सञ्चारिकाले साम्बालाई सम्मान गर्ने, जोशीद्वारा नगद प्रायोजन
हेटौंडा- हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवम् शिक्षाविद् पुरण बहादुर जोशीले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई सम्मान गर्नका लागि नगद प्रायोजन गर्ने भएका छन् ।संचालक जोशीले यही साउन १७ गते सञ्चारिका समूह नेपाल, मकवानपुरले आयोजना गर्ने ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ विषयक विशेष कार्यक्रममा सहभागी हुन आउने साम्बालाई सम्मान गर्नका लागि नगद ५० हजार रुपैयाँ प्रायोजन गर्ने भएका हुन् । संचालक जोशीले आफू सँधैं महिला सशक्तिकरणको पक्षमा रहेको बताउँदै सञ्चारिका समूह मकवापुरलाई पहिलोपटक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।
पहिलोपटक महिला पत्रकारले सहयोग मागेको छ । म सँधै महिलालाई सम्मान गर्दछु,’ उनले भने, ‘महिला सशक्तिकरणमा मेरो सँधै साथ रहनेछ ।’ आफूले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गरेको बताउँदै आगामी दिनमा पनि यस्ताखाले कार्यक्रमको लागि आर्थिक मात्र नभई अन्य तरिकाले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सम्मानका लागि नगद प्रायोजन गर्ने जोशीलाई सञ्चारिका समूह नेपाल, मकवानपुरकी अध्यक्ष सानुमाया गुरुङले धन्यवाद व्यक्त गरेकी छन् ।
संचारिका समूह नेपाल सञ्चारक्षेत्रमा कार्यरत महिलाको साझा संस्था हो । २०५२ सालमा स्थापना भएको सञ्चारिका समूहले विशेषरुपमा महिला पत्रकारको हकहितका लागि काम गर्दै आएको छ । साथै, सञ्चारक्षेत्रमा महिलाको क्षमता अभिबृद्धि लै·िकसमानता, मानवअधिकार लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी विषयमा प्रशिक्षण, अनुसन्धान, वकालत तथा अन्य गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।







