बागमती प्रदेश सरकारको विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकता पेश
हेटौंडा-बागमती प्रदेश सरकारले विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकता पेश गरेको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सिद्धान्त र प्राथमिकता पेश गरेका हुन् । प्रदश सरकारको दोश्रो आवधिक योजनाले लिएका सोच, लक्ष्य, रणनीति र प्राथमिकतालाई कार्यान्वयन गर्न बजेट तर्जुमा गरिने मन्त्री काफ्लेले बताए ।
नेपालको संविधानमा उल्लेख भएका मौलिकहक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु, प्रदेश सरकारको अधिकारको क्षेत्रहरु र प्रदेश सरकारको दोश्रो आवधिक योजनाले लिएका सोच, लक्ष्य, रणनीति र प्राथमिकतालाई कार्यान्वयन गर्ने गरी आगामी वर्षको बजेट तर्जुमा गरिने मन्त्री काफ्लेले बताए । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको संस्थागत क्षमता विकास गरिने उनको भनाई छ ।
समाजवादउन्मुख र समृद्ध अर्थतन्त्र निर्माण गर्नेतर्फ आगामी आर्थिक वर्षको बजेट निर्देशित रहने मन्त्री काफ्लेले बताए । उनका अनुसार प्रदेशभित्र स्वदेशी तथा विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने गरी बजेट तर्जुमा गरिनेछ । आगामी वर्ष उत्पादन, उत्पादकत्व वृद्धि र आर्थिक तथा सामाजिक पूर्वाधारको विकासमा निजीक्षेत्रको भूमिकालाई जोड दिने कार्यक्रम सञ्चालन गरिने उनले बताए । प्रदेश गौरवका आयोजना, क्रमागत आयोजना र अधुरा योजनालाई समयमै सम्पन्न गर्ने गरी बजेटको व्यवस्था गरिने मन्त्री काफ्लेले बताए ।
‘पूर्वतयारी सम्पन्न भएका आयोजनालाई आयोजक बैंकमा समावेश गरी प्राथमिकताको आधारमा बजेट विनियोजन गरिनेछ’ मन्त्री काफ्लेले बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्ष राजश्व संकलन र आन्तरिक आय अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । प्रदेशको आन्तरिकआयमा सहयोग पुग्ने क्षेत्रमा लगानी बढाउन आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने उनको भनाई छ । प्रदेश सरकारले स्थानीय तहलाई दिइने वित्तीय हस्तान्तरणमा समानीकरण अनुदानलाई प्राथमिकता दिइने उनले बताए ।
स्थानीय तहमा हस्तान्तरण हुने सशर्त, समपुरक तथा विशेष अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन आयोजनाको नियमित अनुगमन र आवधिक मूल्याङकन गरिने उनले बताए । कृषिक्षेत्रलाई प्राथमिकतामा राखी कृषिजन्य वस्तुको उत्पादन तथा उत्पादकत्व अभिवृद्धिको लागि कृषिक्षेत्रमा आधुनिकीकरण गर्ने कार्यक्रमलाई प्राथमिकता दिने मन्त्री काफ्लेले बताए । ‘माटोको उर्वराशक्ति अभिवृद्धिको लागि जैविकमलमा आधारित खेतीलाई प्रोत्साहित गर्दै कृषिजन्य जमिनमा सिंचाई सुविधा विस्तारको लागिबजेटविनियोजन गरिनेछ’ उनले भने, ‘संघीय सरकार र स्थानीय तहसँग समन्वय र सहकार्य गरी कृषिउपजको उत्पादन, सुरक्षित भण्डार, प्याकेजिङ तथा बजारीकरण गरिनेछ ।
