एकता अनुभव र लगानीलाई समृद्धिमा रुपान्तरण गरौंः मन्त्री काफ्ले

साझाकुरा
२०८२ श्रावण १२, आईतवार ११:०५

हेटौंडा- बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपाली बीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गर्न सकिने बताएका छन् ।गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिणकोरियाको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले एनआरएनए कोरियालाई नेपाली समुदायको साझा संस्था बनाई नेपाल र नेपालीको हितमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । ‘गैरआवासीय नेपालीबीच देखिएको मतभेद समाधान गरी संस्थालाई अझ जिम्मेवार र जनमुखी बनाउनु आजको आवश्यकता हो,’ उनले भने, ‘एनआरएनए सशक्त, समावेशी र परिणाममुखी बन्नसके मात्र विश्वभर छरिएका नेपालीको हित सुनिश्चित गर्न सक्छ ।’

उनले विदेशमा आर्जित सीप, ज्ञान र अनुभवलाई संस्थागत रुपमा नेपालमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। ‘यहाँ सिकिएको प्रविधि, दक्षता र अनुशासन नेपालमा लगियो भने त्यो समृद्धिको भरपर्दो आधार बन्न सक्छ’ मन्त्री काफ्लेले भने । विदेशको भूमिमा रहेर पनि मातृभूमिको समृद्धिको सपना देख्ने सबैलाई धन्यवाद दिँदै उनले भने, ‘कोरियामा आर्जित पूँजी र सीपलाई अब उत्पादनमुखी क्षेत्रमा लगानी गरौं, सरकार सहकार्य गर्न तयार छ ।’ उनले बागमती प्रदेश सरकार गैरआवासीय नेपालीसँग आवश्यक समन्वय गर्न तयार रहेको भन्दै योजनाबद्धरुपमा नेपालमा लगानी गर्न आग्रह गरे ।

कोरियामा रहेका समस्याग्रस्त नेपालीको पहिचान गरी समाधानका लागि पहल गरिने प्रतिबद्धता पनि व्यक्त गरे । एनआरएनए दक्षिणकोरियाका अध्यक्ष बुद्धि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका विभिन्न पदाधिकारीले एनआरएनएको बृहत्तरहितमा विचार प्रस्तुत गरेका थिए । संघको नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन हुने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*