बागमतीका मन्त्रीहरुको कार्यसम्पादन समीक्षा: मन्त्रीको कार्यसम्पादन सन्तोषजनक रहेको मन्त्री काफ्लेको दाबी

हेटौंडा- बागमती प्रदेश सरकारको कार्यसम्पादनमा अर्थ मन्त्रालय र कर्मचारीका कारण समस्या भएको बताइएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माणका लागि बनेको दलीय कार्यदलको आयोजनामा मंगलबार भएको समीक्षा बैठकमा सहभागी मन्त्रीहरुले कर्मचारी व्यवस्थापन समस्या हुँदा कार्यसम्पादन कमजोर भएको बताएका हुन् । उनीहरुले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले अनावश्यक रुपमा फाइल रोक्ने काम गरेकाले काम अघि बढाउन समस्या भएको बताएका थिए । अर्थमन्त्रीले बजेट कार्यक्रम कार्यान्वयन तथा विभिन्न योजनाको फाइल स्वीकृतिका लागि पठाउँदा रोक्ने काम गरेको मन्त्रीहरुले गुनासो गरेका थिए ।
धेरै मन्त्रीहरुको गुनासो र समस्या आएको थियो । विषेशगरी अर्थ मन्त्रालयबाट सहयोग नभएको गुनासो बढी आयो । अर्थ मन्त्रालयले समयमा नै फाइलहरु स्वीकृत नगर्दा, लामो समयसम्म अड्काएर राख्दा समस्या भएको मन्त्रीहरुको गुनासो आएको मन्त्रीहरुले बताए । विपद् व्यवस्थापन तथा अन्य योजनाको रकमान्तर तथा बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा स्वीकृत गर्न प्रस्ताव तयार गरी पठाउँदा अर्थमन्त्रीको गृहजिल्लामा कति बजेट पठाउने भन्दै बार्गेनिङ गरेको गुनासो आएको छ ।
बजेट कार्यान्वयन तथा विकास निर्माणका काममा अर्थमन्त्रीबाट सहज वातावरण तयार नभएको मन्त्रीहरुको गुनासो रहेको बैठकमा सहभागीहरुले बताए । बैठकमा अधिकांश मन्त्रीहरुले अर्थमन्त्रीका कारण काम गर्न असहज भएको बताएका थिए । बैठकमा कार्यदलमा सहभागी संसदीय दलका नेता तथा सचेतकहरुले पनि अर्थमन्त्रीले मनोमानी ढंगबाट अघि बढेको बताएका थिए । उनीहरुले साझेदारी सरकारमा सहमतिअनुसार अघि बढ्नु पर्ने भएपनि अर्थमन्त्री फरक ढंगबाट चल्ने गरेको आरोप लगाएका थिए ।
बैठकमा मन्त्रीहरुले कर्मचारी व्यवस्थापन नहुँदा पनि काम गर्न समस्या भएको बताएका थिए । संघीय सरकारले तारान्तर सचिवहरु फेर्ने, कर्मचारीहरु जिम्मेवार नबन्ने, गम्भीरताका साथ काम नगर्ने समस्याका कारण कार्यसम्पादनमा कठिनाइ भएको बताएका थिए । बैठकमा आगामी आर्थिक वर्षको बजेट निर्माणमा तोकिएको सिलिङका सन्दर्भमा पनि मन्त्रीहरुले असन्तुष्टि व्यक्त गरेका थिए । यो विषयमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले विगतमा भएका कमीकमजोरी सुधार गरेर अघि बढ्ने बताएका थिए ।
बैठकपछि प्रतिक्रिया दिंदै मन्त्री काफ्लेले नीति नियमसंगत ढंगबाट मन्त्रालयहरुले काम गरेको बताए । प्रदेश सरकारले विगतको समस्या हलगर्दै आमनागरिकको हितमा काम गरेका उनले बताए । सरकारको रफ्तार निरन्तर बढी रहेको र सरकारका मन्त्रीको कार्यसम्पादन समग्रमा सन्तोषजनक रहेको उनको भनाई छ । मन्त्री काफ्लेले सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटलाई व्यवस्थित गर्ने विषयमा मन्त्रालयले काम गर्नुपर्ने धारणा आएको बताए । सरकारको राजस्व संकलन, राजस्व चुहावट नियन्त्रणमा मन्त्रालय र कर्मचारीहरु गमिभर भएर लाग्नु पर्ने उनको सुझव थियो ।
आगामी आर्थिक वर्षको बजेटको तालमेलको विषयमा मन्त्रालय, मन्त्री र दलका नेताबीच छलफल गरिएको उनको भनाई छ । मन्त्री काफ्लेको अनुसार आर्थिक प्रगति प्राप्तिका लागि अर्थ मन्त्रालयले निर्देशनात्मक भूमिका खेलेको छ । साथै राजस्व चुहावटको विषयलाई लिएर विज्ञ समितिको प्रतिवेदनमाथि समीक्षा भएको छ । समीक्षा बैठकमा हालसम्म प्रदेशसरकारले सम्पादन गरेका कामकारबाही, आगामी नीति योजना, मन्त्रालयगत प्रगति र मुख्यतया बजेट सीमाका विषयमा छलफल गरिएको कांग्रेस संसदीय दलका उपनेतारामकृष्ण चित्रकारले बताए ।
उपनेता चित्रकारका अनुसार पछिल्लो समय सरकारको भौतिक तथा वित्तीय प्रगति वृद्धि भइरहेको छ । सरकारको बजेट रकम हरेक आर्थिक वर्षमा घटिरहेको अवस्थामा नागरिक केन्द्रित भएर आगामी बजेटलाई कसरी बढाउने भन्ने विषयमा छलफल गरिएको उनले बताए । मन्त्रालयले लक्ष्य अनुरुपको राजस्व रकम उठाउन पहलकदमी चाल्न निर्देशन गरिएको उनले बताए । बैठकले चालू आर्थिक वर्षको चैतसम्ममा बागमतीमा सरकारको कार्यसम्पादन सन्तोषजनक रहेको निष्कर्ष निकालेको उनले बताए ।बैठकमा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासहित मन्त्रीहरु, एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, कांग्रेस संसदीय दलका उपनेता चित्रकार, प्रमुखसचेतक गोविन्द लम्साल, एमाले संसदीय दलका सचेतक मदुसुदन पौडेल लगायतको सहभागिता रहेको थियो ।