‘साम्बा’ हेटौंडामा सम्मानित हुँदै
हेटौँडा-नेपाली महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ साउन १७ गते हेटौंडामा सम्मानित हुँदैछिन् । ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने नारासहित सञ्चारिका समूह नेपाल, मकवानपुरले आयोजना गर्ने कार्यक्रममा हेटौंडेली खेलप्रेमीहरू साम्बासँग प्रत्यक्ष भेटघाट गर्न पाउने जनाएको छ । फुटबलमा ‘गोल मेसिन’ को उपमा पाएकी साम्बालाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिने छ । सम्मान राशिको प्रायोजन हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक तथा शिक्षाविद् पुरण बहादुर जोशीले गरेका छन् । साबित्राले नेपालका लागि ५० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्दै राष्ट्रिय टोलीलाई दक्षिण एशिया बाहिर चिनाएकी छन् ।
उनले फ्रान्स, भारत, माल्दिभ्स हुँदै हाल न्युजिल्याण्डको वेलिङ्टन फोनिक्स क्लबमा खेलिरहेकी छिन् । कार्यक्रममार्फत उनको संघर्ष, सफलताको कथा र प्रेरणामूलक यात्रा नजिकबाट बुझ्न सकिने आयोजकले जनाएका छन् । सञ्चारिका समूहकी अध्यक्ष निशा गुरुङका अनुसार, यस्ता सम्मानले महिला खेलकुदको सम्मान र प्रेरणामा गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ ।
उनका अनुसार, साम्बाको संघर्ष, समर्पण र सफलताको यात्रा सम्पूर्ण युवापुस्ताका लागि प्रेरणाको स्रोत हो । उनले यस्तो कार्यक्रमले महिला खेलकुदको सम्मान मात्र नभई महिला सशक्तिकरण र नेतृत्व विकासमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरिन् । महिला खेलाडीको योगदानलाई सम्मान गर्ने यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा प्रवाह गराउने र आगामी पुस्ताका लागि प्रेरणादायी वातावरण निर्माण गर्ने अपेक्षा राखिएको अध्यक्ष गुरुङले बताइन् ।







