बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत

‘नीति कार्यक्रम रक्सी पुरानो बोतल मात्र नयाँ’
साझाकुरा
२०८२ जेष्ठ १६, बिहीबार ११:२४

हेटौंडा- बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सरकारको १ सय १६ बुँदामा रहेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारले सडक, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । प्रादेशिक सडको गुरुयोजना अद्यावधिक गरी प्राथमिकताको आधारमा प्रादेशिक लोकमार्ग, प्रादेशिक मार्गहरुको विकास र स्तरोन्नति गरिने भएको छ । स्थानीय तहमा सडक सञ्जालको विकासलाई प्राथमिकता दिने प्रदेशप्रमुख देवकोटाले बताए ।

भौतिक पूर्वाधारको निर्माणमा स्वदेशी निर्माण सामग्रीको प्रयोगलाई प्राथमिकता दिई स्थानीय मौलिकता र वास्तुकलाको संरक्षणमा जोड दिने नीति लागु गरिने उनले जानकारी दिए । ‘एक वडा एक कृषि कार्यक्रम’ अन्तर्गत निक्षेप तथा कर्जा सुरक्षण कोषसँगको साझेदारीमा कृषिमा लगानी अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । माटोमा देखिएको अम्लियपनलाई नियन्त्रण गर्न माटो स्वास्थ्य सुधार कार्यक्रम सञ्चालन गरिने प्रदेशप्रमुख देवकोटाले बताए । कृषिउत्पादन अभिवृद्धि गर्न प्रविधि र भौतिक पूर्वाधार निर्माणमा निजी, सहकारीक्षेत्रलाई समेत लगानी गर्ने वातावरण गरिने भएको छ ।

‘सिचाई सुविधा उपलब्धताको लागि साना सिंचाई संरचनाको निर्माण तथा मर्मतसम्भार, अन्न भण्डारणगृह लगायत कार्यक्रम सञ्चालन गरिने छ’ उनले भने, ‘विगतमा निर्मित अपुरा, अधुरा कृषि संरचना सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।’ दिगो वन व्यवस्थापनको माध्यमबाट उत्पादन, उत्पादकत्व र वातावरणीय लाभ अभिवृद्धि गर्ने, व्यावसायिक पर्यापर्यटन विस्तार कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रदेशप्रमुख देवकोटाले ‘सबैतिर वनः स्वस्थ्य जीवन’ भन्ने नाराका साथ खाली रहेका जग्गामा कृषिवन प्रणाली प्रवद्र्धन गरिने बताएका छन् । ‘प्रकृति, संस्कृति र पर्यटनको संगमको रुपमा सांस्कृतिक बाटिकाहरुको स्थापना गरिनेछ’ उनले भने ।

‘सबै नीतिमा स्वास्थ्य नीति’ कार्यक्रमको कार्यान्वयनमा निरन्तरता दिइने उनले बताए । एक जिल्ला एक स्वस्थ्य सहर अवधारणालाई सबै जिल्लामा सञ्चालन गरिने प्रदेशप्रमुख देवकोटाले उल्लेख गरे । एक विद्यालय एक नर्स कार्यक्रमलाई समुदायस्तरमा विस्तार गरी क्षमता अभिवृद्धि सहित सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेशगरिएको छ । प्रदेशप्रमुख देवकोटाले मुख्यमन्त्रीसँग जनता स्वास्थ्य कार्यक्रमलाई स्थानीय तहसँगको सहकार्यमा समुदायस्तरमा विस्तार गरिने जानकारी दिए ।

महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र पुरुषमा हुने प्रोष्टेट क्यान्सरको पहिचान र रोकथाम गर्न निःशुल्क सेवाको व्यवस्था मिलाइने कार्यक्रममा समावेश गरिएको छ । ‘स्वास्थ्य पर्यटनलाई प्रवद्र्धन गर्दै योग, ध्यान र प्राणायामको नियमन तथा संस्थागत विकास गर्नको लागि प्रदेश योग समिति गठन गरिनेछ’ उनले बताए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता विकास तथा सेवा विस्तार गर्दै नर्सिङ विषयको अध्ययन अध्यापन गराउने व्यवस्था मिलाइने उनले बताए ।

प्रदेश सहकारी नीति तर्जुमा गरी सहकारी संस्थाको सम्पूर्ण अभिलेख सुरक्षित र व्यवस्थित राख्न अभिलेखको डिजिटलाजेन गरिने भएको छ । सीमान्तकृत, दलित, पिछडिएका समुदायको लागि आयआर्जन तथा जीविकोपार्जन सुधार कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । प्रदेशप्रमुख देवकोटाले हेटौंडाको गौरीटार र चितवनको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा खेलकुद पूर्वाधार निर्माणको कार्यलाई निरन्तरता दिइने बताए । स्थानीय स्तरमा हुने खेलकुद प्रतियोगितामा प्रोत्साहन गर्दै प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । एक निर्वाचन क्षेत्र एक बहुउद्देश्यीय खेलमैदान कार्यक्रम सञ्चालनगरिने उनले बताए ।

