नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित

हेटौडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । बुधवार प्रदेशसभा सचिवालयमा भएको दलको निर्वाचनमा बानियाँले मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामा तामाङलाई पराजित गरेका हुन् । बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मात्रै मत ल्याउन सके । १ मत बदर भएको छ । १३ साउन मंगलबार आफू विरूद्ध संसदीय दलमा परेको अविश्वासको प्रस्तावको विपक्षमा १५ मत मात्रै आएपछि उनले दल नेताको हैसियत गुमाएका थिए । अविश्वासको प्रस्तावको पक्षमा २२ मत परेको थियो ।
लामाले दलको नेताको हैसियत गुमाएपछि आज बुधवार दलको नेता चयनका लागि निर्वाचन भएको हो । बानियाँको नेतृत्वमा कांग्रेसका २१ जना सांसदले ९ साउनमा दल कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।