नगरको १९ वडालाई ३२ करोड २५ लाखको सिलिङ

साझाकुरा
२०८२ असार २७, शुक्रबार १२:०७

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले नगरका १९ वटा वडालाई ३२ करोड २५ लाख ६५ हजारको बजेट सीमा तोकेको छ ।असार १० गते २ अर्व ९० करोड ३ लाख रुपैयाँको बजेट ल्याएको उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि नगरभित्रका १९ वटा वडामा ३२ करोड २५ लाख ६५ हजारको बजेट सिलिङ तोकेको हो । नगरले वडामा १ करोड ५५ लाख २३ हजार रुपैयाँदेखि २ करोड १८ लाख ९८ हजार रुपैयाँसम्मको बजेट सीमा तोकेको छ । वडालाई दिइएको बजेट सीमा अनुसार वडाले नगरपालिकालाई योजना समावेश गरेर उपलब्ध गराएका छन् । योसँगै आगामी आर्थिक वर्षको बजेटको पुस्तिका तयार पार्ने काम सुरु भएको हेटौंडा उपमहानगरप्रवक्ता सबिन न्यौपानेले बताए ।

प्रवक्ता न्यौपानेका अनुसार वडालाई बजेटको सिलिङ पठाइसकेको छ । वडाले आगामी आर्थिक वर्षदेखि उपलब्ध बजेटबाटै १५ लाख रुपैयाँ बजेट प्रशासनिक कार्यमा खर्चिन सक्ने प्रवक्ता न्यौपानेले बताए । भौगोलिक विकटता, स्रोतसाधनको उपलब्धता, क्षेत्रफल, विकासका गतिविधि लगायत कुरालाई मध्यनजर गर्दै हेटौंडा उपमहानगरका १९ वटा वडामा बजेट सिलिङ तोकिएको उनको भनाई छ । उपमहानगरपालिकाले २,४, ५, ६, ७, ८, ९, १० र ११ नम्बरका वडालाई १ करोड ५५ लाख २३ हजार रुपैयाँ बजेट सीमा तोकेको छ । उपमहानगरले १, ३, १२, १३, १४, १५, १६ र १७ नम्बर वडालाई १ करोड ७६ लाख ४७ हजार बजेट सीमा तोकेको छ ।

त्यस्तै वडा नम्बर १८ लाई १ करोड ९७ लाख ७३ हजार र वडा नम्बर १९ लाई २ करोड १८ लाख ९८ हजार रुपैयाँ बजेट सीमा तोकेको छ । बजेट सीमा निर्धारण गर्दा बढी सुगम र कम विकट भएका वडालाई ‘क’ वर्ग, साविकको वडामा मिसिएका सुगम र दुर्गम बराबरी भएका क्षेत्रलाई ‘ख’ वर्ग र अत्यन्तै विकट क्षेत्रलाई ‘ग’ वर्गमा राखेर गरिएको हो । आगामी आर्थिक वर्षदेखि हेटौंडाका वडाहरुले २० लाख रुपैयाँसम्मको योजना वडाबाटै सम्पन्न गर्न पाउने अधिकार हेटौंडा उपमहानगरले प्रदान गर्ने भएको छ । उपमहानगरपालिकाको चालू आर्थिक वर्षको दायित्व ४० करोड रुपैयाँको हाराहारीमा रहेको प्रवक्ता न्यौपानेले बताए ।

हेटौंडाले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक आयबाट ६२ करोड ८६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ९२ करोड ७० लाख ५५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । यस्तै प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान नगरपालिकाले गरेको छ । आगामी आर्थिक वर्षमा हेटौंडाका लागि संघीय सरकारबाट १ अर्व १९ करोड ५० लाख रुपैयाँ अनुदान प्राप्त हुने र नगर विकास कोषको ऋणबाट तीन करोेड ६० लाख रुपैयाँ बजेटको स्रोतमा बेहोर्ने अनुमान हेटौंडा उपमहानगरको छ । उपमहानगरपालिकाले असार २७ गतेका लागि नगरसभा बोलाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*