बजेट खर्च र कार्यसम्पादनमा खानेपानी मन्त्रालय अब्बल
हेटौंडा- बागमती प्रदेश खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयको आर्थिक बर्ष २०८१÷८२ मा उपलब्ध बजेटमध्ये ९३ दशमलब १२ प्रतिशत खर्च गर्न सफल भएको छ । मन्त्रालयको ७ अर्व ४७ करोड बजेटमा ६ अर्व ९५ करोड बजेट खर्च भएको छ । चालुतर्फ ३० करोड र पुँजीगततर्फ ६ अर्व ६५ करोड खर्च भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख गरिएको छ । खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयले चालुतर्फ ४१ करोड र ७ अर्व ६ करोड बजेट विनियोजन गरेको थियो । मन्त्रालयको समग्र बजेटखर्च ९३ दशमलब १२ प्रतिशत रहेको मन्त्रालयले जानाएको छ । मन्त्रालयको चालुखर्च ७४ दशमलब ५५ प्रतिशत रहेको छ भने पुँजीगत खर्च ९४ दशमलब २ प्रतिशत खर्च भएको मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्री श्यामबहादुर खड्काको नेतृत्वमा मन्त्रालय तथा मन्त्रालय मातहतका कार्यालयको बजेट कार्यान्यनमा उल्लेख्य बढेको देखिन्छ । पछिल्लो समय मन्त्रालयहरुको बजेट कार्यानवयमा समस्या देखिए पनि प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमा भने बजेट कार्यान्वयन पक्ष राम्रो देखिएको हो । मन्त्री खड्काको कार्यकालमा मन्त्रालय तथा मातहतका कार्यालयलाई योजना कार्यान्वयनमा सक्रिय बनाइएको मन्त्रालयले जनाएको छ । समयमै टेण्डर, प्राविधिक स्वीकृति, अनुगमन, र पूर्वाधार निर्माण प्रक्रियामा स्पष्टता ल्याइएकाले कार्यसम्पादन राम्रो भएको जनाइएको छ ।
दिगो विकास लक्ष्य र आवधिक योजना अनुसार सन् २०३० भित्र शतप्रतिशत जनतामा सुरक्षित खानेपानी सेवा पु¥याउने लक्ष्य राखिएको छ । आगामी आर्थिक वर्षमा मन्त्रालयले ४ हजारभन्दा बढी योजना कार्यान्वयन गर्ने लक्ष्य लिएको खानेपानी, उर्जा तथा सिचाई मन्त्री खड्काले बताए । एक घर, एक धारा कार्यक्रम, सिँचाइ र ऊर्जा समेतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । खानेपानी ऐन मार्फत् स्वच्छ र सुरक्षित खानेपानी सेवा पु¥याउने उद्देश्यसहित मन्त्रालय अघि बढिरहेको छ ।







