हेटौंडाको बजेट २ अर्ब ९० करोड

आयोजना बैंक कार्यान्वयन गर्ने, तेस्रो सन्तान जन्मलाई प्रोत्साहन
साझाकुरा
२०८२ असार ११, बुधबार १२:२४

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेटको आकार बढाएको छ ।मंगलबार बसेको उपमहानगरको १७ औं नगरसभा बैठकमा नगरउपप्रमुख राजेश बानियाँले २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । उपप्रमुख बानियाँले चालु आर्थिक वर्षको बजेटमा १९ प्रतिशत वृद्धि गरी बजेट प्रस्तुत गरेका छन् ।

हेटौंडाले चालु आर्थिक वर्षका लागि २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बजेट सार्वजनिक गरेको थियो । बजेटको खर्च व्यहोर्ने स्रोततर्फ संघीय सरकारबाट प्राप्त हुने अनुदान १ अर्ब १९ करोड ५० लाख, आन्तरिक स्रोतबाट ६२ करोड ७६ लाख ८० हजार, राजस्व बाँडफाँडबाट ९२ करोड ७० लाख ५५ हजार, प्रदेश सरकारबाट विभिन्न अनुदानबाट प्राप्त हुने ११ करोड ४५ लाख ७५ हजार तथा नगर विकास कोषबाट ऋण ३ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको उपप्रमुख बानियाँले बताएका छन् ।

उपमहानगरको नीति कार्यक्रम र बजेटबाट नगरबासीको आधारभूत आवश्यकता परिपूर्ति गरी जीवनस्तरमा गुणात्मक सुधार हुँदै जाने र लोकतन्त्रको सवलीकरण हुने उपप्रमुख बानियाँको भनाई छ । आगामी आर्थिक वर्षको लागि उपमहानगरले हेटौंडा–१० मा निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणको लागि ४ करोड बजेट विनियोजन गरेको छ । पदमपोखरीमा मुख्य सडक विस्तार, बृहत खानेपानी, चक्रपथ सडक लगायत योजनाका लागि ७ करोड बजेट विनियोजन गरिएको छ ।

उज्यालो सहर कार्यक्रम अन्तर्गत स्ट्रिटलाइट जडानको लागि ४० लाख, तामाङ संग्रहालय निर्माणको लागि ४० लाख र नेवा संग्रहालय निर्माणको सुरुवात गर्न २० लाख बजेट विनियोजन गरेको उपप्रमुख बानियाँले बताए । विगतका वर्षदेखि सञ्चालनमा आएका बहुवर्षीय योजना सम्पन्न गर्नको लागि ४ करोड बजेट विनियोजन गरिएको छ । महिलामैत्री शहर, लुमन्ती परियोजना, विन परियोजनालगायत साझेदारीमा सञ्चालन हुने योजनाको लागि उपमहानगरले १ करोड बजेट विनियोजन गरिएको छ । त्यसैगरी हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मेघा विद्यालय पूर्वाधार निर्माणका लागि विद्यालयको ५० प्रतिशत लागत साझेदारीमा निर्माण कार्य सुरुवात गर्न ५० लाख बजेट विनियोजन गरिएको उपप्रमुख बानियाँले बताएका छन् ।

त्यसैगरी हेटौंडा अस्पतालमा निर्माणधीन बाल तथा प्रसुतिकक्षमा एनआइसियु र पिआईसियु सेवा सञ्चालनको लागि २ करोड बजेट विनियोजन गरिएको छ । हेटौंडाले हरियाली, वृक्षरोपण तथा रंगरोगन, सफा हेटौंडा, जलवायु, वन तथा भूसंरक्षण, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण र जलउत्पन्न प्रकोप नियन्त्रण, फोहोरमैला व्यवस्थापन, ढल तथा नाला पूर्वाधार, खानेपानी सरसफाइतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ३ करोड १५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । हेटौंडाले वन, वातावरण विपद् व्यवस्थापन कोष र वातावरण विकास कोषको लागि ६ करोड २० लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, सहिद स्मृति स्थानीय गोल्डकप, उपमेयर कप महिला तथा पुरुष भलिबल, मेयर कप रनिङशिल्ड, मेयर कप फुटबल जस्ता खेलकुद प्रतियोगिता आयोजना र विभिन्न खेलकुद मैदान तथा पूर्वाधार निर्माण, सीप विकास तालिम, खेलसामग्री सहयोग, खेलकुद प्रतियोगितामा सहभागितालगायत कार्यक्रमका लागि २ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । मेयरसँग स्वरोजगार कार्यक्रम, चिज बनाउने उद्योग, कपाल कटाई, काष्ठकला, मकैको खोस्टा र थाकलको चकटीसम्बन्धी तालिम सञ्चालन गर्न, कोसेलीघर सञ्चालनलगायत उद्योग, वाणिज्य तथा सहकारीतर्फ उपमहानगरपालिकाले ९८ लाख ३६ हजार व्यवस्था गरेको छ ।

हेटौंडाले आर्थिक विकास क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि ४ करोड ६९ लाख ७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । अटोभिलेज पूर्वाधार निर्माण हेटौंडा–११, वाटर फन पार्क हेटौंडा–१४, गंगा आरतीस्थल हेटौंडा– १० का लागि बजेट व्यवस्था गरिएको छ । उपप्रमुख बानियाँले कार्यसञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि ५९ करोड ६५ लाख ९० हजार रुपैयाँ, सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