कृषिलाई उत्पादन र उत्पादनलाई उद्योगसँग जोड्दै रोजगारी र आयआर्जनवृद्धिमा निजीक्षेत्रलाई आकर्षित गरिने उनले बताए । मन्त्री काफ्लेले गुणस्तरीय शिक्षा र शैक्षिकक्षेत्रको विकासको लागि स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक विद्यालयको संस्थागत विकासमार्फत् शैक्षिक गुणस्तरमा सुधार गरिने बताए । परम्परागत ज्ञान र प्रविधिको संरक्षण र आधुनिकीकरण, वैज्ञानिक शिक्षा प्रणालीको लागि बागमती प्रदेश विश्वविद्यालयको पूर्वाधारमा विकास गरिने उनले उल्लेख गरे ।
मन्त्री काफ्लेले स्वास्थ्य क्षेत्रको विकासलाई बहुआयमिकरुपमा अगाडि बढाउँदै प्रादेशिक अस्पताल एवम् स्वास्थ्य संस्थामा पूर्वाधारको विकास गरिने कार्यक्रमलाई प्राथमिकता दिइने उल्लेख गरे । उनका अनुसार आगामी वर्ष सार्वजनिक निजी साझेदारीका आधारमा पर्यटकीय पूर्वाधारका क्षेत्रको निर्माण र सञ्चालनलाई प्राथमिकता दिइनेछ । प्रदेशमा विद्यमान सम्पदाको संरक्षण, अभिलेखीकरण, प्रवद्र्धन र पुस्तान्तरणमा विशेष जोड दिइने उनले बताए । सहकारी क्षेत्रको सुदृढीकरण गरी पुँजी परिचालन गर्न स्थानीय तह र सहकारी संघसंस्थाको साझेदारीमार्फत् उत्पादन, प्रशोधन र बजारीकरणका कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
उनका अनुसार आगामी वर्ष प्रदेशभित्र गरिबीको रेखामुनिरहेका अल्पसंख्यक, विपन्न र सीमान्तकृत वर्गका लागि सशक्तिकरणका कार्यक्रम सञ्चालन गरिनेछ । मन्त्री काफ्लेले प्रदेशक शतप्रतिशत घरधुरीमा खानेपानीको पहुँचलाई सहज बनाइने बताए । स्थानीय तह, निजीक्षेत्र र समुदायको सहभागिता र साझेदारीमा फोहोरमैलाको दिगो व्यवस्थापन गरी वातावरणीय स्वच्छता कायम गरिने कार्यक्रमलाई प्राथमिकता दिइने मन्त्री काफ्लेले बताए । संघीय सरकार र नेपाल विद्युत प्राधिकरणसँगको सहकार्य र समन्वयमा ग्रामीण विद्युतीकरण, सोलार मिनीग्रिड र अन्य वैकल्पिक उर्जाको प्रयोगमार्फत नवीकरणीय उर्जाको पहुँचमा अभिवृद्धि गरिने उनले उल्लेख गरे ।
मन्त्री काफ्लेले प्रदेशको पहिचानको रुपमा रहेको भाषा, संस्कृति, साहित्यको संरक्षण र प्रवद्र्धनको लागि बजेट विनियोजन गरिने बताए । एक वडा एक उद्यम, एक स्थानीय तह एक प्रमुख उद्योग स्थापनामा सहयोग पुग्ने गरी कार्यक्रम तर्जुमा गरिने उनको भनाई छ । एक निर्वाचन क्षेत्र एक बहुउद्देश्यीय खेलमैदान प्राथमिकताको आधारमा निर्माण गरिने उनले उल्लेख गरे । ‘तीनवटै तहका सरकारको समन्वय र सहकार्यमा प्रदेशभित्र अन्र्तराष्ट्रियस्तरका खेलमैदानको निर्माणलाई अगाडि बढाइनेछ’ उनले भने, ‘खेलकुदक्षेत्रको विकासमार्फत युवाको सर्वा·िण विकास गर्दै राष्ट्र निर्माणको आधार तयार गरिनेछ ।’
मन्त्री काफ्लेले आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट प्रवाह हुने सेवालाई विद्युतीय प्रणालीमार्फत् सञ्चालन गरिने बताए । प्रदेश सरकारको पुँजीगत खर्चमा गुणस्तर अभिवृद्धि हुने गरी प्रशासनिक निकायको क्षमतामा अभिवृद्धि गरिने उनले बताए । मन्त्री काफ्लेले प्रदेशमा उत्पादन, उत्पादकत्व र रोजगारी बृद्धि भई सुशासन, विकास र समृद्धिलाई सिद्धान्त र प्राथमिकताले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि जेठ ७, ८ र ९ गते बस्ने प्रदेशसभा बैठकमा छलफल हुने सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।







