हेटौंडामा ‘साम्बा’ नगदसहित सम्मानित

मोजाको भकुण्डोबाट फुटबल खेल्न सुरु गरेँ : साम्बा
साझाकुरा
२०८२ श्रावण १९, आईतवार १०:२३

हेटौंडा- नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई हेटौंडामा सम्मान गरिएको छ । सञ्चारिका समूह मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको देश चिनाउने सम्बासँग हाम्रो चिनजान कार्यक्रममा उनलाई सम्मानित गरिएको हो । सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षता एवम् हटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवम् शिक्षाविद् पुरन बहादुर जोशीले भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका हुन् । सम्मानपछि खेलाडी भण्डारीले आफूले धेरै मिहेनत र संघर्षका बाबजुत सफलता हासिल गरेको बताइन् ।

मोजाको भकुन्डोबाट फुटबल करियर सुरु भएको स्मरण गर्दै अभावै अभावमा हुर्किएर यो स्थानमा आएको उनले बताइन् । कप्तान भण्डारीले मोजाको भकुन्डोले फुटबलमा अगाडि बढ्न प्रेरणा दिएको उल्लेख गरिन् । कप्तान भण्डारीले पछिल्लो समय खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताइन् । नयाँ पुस्तालाई खेल्नका लागि सामग्रीको अभाव नरहेको र स्थानीय सरकारले पनि खेलप्रति सकारात्मक धारणा राखेको उनको भनाई थियो । फुटबलको माध्यमबाट समाजमा केही परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा नेपाली महिला फुटबल टिम रहेको उनले बताइन् ।

सबै नेपाली महिलाको प्रतिनिधित्व गर्दै नेपालको नाम चिनाउनका लागि आफू सदैव अग्रसर रहने उनले प्रतिबद्धता व्यक्त गरिन् । कप्तान भण्डारीले खेलसँगै शिक्षाको पनि उत्तिकै महत्व रहेको धारणा राखिन् । साम्बा हालै न्यूजिल्याण्डको एक क्लबसँग आवद्ध भएर अष्ट्रेलियाली लिग खेल्ने तयारीमा छिन् । यसअघि साम्बा फ्रान्सेली क्लबमा आवद्ध थिइन् । भारत, इजरायल हुँदै फ्रान्स पुगेकी साम्बा सर्वाधिक सफल नेपाली महिला खेलाडी हुन् । साबित्राले नेपालका लागि ५० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्दै राष्ट्रिय टोलीलाई दक्षिण एशिया बाहिर चिनाएकी छन् ।

उनले हालैको एएफसी महिला एशियन कप छनोटमा लगातार दुई खेलमा ह्याट्रिकसहित कुल ९ गोल गरेकी थिइन् । भारतको महिला सुपरलिगमा २४ खेलमै ६० भन्दा बढी गोल गरेपछि सावित्राले फ्रेन्च क्लब एन अभेन्ट गुइनगाम्पमा खेल्दै युरोपको शीर्ष लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाएकी थिइन् । कार्यक्रममा हेटौंडा उपमहानगर उपप्रमुख बानियाँले हेटौंडा उपमहानगरपालिका खेल क्षेत्रको विकासका लागि सधैँ सकारात्मक रहेको बताएका छन् ।

उपमहानगरपालिकाले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालनका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको बानियाँले जानकारी दिए । उपमहा नगरपालिकाले आयोजना गर्ने प्रतियोगितामा राष्ट्रिय महिला टोलीका खेलाडीलाई सहभागी हुन उनको आग्रह छ । उपप्रमुख बानियाँले उपमहानगरपालिकाले खेलमैदानलाई प्राथमिकता दिएर ‘एक वडा एक खेलमैदान’ अवधारणामा रहेर धेरै वडामा खेलमैदान बनाएको बताएका छन् । खेलाडी उत्पादनका लागि विद्यालय तहदेखि नै खेल क्षेत्रलाई प्राथमिकतामा राख्ने गरी उपमहानगर अगाडि बढेको बानियाँले बताए ।

सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष गुरुङले देश तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली महिला फुटबलको पहिचान बनाउने योगदानको कदरस्वरुप साम्बालाईसम्मान प्रदान गरिएको बताइन् । अध्यक्ष गुरुङले भनिन्, ‘साम्बाले आफ्नो मेहनत र लगनशीलताले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएकी छन् । हामी उनको योगदानको उच्च मूल्यांकन गर्छौँ ।’ सावित्राले सम्मानप्रति आभार व्यक्त गर्दै भनिन्, ‘यो सम्मानले मलाई अझ बढी प्रेरणा मिलेको छ ।

म अझ कडा मेहनत गरेर देशलाई गौरवान्वित गराउने छु ।’कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, शिक्षाविद् जोशी, एन्फाका केन्द्रीय सदस्य टीका लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, सञ्चारिका समूह मकवानपुरकी संस्थापक अध्यक्ष सरिता दाहाललगायतले मन्तव्य राखेका थिए । सम्बालाई हेर्नका लागि मकवानपुरका विभिन्न विद्यालयका विद्यार्थी, खेलप्रेमीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*