राजनीतिक दलहरुलाई सेवा केन्द्रित भएर अगाडि बढ्न प्रदेशप्रमुखको आग्रह

मुख्यमन्त्रीले भनेः ‘गणतन्त्रको विकल्प निरंकुश राजतन्त्र हुन सक्दैन’
साझाकुरा
२०८२ जेष्ठ १७, शुक्रबार १०:२७

हेटौंडा-बागमती प्रदेशका प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले गणतन्त्र समानता, समावेशिता र सेवाभावको प्रतीक बन्नुपर्ने बताएका छन् ।गणतन्त्र दिवस २०८२ को अवसरमा प्रदेश सरकारले बिहिबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले गणतन्त्र अमूर्त कुरा नभई अनुभूति गर्न सकिने व्यवस्था भएको उल्लेख गरे । गणतन्त्रकाउपलब्धिलाई कसैले पनि नकार्न नसकिने उनको भनाई छ । ‘विगत १७ वर्षहरुमा गणतन्त्र नेपालमा विकास र सकारात्मक परिवर्तनका थुप्रै कार्यहरु भएका छन्’ उनले भने, ‘यो महत्वपूर्ण उपलव्धिलाई कसैले पनि नकार्न मिल्दैन ।’ प्रदेशप्रमुख देवकोटाले जनताले गणतन्त्रबाट अपेक्षा गरेअनुसारको परिवर्तनको महसुश अझै पनि गर्न नसकेको बताए । गणतन्त्रका उपलब्धिलाई नकारात्मकताको उपमा दिनु राजनीतिक पूर्वाग्रह मात्र भएको उनको धारणा छ ।

प्रदेशप्रमुख देवकोटाले सत्ताकेन्द्रित नभई सेवाकेन्द्रित भएर राजनीतिक दलहरु अगाडि बढनुपर्नेमा जोड दिए । जनतालाई सर्वोपरी राखेर परिणाममुखी कार्यमार्फत् जनताको सुखद दैनिकीको सारथी बन्न उनले आग्रह गरेका छन् ।‘समग्र बागमती प्रदेश र प्रदेशवासीको हितमा केकति कार्यहरु ग¥यौं त्यसको आत्मसमिक्षा हुनु जरुरी छ’ उनले भने, ‘जनता विकास, रोजगारी र समृद्धि चाहन्छन् । जनताले हामीलाई सत्ताकेन्द्रित नभै सेवाकेन्द्रित भएको देख्न चाहन्छन् ।’

यसैगरी समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बहादुरसिंह लामाले संघीय लोकतान्त्रिक गणतन्त्रको मुलआत्मा संघीयता र समावेशी शासन व्यवस्था भएको बताएका छन् । संघियताको पूर्णकार्यान्वयनमार्फत् शासकीय सत्ता आमनागरिकको तहमा पु¥याउन अझै पनि काम गर्न बाँकी रहेको उनले बताए । मुख्यमन्त्री लामाले नागरिकलाई अधिकार सम्पन्न बनाई समृद्ध प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको दाबी गरे ।

प्राप्त उपलब्धिलाइं संस्थागत गर्न ढिलाई हुँदा प्रतिगामी तत्वहरुले शासन व्यवस्था माथि नै प्रश्न गर्ने चेष्टा गरेको उनले उल्लेख गरे । मुख्यमन्त्री लामाले गणतन्त्रको विकल्प निरंकुश राजतन्त्र हुन नसक्ने बताए । लोकतान्त्रिक गणतन्त्र शासनपद्दति मात्र नभई जीवनपद्दति भएको उनको भनाई छ । मुख्यमन्त्री लामाले आर्थिक विकास, सामाजिक रुपान्तरण, सुशासन र विकासको दृष्टिकोणले १८ वर्षे गणतन्त्र अवधिको समीक्षा गर्नुपर्ने उल्लेख गरेका छन् । संविधानको अक्षरशः पालना गर्दै जनताको भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गरी जनतालाई आर्थिक विकास र सामाजिक रुपान्तरणको अनुभूति दिलाउन सरकार प्रतिबद्ध रहेको उनले बताए । यसअघि विभिन्न समुदायको भेषभूषासहित झाँकी र बाजगाजासहित ¥यालीले नगरपरिक्रमा गरी मुख्यमन्त्री कार्यालयपरिसरमा सभामा परिणत भएको थियो ।

चणिकलाल तामाङ सहित
७ जना पत्रकार सम्मानित

गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले सात जना पत्रकारलाई सम्मान सहित पुरस्कृत गरेको छ । प्रदेश सरकारले अग्रज सम्मान पत्रकारिता पुरस्कार मकवानपुरका प्रताप बिष्ट, बागमती पत्रकारिता पुरस्कार काठमाडौंका कुमारभक्त रजिञ्तकार, संस्थागत पत्रकारिता पुरस्कार शोभा अर्याल, ग्रामीण पत्रकारिता पुरस्कार धादिङमा क्रियाशील पत्रकार नवराज छत्कुली, विकास पत्रकारिता पुरस्कार चितवनका नेपोलियन चेपाङ, प्रदेश गौरव पत्रकारिता पुरस्कार सिन्धुपाल्चोकका कमला तामाङ, युवा पत्रकारिता पुरस्कार नुवाकोटका रामचन्द्र अर्याललाई प्रदान गरेको छ ।

चलचित्रतर्फ प्रदेश सरकारले बागमती चलचित्र पुरस्कार काठमाडौंका मनोजकुमार केसी र साहसिक चलचित्र पुरस्कार काठमाडौंका अर्जुन कार्कीलाई प्रदान गरेको छ । सञ्चार रजिष्ट्रारको कार्यालयद्वारा आयोजित चलचित्र पटकथा लेखन कार्यशालामा सहभागी भएका २० जना मध्ये सात जनाले निर्माण गरेका लघुचलचित्रका सर्जकहरु लघुचलचित्रको मूल्यांकन समितिले गरेको मूल्यांकनका आधारमा प्रथम हुने चितवनका अशोक पाठक, द्वितीय हुने दोलखाकी उषा अधिकारी, तृतीय हुने काठमाडौंका दिप्नेश श्रेष्ठ, सान्त्वनातर्फ चितवनका प्रेमप्रसाद सापकोटा र काठमाडौंका गोपाल थापालाई नगदसहित पुरस्कृतगरिएको छ ।

लघुचलचित्र तथा बृत्तचित्र निर्माण गर्ने प्रदीप पाण्डे, गणेश खड्का, गृष्ठ श्रेष्ठ, एबिन्द्र मादेन लिम्बु, शिव पुरी, प्रभाकरदेव शर्मा र दीपककुमार घिमिरेलाई प्रशंसापत्र प्रदान गरिएको छ । कार्यक्रममा प्रदेश सरकारले गत असोज १२ मा नख्खु खोलामा आएको बाढीमा पसेका २ जनाको जीवनरक्षा गरेको भन्दै चणिकलाल तामाङलाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरेको छ । त्यसैगरी सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको समाचारलेखन प्रतियोगितामा प्रथम हुन सफल कृष्णा विष्ट (सुनिता) लाई नगद २० हजार, द्वितीय भएकी सरस्वती अधिकारीलाई १५ हजार, तृतीय भएकी स्मिता अर्जेललाई १० हजार र सान्त्वना भएकी सुनिता सापकोटालाई नगद ५ हजार प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*