विकल्प नभएको जिकिर गरे । स्वतन्त्र र समतामूलक समाज निर्माणमा अघि बढ्न आजको दिनले थप प्रेरणा र हौसला दिने विश्वास प्रदेशप्रमुख देवकोटाले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ ।यसैगरी मुख्यमन्त्री बहादुरसिंह लामाले संघर्ष र आन्दोलनहरुबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।
मुख्यमन्त्री लामाले प्रजातन्त्रलाई संस्थागत गर्नका लागि संविधान सभाबाट लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई कार्यान्वयनतर्फ अग्रसर रहेको जिकिर गरे । सोही अनुसार संघीयता कार्यान्वयन गर्दै गठन भएको बागमती प्रदेश सरकारले विकास निर्माण तथा आर्थिक समृद्धिको काम अघि बढाएको उनले बताए । ‘हामी विगत सात दशक यताका सबैखाले संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनको चरणमा छौं । यसको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहेको छ’ उनले सन्देशमा भनेका छन् ।
प्रदेशप्रमुख देवकोटा र मुख्यमन्त्री लामाको सन्देश ब्यवहारमा कार्यान्वयन हुन नसकेकोमा नागरिक स्तरमा चिन्ता बढेको छ । राजनीतिक दलको सत्तामोह र ब्यक्तिगत स्वार्थका कारण मुलुकमा अब केही गर्न सकिन्न भन्ने भाष्य खडा भएको अवस्था छ । युवा पलायन, विद्यार्थी पलायनले मुलुकको संकट गहिरिंदै गएको छ । प्रजातन्त्र वा लोकतन्त्र ल्याउनका लागि रगत र पसिना बगाउने युवाले स्वदेशमा कुनै सम्भावना देख्न छोडेका छन् ।







