स्वदेशमै स्वरोजगार र उद्यमशीलताको सम्भावना छः मन्त्री श्रेष्ठ
हेटौंडा- बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले स्वदेशमै स्वरोजगार र उद्यमशीलताको सम्भावना रहेको बताएका छन् । स्वदेशी हातेकागज उत्पादन तालिमको उद्घाटन मन्त्री श्रेष्ठले यो कुरा बताएका हुन् ।तालिम बागमती प्रदेश सरकारअन्तर्गत उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरको आर्थिक सहयोग र जिल्ला लघुउद्यमी समूह संघ (डिमेगा) मकवानपुरको आयोजनामा सञ्चालनमा ल्याइएको हो । मन्त्री श्रेष्ठले तालिमको औपचारिक उद्घाटन गर्दै भने, ‘यो तालिम देखावटी प्रमाणपत्रका लागि होइन, उद्यमशील युवा उत्पादन गर्ने कार्यथलो हो । प्रशिक्षार्थीले तालिमपछि घरमै बसेर १ लाखदेखि डेढ लाखसम्म आम्दानी गर्न सक्नेछन् ।’
तालिमपछि पालिकाले व्यवसाय थालनीका लागि सहुलियत ऋण, बैंक ब्याज तिर्ने, बीमा गरिदिने र बजार व्यवस्थापनमा साथ दिने प्रतिवद्धता समेत मन्त्री श्रेष्ठले जनाए । ‘अब विदेश जानु पर्दैन, आफ्नै गाउँघरमा उद्यम सुरु गर्न सकिन्छ,’ मन्त्री श्रेष्ठको भनाइ थियो । तालिममा केराखेती, हातेकागज उत्पादन र अन्य नगदेबालीको सम्भावना समेटिएको छ । लागूऔषधको वैकल्पिक खेतीका रुपमा नगदेबाली र बोटबिरुवाबाट कागज उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बिनातालिम सञ्चालन गरिएका उद्योग प्रायः असफल हुने भन्दै तालिम, रोजगारी र उत्पादनलाई एकसाथ अघि बढाउने ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानसँग जोडिएको बताए । गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङले तालिमले विशेषगरी चेपाङबस्ती तथा अन्य जोखिममा परेका समुदायलाई लक्षित गरी स्वरोजगारको अवसर सिर्जना गर्ने बताए । ‘अब करको डरले लागूऔषध खेती होइन, आम्दानी दिने केरा खेती र कागज उत्पादन जस्ता वैकल्पिक उद्योगतर्फ मोडिनुपर्छ,’ उनले बताए ।
उनले घट्दो बजेट र नीति निर्माणको कमजोरीका कारण केही समस्या भएपनि पालिकाले तालिमपछि व्यवसाय गर्न चाहनेलाई बैंक ब्याज, बीमा तथा बजार व्यवस्थापनमा आवश्यक सहयोग गर्ने स्पष्ट पारे । कार्यक्रम जिल्ला लघुउद्यमी संघका अध्यक्ष दीपेन्द्र रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य कार्यालयका प्रतिनिधिको समेत उपस्थिति थियो ।







