‘अस्थिर सरकारबाट सुशासन प्रणालीलाई व्यवस्थित बनाउन सकिँदैन’

नेपाली समाजलाई राजावादीले गलत दिशामा लैजान खोज्दै छः नेता थपलिया
साझाकुरा
२०८२ जेष्ठ २६, आईतवार ११:०७

हेटौंडा-नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले नेपाली समाजलाई राजावादीहरुले गलत दिशामा लैजान खोजिरहेको आरोप लगाएका छन् ।प्रेस चौतारी नेपाल बागमती प्रदेशको आयोजनामा शनिबार हेटौंडामा भएको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै नेता थपलियाले २०६२÷६३ को जनआन्दोलनबाट फालिएको राजतन्त्र फेरि आउन सक्ने भन्दै राजावादीले समाजमा गलत भ्रम फैलाइरहेको बताए । नेपाली जनताले राजतन्त्रलाई कदापि नस्वीकार्ने समेत उनले दाबी गरेका छन् ।

नेता थपलियाले देश समाजवादको दिशामा अग्रसर भएको बताए । उपलब्ध स्रोत र साधनको उपयोग गरी वर्तमान सरकार व्यवस्थित ढंगले अघि बढिरहेको उनको भनाई छ । राजनीतिक अस्थिरता सिर्जना गरेर नकारात्मक ढंगले समाजको चित्रण गर्ने प्रवृत्ति देखापर्दै गएको नेता थपलियाले उल्लेख गरे । नेता थपलियाले अस्थिर सरकारबाट सुशासन प्रणालीलाई व्यवस्थित बनाउन नसकिने बताए ।

जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी विकास निर्माणको कार्य गर्न स्थायी सरकार आवश्यक भएको उनको भनाई छ । २०६२÷६३ को जनआन्दोलनपछि एकल बहुमतको सरकार बनाउन सक्ने स्थितिको संविधान बनाउन नसक्दा राजनीतिक अस्थिरताको बिगबिगी भएको नेता थपलियाले बताएका छन् । स्थायी सरकार बनाउनुपर्छ भन्ने मान्यता अनुरुप नै कांग्रेस र एमालेको संयुक्त सरकार बनेको उनको धारणा छ । नेता थपलियाले स्थायी सरकार निर्माणको लागि संविधानमा नमिलेका विषयवस्तुलाई मिलाउने गृहकार्य भइरहेको बताए । नेता थपलियाले समाजमा रहेका निराशालाई चिर्नेगरी प्रेस चौतारीकर्मीले आफ्नो कलम चलाउनुपर्ने बताए ।

प्रेस चौतारी बागमती प्रदेश अध्यक्ष तिलक रिमालको सभाध्यक्षता एवम् केन्द्रीय महासचिव हीरामान लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा भएको कार्यक्रममा सञ्चार रजिष्ट्रार रेवती सापकोटाले एआईसँग सहकार्य रचनात्मक पत्रकारिता, आइटी इञ्जिनियर विवेकानन्द न्यौपानेले पत्रकारितामा सूचना प्रविधिको समुचित प्रयोग, साइबर सुरक्षा र प्रेस चौतारीका महासचिव लामाले संगठनात्मक संरचना र प्रेस चौतारीको आगामी योजनाको विषयमा प्रस्तुतिकरण दिएका थिए ।कार्यक्रममा पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, महासंघका बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यतारहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*