अविश्वास प्रस्तावको सामना गर्ने मुख्यमन्त्री लामाको तयारी

साझाकुरा
२०८२ श्रावण १२, आईतवार १०:५८

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा अविश्वास प्रस्तावको सामना गर्ने तयारीमा छन् । उनले राजीनामा नदिने र पार्टीका सांसदहरुको असन्तोषलाई रोगको संज्ञा दिएका छन् । लामाले चुनावबाट निर्वाचित भएको भन्दै आफ्नो पदमा कायम रहने बताएका छन् । गठबन्धनले अर्को निर्णय नगर्दासम्म मुख्यमन्त्रीबाट राजीनामा नदिने र अविश्वासको प्रस्तावको फेस गर्ने बताएका छन् । ‘म मुख्यमन्त्री छु । राजीनामा दिएका मन्त्रीहरुको ठाउँमा अर्को मन्त्रीहरु नियुक्ति गर्छु’ उनले भने, ‘संयुक्त सरकारको नेतृत्व गर्नका लागि संसदीय दलको नेता नै हुनुपर्छ भन्ने छैन । त्यसैले मैले गठबन्धनले अर्को निर्णय नगर्दासम्म मुख्यमन्त्रीबाट राजीनामा दिने कुरा पनि छैन । दलको नेताबाट त झनै दिने कुरा नै भएन ।’

बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री लामालाई हटाउन कांग्रेसकै २१ जना सांसदले हस्ताक्षर गरेका छन् । मुख्यमन्त्री लामाले गठबन्धन सरकार भएकाले सहमति अनुसार अझै लगभग एकवर्ष काम गर्न पाउनुपर्ने बताउँदै पार्टी भित्रका केही व्यक्तिले चाहेर मात्रै पुरा नहुने दाबी गरे । ‘यो कांग्रेसभित्रका केही साथीहरुले मात्रै चाहेर हुने कुरा होइन । हामी अहिले गठबन्धन सरकारमा छौँ । बागमती प्रदेशको प्रभाव अरु प्रदेशमा पनि पर्छ । यो सबै बिचार पु¥याउन आवश्यक छ,’ उनले भने ।

बजेटको विषयलाई मुख्य मुद्दा बनाएर केही सांसदहरु आफूलाई असफल पार्न लागि परेको पनि उनले दाबी गरे । ‘बजेटको विषयलाई लिएर उहाँहरुले मलाई असफल भयो भन्नु भएको छ । उहाँहरुको आरोप सही छैन,’ मुख्यमन्त्री लामाले भने, ‘प्रदेश सरकारले काम गरिहरेको अवस्थामा एक्कासि नेतृत्व भएन भनेर निहुँ खोज्ने काम राम्रो होइन । हामीले एक वर्षमा गरेको कामको परिणाम देखिने बेलामा उहाँहरुले नेतृत्व परिवर्तन गर्न खोज्नु उचित होइन । म त्यसको सामना गर्छु ।’

मुख्यमन्त्री लामाले विगतमा एक÷एक वर्ष मुख्यमन्त्री हुने सहमति नभएको दाबी गरे । ‘सहमति भएको भए संसदीय दलको निर्वाचनमा किन चुनाव हुन्थ्यो । सहमतिमै भइन्थ्यो होला नि’ उनले भने, ‘चुनावबाट निर्वाचित भएर म दलको नेता भएको हो । त्यसैले भाग्ने कुरा छैन । म दलको नेतामा अविश्वास प्रस्ताव आए फेस गर्छु । म भागेर हिँड्ने व्यक्ति होइन । दलको नेता हटेपछि गठबन्धनका बीच अर्को निर्णय नभएसम्म म मुख्यमन्त्री कायमै रहन्छु । दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिने कुरै छैन ।’

पार्टीभित्र बढ्दै गएको असन्तुष्टिको प्रभाव बागमतीमा देखिएको उनको भनाई छ । पार्टीका नेताहरुले यसलाई समर्थन गर्ने काम गरे यो रोग अरु प्रदेशमा पनि जान्छ र केन्द्रमा पनि सुरुहुने उनले बताए । मुख्यमन्त्री लामाले

नैतिकता देखाएर राजीनामा दिनुपर्छः महर्जन

बागमती प्रदेशका निवर्तमान युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले नैतिकताको आधारमा मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।महर्जनले शुक्रबार दिउँसो मन्त्रीपदबाट राजीनामा दिएका थिए । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिकरुपमा मुख्यमन्त्री लामाको राजीनामाको माग गरेका हुन् । उनले २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पार्टीभित्रैको असहमतिको कारण देखाउँदै राजीनामा दिएको उदाहरण प्रस्तुत गरेका छन् । ‘२०५६ सालको निर्वाचनपछि किसुनजी प्रधानमन्त्री बन्नुभयो । तर, ११ महिनामै पार्टीकै सांसदले अविश्वास प्रस्ताव ल्याएपछि उहाँले नैतिकता देखाउँदै राजीनामा दिनुभयो,’ महर्जनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मुख्यमन्त्री लामाले पनि त्यस्तै मार्ग अवलम्बन गर्नुपर्छ ।’

महर्जनसहित २१ जना कांग्रेस सांसदले शुक्रबार मुख्यमन्त्री लामालाई दलको नेताबाट हटाउन माग गर्दै अविश्वास प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि महर्जनले मन्त्रीपदबाट राजीनामा दिँदै आफ्नो स्पष्ट असन्तुष्टि व्यक्त गरेका हुन् । मुख्यमन्त्री लामाविरुद्ध लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका महर्जनले संसदीय दलको नेतृत्व कमजोर भएको आरोप लगाउँदै आएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ल्याएको बजेटमाथि पार्टीभित्रै असन्तुष्टि छ भने अन्य दलहरुले पनि विरोध गरेका छन् ।
असार १६ गतेदेखि २३ गतेसम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि बागमतीको बजेटबारे कुरा उठेको थियो ।

अराजक शैलीमा बजेट ल्याइएको भन्दै केन्द्रीय सदस्यले आलोचना गरेका थिए । २०७९ पुस १३ गते भएको कांग्रेस संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामासँग बागमती प्रदेश सभापति बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*