१६ करोड रुपैयाँ बढी लागतका आयोजनालाई बहुवर्षे ठेक्कामा स्वीकृत
हेटौंडा-बागमती प्रदेश सरकारले १६ करोड रुपैयाँभन्दा बढी लागतका आयोजनालाई बहुवर्षे ठेक्कामा स्वीकृत गरेको छ ।यस्ता आयोजनालाई बहुवर्षीय ठेक्का प्रणालीमार्फत् तीन वर्षभित्र सक्ने गरी बजेट विनियोजन समेत हुने बागमती प्रदेशको नीति तथा योजना आयोगले जनाएको छ । चालू आर्थिक वर्ष २०८१÷८२ मा २३ वटा आयोजना बहुवर्षे ठेक्काका लागि पहिचान भएका छन् । बजेट छुट्याएको वर्ष समयमा ठेक्का नलाग्दा काम नसकिने र अर्को वर्ष बजेट नै विनियोजन नहुँदा आयोजना नै अलपत्र हुने समस्या बढ्दै गएपछि धेरै लागतका आयोजनाको पहिचान गरी बहुवर्षे ठेक्का प्रणालीबाट काम गर्ने निर्णय भएको आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले बताए ।
१६ करोडदेखि ३० करोडसम्म लागतका आयोजना छनोट गरिएको र कुल चार अर्ब १६ करोडभन्दा बढी रकम विनियोजन भएको आयोगले जनाएको छ । बहुवर्षे ठेक्काका लागि श्रम रोजगार तथा यातायात मन्त्रालय, आन्तरिक मामिला मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयलगायत निकायमातहतका २३ आयोजना छनोट भएको उनले बताए । उनका अनुसार सबैभन्दा धेरै सडक पूर्वाधार बहुवर्षेका लागि छनोट भएका छन् । सुनखानी मोहडा कमलामाई (सिन्धुली)मा २९ करोड र सिन्धुलीकै भीमस्थान चकमके हुँदै उदयपुर–कटारी सडक दोस्रो खण्डका लागि २५ करोड स्रोत सुनिश्चितता गरिएको छ । त्यस्तै, खाग्दल–दोभान–घर्तीटोल–बाह्रबिसे सिन्धुपाल्चोकबाट मथली–दोलन्सा खण्डमा २४ करोड, चाबहिल–साँखु हुँदै फट्केश्वर–सिन्धुपाल्चोकमा १६ करोड, पाँचपोखरी–थाङपाल सडक, मेलम्ची–भोताङ सडकमा पनि १६ करोड स्रोत सुनिश्चित गरिएको उपाध्यक्ष नेपालले जानकारी दिए ।
मुडे–मेलुङ–शीतली सडक, (दोलखा), त्रिशूली–सोले–मनकामना–काहुले–साल्मे–किम्ताङ सडक (नुवाकोट), भिरकोट–झुले–छौडे सडक (बैतेश्वर), तामाकोशी–दोलखा सदरमुकाम, दामन–पाख्रिन मार्गलगायतका सडक आयोजना बहुवर्षेमा परेका छन् । श्रम रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत गुर्जुधारामा भवन निर्माण गर्ने र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तगर्त पूर्वी राप्तीखोला तटबन्ध लोथर दोभानदेखि सौराहासम्म मर्मत कार्य) का लागि स्रोत सुनिश्चित गरिएको नेपालले जानकारी दिए ।
धादिङ जिल्लाकोे सदरमुकामबाट उत्तरीक्षेत्रका बिकट बस्ती जोड्ने मुख्य मार्गको रुपमा रहेको धादिङबेसी–साङकोष–तिप्लिङ सडकखण्डलाई दामन पाख्रिन मार्गको रुपमा विकास गरिने भएको छ ।
नेपाली काँग्रेस धादिङका संस्थापक एवम् तत्कालीन सभापति दामन पाख्रिनको स्मृतिमा धादिङबेसी–साङकोष–तिप्लिङ (रुबीभ्याली) सडक खण्डलाई दामन पाख्रिन मार्ग घोषणा गरिएको हो । धादिङको साबिक सत्यदेवी गाविसका पाख्रिन २०४७ सालमा धादिङ क्षेत्र नम्बर १ वाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । नेपाली काँग्रेस धादिङका सभापति पाख्रिनको योगदानलाई सम्झना गर्दै यो सडकको नाम दामन पाख्रिन मार्ग राखिएको हो ।
उत्तरी धादिङको ग्रामीणक्षेत्रको विकासको लागि सक्दो पहल गर्ने बागमती प्रदेश सरकारका मन्त्रीहरुले बताएका छन् । मुलुकको संघीय र प्रादेशिक राजधानीसँग सीमा जोडिएको धादिङ जिल्लाको
उत्तरी क्षेत्रका साबिक पाँच गाविसमा अहिलेसम्म सडक सञ्जाल विस्तार हुन सकेको थिएन । सडक सुविधाले नछोएका कारण धादिङको उत्तरी क्षेत्रका विकटका बस्तिका बासिन्दाले शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, सिंचाईं जस्ता विकासका पूर्वाधारवाट टाढा रहनु परेको थियो ।







