बजेटमा स्थानीय र प्रदेशको प्राथमिकता एउटै हुनुपर्छः मन्त्री काफ्ले

साझाकुरा
२०८२ बैशाख १८, बिहीबार ११:५७

हेटौंडा- बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेटमा स्थानीय र प्रदेश सरकारको प्राथमिकता एउटै हुनुपर्ने बताएका छन् ।बुधबार आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट तर्जूमाको सम्बन्धी स्थानीय सरकारसँगको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री काफ्लेले विगतमा स्थानीय र प्रदेश सरकारको तालमेल नमिल्दा बजेटको सही सदुपयोग हुन नसकेको बताए । दुबै सरकारको एकै प्राथमिकता हुनेगरी आगामी वर्षको बजेट विनियोजन हुनुपर्नेमा उनको जोड थियो । मन्त्री काफ्लेले अलपत्र योजनालाई निर्माण प्रक्रियामा लैजानको लागि सरकारको गम्भीर रहेको दाबी गरे।
उनले आगामी बजेटको प्राथमिकतामा त्यसतर्फ काम गर्ने विश्वास दिलाए । स्थानीय सरकारले आगामी योजना निर्माण गर्दा उत्पादन र रोजगारसँग जोडेर निर्माण गर्नुपर्नेमा मन्त्री काफ्लेले निर्देशन दिए । यसअघि प्रदेश सरकारले स्थानीय सरकारलाई दिएका अनुदानहरु चुहावट भएकाले त्यसले सरकारको आयदर उकास्न नसकेको उनले बताए । आगामी बजेट उत्पादनमुखी नभए वा बजेटको स्रोत सुनिश्चिता नभए सरकारको अर्थतन्त्र खस्किने मन्त्री काफ्लेको भनाई रहेको छ ।

संविधानमा उल्लेख भएका मौलिकहकको सदुपयोग गरी उत्पादनमुखी विकासमा दुई तहको सरकार जोडिनुपर्ने उनको भनाई छ । मन्त्री काफ्लेले बागमती प्रदेशको पहिलो प्राथमिकता उत्पादनमूखी बजेट निर्माण गर्नु रहेको रहेको उल्लेख गरे । कार्यक्रममा मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले आगामी बजेटलाइ स्थानीय सरकारमैत्री बनाउन प्रदेश सरकारले जोड दिने बताए । सरकारले आगामी नीति तथा योजनामा परियोजना बैंक अवधारणालाई लागू गरेर अघि बढ्ने उनले बताए । निर्माण सम्पन्न भएका तर, अलपत्र रहेका योजनालाई आगामी बजेटले सम्बोधन गर्ने सचिव मैनालीको भनाई छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले आगामी नीति योजनामा बागमती प्रदेश सरकारले प्रशासनिक भवन निर्माणमा जोड दिनुपर्ने कुरामा गम्भीर ध्यानाकर्षण गराइन् । करिब ८ वर्ष अघि स्थानीय सरकारले जग्गा उपलब्ध गराइसकेको तर, हालसम्म पनि प्रदेश सरकारले भवन निर्माण गर्न नसकेकोमा त्यसलाई गम्भीरतापूर्वक ध्यानमा राखि सरकार सञ्चालन गर्नुपर्ने उनले बताइन् । सरकारले लागत सहभागितामा अबको विकास योजना तय गर्नुपर्ने नगरप्रमुख लामाले उल्लेख गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*