मकवानपुरगढीको ७४ करोडको बजेट सार्वजनिक
हेटौंडा- मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ७४ करोड ५ लाख ८४ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाअध्यक्षतामा बसेको गाउँसभामा उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिनले बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रलाई उच्चप्राथमिकतामा राखेको छ भने बजेटको मुख्यस्रोतकारुपमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र आन्तरिक राजस्वलाई आधार मानिएको छ । गाउँपालिकाले प्रस्तुत गरेको कूल ७४ करोड ५ लाख ८४ हजार रुपैयाँको बजेटमा चालुतर्फ ४१ करोड ७० लाख ६६ हजार (५६.३१ प्रतिशत) र पुँजीगततर्फ ३२ करोड ३५ लाख १८ हजार (४३.६८ प्रतिशत) रकम विनियोजन गरिएको छ ।
बजेटको आयतर्फ, संघीय सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँड, समपुरक, विशेष र सशर्त अनुदान गरी कूल ६० करोड २६ लाख ८१ हजार प्राप्त हुने अनुमान छ । त्यसैगरी, प्रदेश सरकारबाट वित्तीय समानीकरण, समपुरक, विशेष र सशर्त अनुदान शीर्षकमा ९ करोड ४० लाख ३ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । गाउँपालिकाले आन्तरिक आयबाट १ करोड २५ लाख र गत वर्षको मौज्दातबाट ३ करोड ५० लाख रुपैयाँ संकलन गरी कूल ४ करोड ७५ लाख व्यवस्थापन गर्ने लक्ष्य राखेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि सामाजिक विकास क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिएको छ । यसक्षेत्रका लागि कूल बजेटको ५२.२२ प्रतिशत अर्थात् ३८ करोड ६६ लाख ४९ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृतिक प्रवद्र्धन, खेलकुद, लैंगिक समानता तथा समाजिक समावेशीकरण(महिला, युवा, दलित जेष्ठनागरिक, बालबालिका, जनजाति, अपा·ता) सामाजिक कार्यक्रम समेटिनेछन् । पूर्वाधार विकास क्षेत्रलाई दोस्रो प्राथमिकतामा राखिएको छ ।
स्थानीय सडक, पुल, सिँचाइ, भवन निर्माण तथा बस्ती विकास लगायत पूर्वाधार निर्माणका लागि कूल बजेटको २५.१२ प्रतिशत अर्थात् १८ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ । आर्थिक विकासक्षेत्र (कृषि, पशु, पर्यटन) का लागि ५ करोड ४५ लाख, संस्थागत विकास, सेवाप्रवाह र सुशासनका लागि ९ करोड ३ लाख तथा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । वन, वातावरण तथा विपद् व्यवस्थापनमा ८१ लाख ३५ हजार अर्थात १.०९ प्रतिशत बजेट विनियोजन गरिएको छ । गाउँसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष पाख्रिनले ‘मकवानपुरगढी गाउँपालिकाको समृद्धिको आधारः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने मूलनारालाई साकार पार्न बजेट केन्द्रित रहेको बताइन् ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष स्याङ्तानले जनताले दिएको विश्वासलाई साकार पार्न र पालिकाको चौतर्फी विकासका लागि प्रस्तुत नीति तथा कार्यक्रम र बजेट प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले बजेटको सफल कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहने बताए । विनियोजन सम्वन्धी प्रस्तावनलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८२ पूर्वाधार विकास समितिको संयोजक वडा नं. २ का वडाध्यक्ष वखानसिं पाख्रिनले प्रस्तुत गरेका थिए भने अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न वनेको विधेयक २०८२ आर्थिक विकास समितिको संयोजक एवम् वडा नं.६ का वडाध्यक्ष कृष्णप्रसाद वजागाईले प्रस्तुत गरेका थिए ।