नयाँ प्रविधिमा आधारित सिंचाई प्रणालीको विकासलाई आगामी वर्ष सरकारले निरन्तरता दिने भएको छ । अव्यवस्थित ढल प्रणालीलाई व्यवस्थित गर्न प्राथमिकताको आधारमा ढल निर्माण कार्यक्रम सञ्चालन गरिने प्रदेशप्रमुख देवकोटाले जानकारी दिए । सामुदायिक विद्यालयमा आधुनिक प्रविधिमैत्री र अनुसन्धानमा आधारित ‘भीमबहादुर तामाङ शैक्षिक गुणस्तर सुधार कार्यक्रम’ सञ्चालन गरिने उनले उल्लेख गरेका छन् । बागमती प्रदेश विश्वविद्यालयको संस्थागत सुदृढीकरणको लागि उच्चस्तरीय जनशक्ति उत्पादनका लागि शैक्षिक कार्यक्रम सञ्चालन गरिने भएको छ ।

नीति तथा कार्यक्रममा व्यावसायिक शिक्षा र तालिमलाई एकद्वार प्रणालीबाट सञ्चालन गरी उद्यम र रोजगारीसँग जोड्न औद्योगिक प्रतिष्ठानसँग सहकार्य गरिने उनले बताए । प्रदेशप्रमुख देवकोटाले बालअधिकारको संरक्षण र कार्यान्वयन गर्न स्थानीय तहमा बालमैत्री स्थानीय शासनको लागि सहकार्य गरिने बताए । ‘बालअधिकारको कार्यान्वयन गर्न प्रदेशभित्र सञ्चालनमा रहेका बालगृहको अभिलेखीकरण र नियमन मार्फत् सुधारका लागि सहयोग गरिनेछ’ उनले भने, ‘सहयोगापेक्षी सडक मानवयुक्त बागमती प्रदेश अभियान सफल बनाउन स्थानीय तह र गैरसरकारी संस्थासँग समन्वय र सहकार्य गरिनेछ ।’

सिन्धुली, मकवानपुर र चितवन जिल्लामा पर्ने मदनभण्डारी राजमार्ग र पूर्वपश्चिम राजमार्ग क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गरिने भएको छ । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न एक वडा एक उद्यम कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गरिने प्रदेशप्रमुख देवकोटाले बताए । प्रदेश सरकारले विपद् जोखिम न्युनीकरणको लागि विपद्को पूर्वतयारीमा जोड दिने भएको छ । प्रदेशको आपतकालीन कार्यसञ्चालन केन्द्रलाई प्रविधिमैत्री बनाइने प्रदेशप्रमुख देवकोटाले बताए ।

प्रदेश गोदामघरमा उद्दार तथा राहत सामग्रीको उचित व्यवस्थापन गर्नुको साथै गोताखोरलाई आवश्यक उपकरणको प्रबन्ध गरिने भएको छ । त्यसैगरी प्रहरी समायोजनको लागि अन्य प्रदेशसँगको समन्वय र सहकार्यमा संघीय सरकारसँग पहल गरिने उल्लेख गरिएको छ । निर्णय प्रक्रिया र अनुगमन तथा मूल्याङ्कन प्रणालीमा एआई र सूचनाप्रविधिको उच्चतम प्रयोग गरिने भएको छ । प्रदेशलाई चाहिने प्रणालीको चरणबद्ध पहिचान, विकास तथा आन्तरिकीकरण गर्दै प्रशासनिक सुधार एवम् गतिशीलता प्रदान गरिने प्रदेशप्रमुख देवकोटाले बताएका छन् ।

भ्रष्टचारविरुद्ध शुन्य सहनशीलताको नीति लिई प्रादेशिक रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयन गरिने छ । तहगत अन्तरसम्बन्धलाई मजबुत बनाउन प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमलाई निरन्तरता दिइने प्रदेश प्रमुख देवकोटाले बताए ।

प्रदेशवासी उत्साहित हुनेखालको
कार्यक्रम आएनः प्रतिपक्षी

बागमती प्रदेश सरकारले प्रदेशवासी उत्साहित हुनेखालको नीति तथा कार्यक्रम ल्याउन नसकेको प्रतिपक्षी दलहरुले टिप्पणी गरेका छन् । बुधबारको प्रदेशसभा बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै प्रमुखप्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले विगतको सरकारको कार्यक्रम अहिले पनि समावेश भएको प्रतिक्रिया दिएका छन् । नीति तथा कार्यक्रममा गर्न नसकिने कुराहरु धेरै समावेश भएको उनको बुझाई छ । आफू नेतृत्वको सरकारले ल्याएको चेपाङ चिउरी कार्यक्रमलाई अहिलको नीति तथा कार्यक्रमबाट हटाएकोमा उनले असन्तुष्टि जनाए । लक्ष्यबिहिन नीति कार्यक्रमले जनतामा निराशा मात्रै छरेको नेता जम्कट्टेलले बताए ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण खनालले सरकारको अहिलेको नीति तथा कार्यक्रम रक्सी पुरानो बोतल नयाँ जस्तै भएको टिप्पणी गरेका छन् । नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले बलियो दुई पार्टीले ल्याएको नीति तथा कार्यक्रम कमजोर भएको टिप्पणी गरे । विगतको जस्तै अहिलेको नीति तथा कार्यक्रम पनि असफल हुने उनले बताए । नेता गोसाईले नीति तथा कार्यक्रममा दुई दलबीचको द्वन्द्व स्पष्ट रुपमा झलकिएको टिप्पणी गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*