राक्सिराङमा टुङ्ना तथा डम्फु प्रशिक्षण

हेटौंडा- मौलिक सँस्कृतिहरु लोप हुँदै जान थालेपछि त्यसको संरक्षण र प्रबद्र्धनमा राक्सिराङ गाउँपालिकाले लगानी थालेको छ ।गाउँपालिकाको आयोजनामा १५ दिने टुङ्ना तथा डम्फु प्रशिक्षण सुरु गरिएको हो । तामाङ समुदायको मौलिक बाजा टुङ्ना तथा डम्फु बनाउने प्रचलन हराउँदै गएपछि त्यसको संरक्षणका लागि प्रशिक्षण आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । उनले नयाँ पुस्तामा ज्ञानको अभाव हुदाँ मौलिक कला सँस्कृति लोप हुने अवस्थामा पुगेकाले यस्ता प्रशिक्षण प्रभावकारी हुने विश्वास ब्यक्त गरेका छन् ।
गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले तामाङसँग तामाङ थर मात्र बाँकी रहने अवस्था आएकाले स्थानीय तह गम्भीर भएर मौलिकता संरक्षणमा लागिपरेको बताएका छन् । उनले बहुसंख्यक तामाङ चेपाङ बसोबासी रहेको राक्सिराङमा यी समुदायको मौलिक गीतसंगीत, भाषा, भेषभुषा लोप हुँदै गएपछि त्यसको संरक्षणमा गाउँपालिका जुर्मुराएको उल्लेख गरे । कार्यक्रममा बागमती प्रदेशका पूर्वसांसद ओम घलानले गाउँपालिकाले रैथाने सँस्कृति संरक्षणका लागि प्रशंसनीय काम गरेको बताए ।
कार्यक्रममा वडाअध्यक्ष उत्तम वाइबा, तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङ, सञ्चारकर्मी शिवकुमार काशीलगायतले मौलिक संस्कृति संरक्षणमा नयाँपुस्ता गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए । त्यसमा स्थानीय सरकारले सहयोग गर्नु सुखद रहेको उनीहरुको भनाई छ । गाउँपालिकाले मनहरीमा रहेको एकेडेमिक अर्थ इन्स्टिच्युटसँगको सहकार्यमा १५ दिने प्रशिक्षण आयोजना गरेको हो । प्रशिक्षणमा छेवाङ छिरिङ लामाले डम्फु तथा टुङ्ना बजाउन प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा राक्सिराङका सबै वडाबाट झण्डै ५० जना प्रशिक्षार्थी सहभागी हुने आयोजकले जनाएको छ ।