तेस्रो सन्तान जन्मलाई प्रोत्साहन
गर्ने उपमहानगरको नीति
हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि आयोजना बैंक कार्यान्वयनमा ल्याउने भएको छ । १७ औं नगरसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मीनाकुमारी लामाले योजना तर्जुमा प्रणालीलाई व्यवस्थित गर्न आयोजना बैंकलाई कार्यान्वयनमा ल्याइने बताइन् । ‘घुमौ हेटौंडा चिनौं हेटौंडा’ भन्ने नारासहित आन्तरिक पर्यटन प्रवद्र्धनका लागि होटल एशोसियसन मकवानपुरसँगको सहकार्यमा सिटी टुर कार्यक्रमको थालनी गरिने भएको छ ।

तामाङ र नेवा भाषाको प्रवद्र्धन गर्न स्थानीय पाठ्यक्रमका रुपमा विद्यालय तहमा पठनपाठनका लागि आवश्यक व्यवस्था मिलाइने भएको छ । नगरप्रमुख लामाका अनुसार दक्षिण एसियाको पहिलो मानवनिर्मित चुरे सुरुङको पर्यटकीय सम्भावना अभिवृद्धि गर्न संघ र प्रदेश सरकारको समन्वय एवम् सहकार्यमा प्रवद्र्धनात्मक कार्य गरिने भएको छ । त्यसैगरी ‘मेयरसँग जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठनागरिक, अपाङ्ग तथा एकल महिला÷पुरुषलाई प्राथमिकतामाराखी समुदायस्तरमा कार्यक्रम सञ्चालन गर्ने नीति उपमहानगरको रहेको छ ।

उपमहानगरले नीति तथा कार्यक्रममा तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको छ । तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्न कोष खडा गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख लामाले बताइन् । नगर क्षेत्रमा उत्सर्जन हुने फोहोरमैलाको दिगो व्यवस्थापन गर्न सार्वजनिक निजी साझेदारी अवधारणामा फोहोर व्यवस्थापन कार्यलाई उपमहानगरले निरन्तरता दिने भएको छ । डिजिटल सिटीको अवधारणालाई अघि बढाउने नीति उपमहानगरपालिकाको रहेको छ ।

उपमहानगरले आगामी आर्थिक वर्षमा हेटौंडा अस्पतालमा निर्माण थालनी गरिएको एकसय बेडको बाल तथा प्रसुती कक्षको अधुरो निर्माणकार्यलाई सम्पन्न गरी एनआईसीयु र पिआईसीयु सेवा सञ्चालन गरिने जनाएको छ । एनआईसीयु सेवाको अभावमा हेटौंडामा नवजातशिशुको जन्म समयमा उपचारका लागि चितवन धाउनुपर्ने बाध्यात्मक अवस्था हट्ने विश्वास लिइएको छ । आगामी आर्थिक वर्षमा हेटौंडा–१४ मा सार्वजनिक निजी साझेदारीको अवधारणमा सुविधा सम्पन्न फन पार्क निर्माण गर्ने, किसान सूचीकरणको कार्य आगामी आवमा सम्पन्न गर्ने, किसान वर्गीकरण र किसान परिचयपत्र वितरण गरिने भएको छ ।

युवालक्षित कृषि कार्यक्रम सञ्चालन, प्रांगारिक मलको प्रयोगलाई प्रोत्साहित गर्ने र एकवडा, एक कृषिउत्पादन कार्यक्रम हेटौंडा–१३ मा मेवाखेती र १ मा कोदोखेती कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । २०८१÷८२ मा आन्तरिक स्रोत, राजस्व बाँडफाँड र संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा अपेक्षाअनुसार वृद्धि नहुँदा कतिपय महत्वपूर्ण योजना र कार्यक्रम कार्यान्वयन गर्न नसकेको भन्दै हेटौंडा–१० को निर्माणाधीन एकीकृत बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माणकार्य पूरा गरी सञ्चालनमा ल्याइने नगरप्रमुख लामाले बताइन् ।

अनलाइन नक्सा प्रणाली कार्यान्वयनमा ल्याइने, हेटौंडा–४ मा बहुउद्देश्यीय तथा व्यावसायिक भवन निर्माण भएको ढिलाई र अन्यौलताको कानुनसम्मत् निकास निकाली भवन निर्माण प्रक्रिया अगाडि बढाइने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने गरी आगामी आवको नीति तथा कार्यक्रम ल्याइएको छ । यसैगरी, रोजगार सेवाकेन्द्रलाई प्रभावकारी बनाई बेरोजगार व्यक्तिलाई सीप सिर्जना सहित रोजगारमा जोड्ने र स्थानीय सामुदायिक पूर्वाधार मर्मतसम्भारलगायत श्रममूलक कार्यमा संलग्न गराई लक्षित वर्गको जीवनस्तरमा सुधार ल्याइने नीति लिइने भएको छ ।

नगरप्रमुख लामाले वडा नं. १३ र १६ का नगर अस्पताललाई संघ र प्रदेश सरकारको समन्वय र सहकार्यमा आवश्यक पूर्वाधार विकास गरी स्वास्थ्य बीमासहितको अस्पतालको रुपमा विकास गरिने बताइन् । पालिकाको स्रोत वृद्धि गर्न करका दायरका विस्तार गर्ने नीति आगामी आवमा उपमहानगरपालिकाले लिनेभएको छ । पर्यटन प्रवद्र्धनलगायत साझा सरोकारका कार्य गर्न अन्तरपालिका समन्वय सञ्जाललाई कार्यविधि बनाई कार्यान्वयन व्यवस्थित गरिने नगरप्रमुख लामाले नीति तथा कार्यक्रममा जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*