बजेटमा कर थपिएकोमा सुनचाँदी व्यवसायीको आपत्ति

साझाकुरा
२०८२ जेष्ठ ३०, बिहीबार ११:११

हेटौंडा-सरकारले हालै प्रस्तुत गरेको बजेटमा सुनचाँदी र बहुमूल्य पत्थरमा लगाइएको करको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । मकवानपुर सुनचाँदी व्यवसायी संघले बुधबार पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । संघका अध्यक्ष पवनकुमार शाक्यले राज्यकै कारण आफूहरु सडकमा उत्रिन बाध्य भएको बताएका छन् । करका कारण व्यवसायी मात्र नभई उपभोक्तासमेत प्रत्यक्ष मारमा पर्ने अध्यक्ष शाक्यको भनाई छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हीरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि व्यवसायीले त्यसको विरोध गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

यस अघि १० लाख रुपैयाँभन्दा बढी मूल्यका सुनका गहनामा मात्र २ प्रतिशत विलासिता कर लाग्दै आएको थियो । व्यवसायीले सुनको भन्सार ६ प्रतिशत कायम हुनुपर्ने माग गरेका छन् । १५, २० वर्षदेखि माग गर्दै आएको नीति निर्देशिका अवलम्ब गर्न व्यवसायीले सरकारसँग आग्रह गरेको छ । व्यवसाय नै धरापमा पर्दैै गएको अवस्थामा सरकारको अव्यवहारिक कर नीतिले सुनचाँदी व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको अध्यक्ष शाक्यको भनाई छ ।

केन्द्रको कार्यक्रम अनुसार जेठ २९ र ३० गते व्यवसाय बन्द गरेर कालीगढसहित प्रदर्शन गर्ने भएका छन् । जेठ २६ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा व्यवसायीले ज्ञापनपत्र बुझाएका थिए । अबको करप्रणाली अनुसार १ तोलाको गहना बनाउँदा सुनको मूल्य बाहेक ३५ हजार थप लागत बढ्ने अध्यक्ष शाक्यले बताएका छन् । मकवानपुर सुनचाँदी व्यवसायी संघमा हाल २ सय ३० जना व्यवसायी आवद्ध छन् । संघले सुनचाँदी व्यवसायलाई सुनचाँदी कारोबारलाई व्यवस्थित बनाउन नीति निर्देशिका बनाउन पनि आग्रह गरेको छ ।

व्यवसायीले माग पुरा नभए आन्दोलनलाई अझ चर्काउने चेतावनी दिएका छन् । चालु आर्थिक वर्षको १० महिनामा १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँको सुन आयात भएको भन्सार विभागको तथ्यांक छ । विभागका अनुसार दुबईबाट १६ अर्ब ३ करोड, टर्कीबाट १ अर्ब ४ करोड, कतारबाट ४ करोड ८३ लाख र कुवेतबाट ३६ लाख ७९ हजार रुपैयाँको सुन आयात भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*