अन्जनाको उत्कृष्टतामा एपीएफले महिला गोल्डकपको उपाधि जित्यो

हेटौंडा- सातौं सहिदस्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।हेटौंडा–६ स्थित गौरीटार रंगशालामा बिहिबार भएको फाइनल खेलमा अर्का विभागीय टोली नेपाल पुलिसलाई टाइब्रेकरमा ३–१ लेपराजित गर्दै एपीएफले उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । एपिएफका लागि टाइब्रेकरमा गीता रानामगर, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गरिन् । रश्मिकुमारी घिसिङको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले सेभ गरिन् । पुलिसका लागि गोलरक्षक उषाले मात्रै गोल गरिन् ।
पुलिसकी कप्तान निरु थापाकी प्रहार एपिएफकी गोलरक्षक अञ्जना राना मगर सेभ गरिन् । रेविका पाण्डेकी प्रहार गोल्डपोष्टमा ठोकिएर फर्किए भने सुस्मा तामाङको प्रहार बाहिरियो । फाइनल खेलको प्लेयर अफ दि म्याच एपीएफकी गोलरक्षक अन्जना रानामगर घोषित भइन् । उनले नगद १० हजार पनि प्राप्त गरिन् । उपाधिसँगै एपीएफले पाँच लाख सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी उपबिजेता बनेको पुलिसले नगद ३ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी रश्मि घिसिङ घोषित भइन् । उनले स्कुटर प्राप्त गरिन् । उनले वीरगंजविरुद्धको खेलमा ५ गोल र संकटाविरुद्धको खेलमा ३ गोल गरेकी थिइन् । उनलाई बागमती प्रदेशसभाका सदस्य ईन्द्रबहादुर बानियाँले स्कुटर प्रदान गरेका थिए । एपिएफका क्रमशः उत्कृष्ट गोलरक्षक अञ्जना रानामगर, उत्कृष्टमिडफिल्डर रेनुका नगरकोटी र प्रशिक्षक जिवेशकुमार पाण्डे घोषित भए । यस्तै पुलिसकी मिना देउवा उत्कृष्ट फरवार्ड र डिफेन्डर समीक्षा घिमिरे घोषित भइन् । विधागत सबैले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना बैशाख १९ गतेबाट सुरु भएको प्रतियोगितामा पुलिस रौतहटको महिला टिमलाई ४–२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा चितवनको महिला टिमलाई ७–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । यस्तै एपीएफ वीरगंजलाई १२–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा संकटालाई २–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । एन्फा केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाको सभाध्यक्ष तथा प्रदेशसभा सदस्य बानियाँको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रजिअ स्किम श्रेष्ठ, हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामालगायतको उपस्थिति थियो ।