विषादि मलको प्रयोगलाई न्युनीकरण गर्नुपर्छः मन्त्री श्रेष्ठ
हेटौंडा- बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले विषादि मलको प्रयोगलाई न्युनीकरण गर्नुपर्ने बताएका छन् । मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा भएको आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि वार्षिक योजनातर्जूमा गोष्ठी कार्यक्रममा मन्तव्य राख्दै मन्त्री श्रेष्ठले प्रांगारिक मलको प्रयोगमा जोडदिने खालका योजना समेट्ने बताए । बढ्दो विषादियुक्त रासायनिक मलको प्रयोगले खेतीबाली तरकारी खानयोग्य नभएकाले किसानले जैविक मल प्रयोगमा जोड दिनुपर्ने उनको भनाई छ । बागमती प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा रासायनिक मलको विकल्पमा प्रांगारिक मलको प्रयोग गर्ने पालिकालाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिने कार्यक्रम ल्याउने बताए ।
‘बागमती सरकारले आगामी आर्थिक वर्षमा प्रांगारिक मल प्रोत्साहन अनुदान कार्यक्रम आयोजना गर्छ । हरेक जिल्लाले प्रांगारिक मल बनाउन सुरु गर्ने हो भने बागमती सरकारले त्यसमा बजेट विनियोजन गरी प्रोत्साहनमा जोड दिन्छ । त्यसमा प्रत्येक जिल्लाका मेयरले चासो देखाउनु आवश्यक छ’ उनले बताए । मन्त्री श्रेष्ठले जैविक मल उत्थानका लागि विषादि नियन्त्रण गर्न आवश्यक योजना बनाउने प्रतिबद्धता व्यक्त गरे । आयात हुने विषादियुक्त रासायनिक मलको रोकावट गरेर अगाडि बढ्दा देशको जैविकखेतीले ठुलो लाभ लिने उनले दाबी गरे ।
मन्त्री श्रेष्ठले दैनिक उपभोग गरिने बजारमा उपलब्ध तरकारीको गुणस्तर जाँचका लागि आवश्यक प्रविधि भित्राउन आवश्यक रहेको बताए । दैनिक विषादियुक्त खाद्यान्न उपभोगले नागरिकको स्वास्थ्यमा गम्भीर प्रभाव परिरहेकाले यसप्रति सबै उत्तरदायी हुनुपर्ने उनको भनाई छ ।







