गौरीटार रंगशालाको स्वरुप फेरियो

हेटौंडा- २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गौरीटार रंगशालामा केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माणको शिलान्यास गरेका थिए । एक दशक भन्दा लामो समयसम्म रंगशाला सरकारको उपेक्षामा रह्यो । २०७४ सालमा देश संघीय संरचनामा गएसँगै रंगशाला केन्द्रीय सरकार वा प्रदेश सरकार कसको मातहातमा रहने भन्ने विवाद नटुगिंदा निर्माणकार्य अलपत्र परेको थियो । तर, रंगशाला प्रदेश मातहात नै आउने भएपछि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले रंगशाला निर्माणको कामलाई अगाडि बढाइएको थियो । प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाउँदै लगानी गर्नुका साथै प्रदेश खेलकुद विकास परिषद्ले अपनत्व लिएपछि खेलकुदको संरचना निर्माणको कामले तीव्रता पाएको हो । अहिले रंगशालाको स्वरुप नै फेरिएको छ ।
गौरीटार रंगशालामा अहिले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला, पौडीपोखरी र फुटबल रंगशालालगायत खेलका पूर्वाधार तीव्रगतिमा निर्माण भइरहेका छन् । प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपेन्द्र लामाका अनुसार प्रदेश सरकारको २० करोड रुपैयाँ लगानीमा पौडीपोखरी र क्रिकेटरंगशालाको संरचना निर्माण तीव्रगतिमा भइरहेको छ । आगामी असारसम्म निर्माण सम्पन्न गर्नेगरी दुईवटा ठूला साना पौडीपोखरी निर्माणकार्य अन्तिमचरणमा पुगेको छ ।
८ करोड ६२ लाख ६१ हजारमा स्विमिङ पुल निर्माणका लागि प्रदेश सरकारले पीएम–एसकेसी जेभी कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । यस्तै, क्रिकेटमैदान निर्माणका लागि एसएसपी–एचकेसी जेभीले ११ करोड ७४ लाखमा सम्झौता भएको थियो । ‘पछिल्लो समय पौडीपोखरीको निर्माण सम्पन्न हुने चरणमा छ, सम्भवतः यही आर्थिक वर्षभित्र सम्पन्न हुन्छ होला’ सदस्यसचिव लामाले भने ‘क्रिकेट पिचमा पनि दुबो रोप्ने काम र पेभेलियन निर्माण काम केही दिनमै सुरु हुनेछ ।’ क्रिकेट रंगशालाको पहिलोचरणमा ११ करोड ७४ लाख रुपैयाँको लगानीमा मैदान र प्यारापिट निर्माण गरिएको छ ।
ग्राउण्डमा दुबो लगाउने काम बाँकी रहेको छ भने, पिच, स्कोरबोर्ड, भिभिआइपी कक्ष, खेलाडी चेंजिङ रुम, ब्रोडकास्टिङ र मिडियाकक्षजस्ता संरचना निर्माणको योजना रहेको छ । सदस्यसचिव लामाको अनुसार प्यारापिट सहितको फुटबलमैदान तयार भइसकेको छ । इन्डोर खेलको लागि पनि इन्डोर कभर्डहल बनाउने चरणमा रहेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । २३ विघा क्षेत्रफलमा फैलिएको गौरीटार रंगशालाको पूर्ण निर्माणपछि यहाँ राष्ट्रिय तथाअन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने सम्भावना रहेको छ । यसले खेलप्रेमीहरुमा ठूलो उत्साह थपेको छ ।
एन्फाका केन्द्रीय सदस्य समेत रहेको जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामाले खेलमैदान व्यवस्थित हुन जरुरी रहेको बताए । ‘खेलमैदानले खेलकुदको विकासमा ठुलो भूमिका निर्वाह गर्दछ’ उनले भने । भौतिक संरचनाको विकास नभई खेलकुदको पनि विकास हुन नसक्ने उनको बुझाई छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बन्दप्रशिक्षणमा राख्ने उद्देश्यसहित निर्माण गर्न लागिएको यस रंगशालामा फुटबल, भलिबल, क्रिकेटमैदान, पौडीपोखरी, छात्रावास, प्रशासनिक भवनलगायतको संरचना निर्माण गर्ने परिषद्को योजना छ ।
हेटौंडामा हुने फुटबल प्रतियोगिता हेटौंडा उपमहानगरपालिका–४, स्थित फरेष्ट्री क्याम्पसको चौरमा हुने गरेको थियो । हेटौंडा उपमहानगरपालिका–५ स्थित पिप्लेक्याम्प मिनी रंगशालामा पनि प्रतियोगिता भए । तर, सुविधा सम्पन्न र रंगशाला प्रचारप्रसार गर्न भन्दै फुटबल संघले २०८० माघ १६ गतेदेखि २७ गतेसम्म गौरीटार रंगशालामा मकवानपुर गोल्डकपको आयोजना गरेको थियो । पुरुष गोल्डकप घाटामा गएपनि संघले यसैवर्ष २०८२ वैशाख १९ गतेदेखि सातौं शहिदस्मृति स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्दैछ ।
हेटौंडामा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता–२०३९ हुने समयमै गौरीटारमा अत्याधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने घोषणा गरिएको थियो । चार दशक अघि गौरीटार रंगशालामा खेलकुदको अभ्यास गर्ने सपना देखेका कतिपय खेलाडीले यो संसारबाट बिदा लिइसकेका छन् । कतिपय खेलाडीले खेलजीवनबाट सन्यास लिइसकेका छन् । खेलाडीका लागि प्रशिक्षण, अभ्यास तथा प्रतिस्पर्धा सञ्चालन गर्न, युवापुस्तामा खेलप्रतिको लगाव बढाउनका लागि यो रंगशाला बहुउपयोगी बन्ने अपेक्षा प्रदेशबासीमा रहेको छ ।
समयमै संरचना निर्माणकार्य पूरा गरेर खेलक्षेत्रलाई चलायमान बनाउनसके गौरीटार रंगशाला वास्तवमै प्रदेशकै गौरव बन्नेमा दुईमत छैन । पछिल्लो समय प्रादेशिक संरचनामाथि नै प्रश्न उठिरहेको समयमा प्रदेश सरकारकै अगुवाई हुने यस्ता कामले ती प्रश्नहरुलाई पक्कै पनि निर्मुल पार्ने देखिन्छ ।